बस्तुको आयातमा कडाइ सकारात्मक

Nayabimarsha (Weekly Newspaper from Nepal)

नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने नीति लिएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकले कडाइ गर्ने निर्णय लिएको हो । यसका लागि सबै बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्ने विषयमा कडाइ गर्न निर्देशन दिने कार्य राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकमा भएको छलफलमा अत्यावश्यक बाहेकका बस्तुको आयात रोक्ने रणनीतिलाई अहिलेको अवस्थामा अख्तियारी गर्नु मुलुकका लागि हितकर हुने ठम्याइ राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले अत्यावश्यक बाहेकका बस्तुको आयात रोक्ने विषयमा छलफल गरी जुन बस्तु आयात नगर्दा पनि हुन्छ, त्यस्ता बस्तुको आयात रोकौं भनी सरोकारवालाहरुका बीचमा कुरा उठाएको थियो ।

अहिले पनि विलासिताका बस्तुहरुको आयातमा बढी खर्च भैरहेको भन्दै यसले अर्थतन्त्रलाई संकटमा पार्ने संकेत गरेकाले राष्ट्र बैंक यसप्रति कठोर बन्नु उचित हुने भन्ने ठम्याइमा पुगेको बताइएको छ । यो संकटको समयमा यसलाई सरकारको मात्र जिम्मेवारी हो भन्ने कुरा भन्दा सरोकारवाला बैंकहरु पनि गम्भीर हुनुपर्ने कुरामा राष्ट्र बैंकले जोड दिएको थियो । राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई विलासिताका बस्तु आयातका लागि एल.सी. खोल्न बन्द गर्न भनी निर्देशन दिएपछि सोही निर्देशनको पालना गर्न सबै बैंकहरु बाध्य हुन थालेका छन् ।

छलफलमा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल तथा बैंकहरुका तर्फबाट बैंकर्स संघका अध्यक्ष, बैंकका प्रमुख कार्यकारी अधिकृतहरु समेतको सहभागितामा उक्त कार्यक्रम भएकाले त्यसको पालना हुने आशा गरिएको छ । यसरी आयातमा कडाइ गर्दा अरु कुरामा जे जस्तो गरे पनि कम्तीमा गाडी आयात केही साताका लागि ठप्पै पार्नुपर्ने धारणा राष्ट्र बैंकका तर्फबाट आएको थियो । पछिल्लो समय बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको राष्ट्र बैंकको निष्कर्ष छ । विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत भनेको पर्यटन र रेमिट्यान्स् भए पनि यी दुबै घटेको अवस्था छ । निर्यात गर्न नसक्ने तर आयात भने भइरहने भएका कारण ठूलो परिमाणमा रकम बाहिरिएको भन्दै यस्तो निर्णय गर्नुपरेको राष्ट्र बैंकले जनाएको अवस्था छ । मुलुकको आर्थिक अवस्था संकटमा पर्ने देखिएको यो बेला नेपालीजनले पनि यो बाध्यतालाई बुझिदिनुपर्ने अवस्था छ । सरकारले भन्दा पनि जनसहभागितामा यस्ता कार्यहरुलाई रोक्ने तथा नियन्त्रण गर्ने कार्य गरिएमा मात्र यसले सफलता पाउने हुन्छ । त्यसैले विलासिताका बस्तुहरुको प्रयोगमा कमी गर्नु आम नेपाली तथा नेपालबासीको कर्तव्य नै हुन आउँछ । इन्धन आयातले पनि ठूलो रकम विदेशिएको अवस्थामा सकेसम्म इन्धनको प्रयोगमा पनि कमी ल्याउने कार्यमा नेपालीजन नै लाग्नुपर्ने अवस्था छ । पछिल्लो आठ महिनाको समयमा करिब ३३ अर्ब रुपियाँ त सुन आयातमै तथा ७० अर्ब रुपियाँ जतिको गाडी र यसको पाटपूर्जा आयात भएको तथ्यांकले पनि मुलुक कसरी विलासिताको बस्तुमा केन्द्रित भइरहेको छ भन्ने देखाएको छ । त्यसैले यो अवस्थामा नेपाली जनता, सरकार तथा सबै सरोकारवाला निकायहरुले यो निर्देशनको पालना गरेका खण्डमा मुुलुकको अर्थतन्त्र फेरि लयमा आउने विश्वास लिन सकिन्छ ।

 

कांग्रेसको घोषणापत्र बनाउने थपिए

ललितपुर÷ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित ‘स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिलाई थप विस्तार गरिएको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले २८ सदस्यहरु थपेर त्यसलाई अझ राम्रो बनाउने जिम्मेदारी दिएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिमा सोमबार २८ जना थप गरिएपछि उनीहरु त्यसका लागि लागि परेका बताइएको छ । उक्त समितिमा थपिएकाहरुमा डा. आरजू राणा देउवा रहेकी छिन् । यसैगरी काभ्रेका नेता मधु आचार्य, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल, पत्रकार समेत रहेका अजयबाबु शिवाकोटी, धनगढी न.पा.का प्रमुख नृपबहादुर वड, ने.वि.संघका पूर्व केन्द्रीय सभापति गुरुराज घिमिरे, किरण गिरी, काठमाडौैं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, भीम ढुंगाना, दिलिपप्रताप खाँण रहेका छन् । यस्तै वंशलाल तामाङ, विजय शंकर यादव, उमा थापा मगर, भूपेन्द्र राई, ममता महतो, डा.जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल र शंकर तिवारी पनि समितिमा राखी जिम्मेदारी तोकिएको छ ।

निर्वाचनको मुखमा यी सबै मानिसहरुलाई जम्मा पारी घोषणापत्रलाई राम्रो र समय सापेक्ष बनाउने प्रमुख जिम्मेदारी महामन्त्री थापाको काँधमा आएको छ ।

 

एमाले भ्रष्टाचारी दल भएको थापाको आरोप

धनकुटा÷ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई भ्रष्टाचारी दलको संज्ञा दिएका छन् । उनले धनकुटाको छथर जोरपाटी गाउँपालिका– ५ मा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो भनेका हुन् ।

थापाले कम्युनिष्टका सांसदले प्रत्येक वर्ष पाउन गरेको सात करोड रुपियाँको हिसाब जनतालाई देखाउनुपर्ने पनि बताए । उनले भने ‘तपाईहरूले जिताएर पठाउनुभएको एमालेका सांसद राजेन्द्र राईले वर्षको सात करोड रुपियाँ विकास पूर्वाधारका लागि पाउनु हुन्छ । प्रदेश सांसदले पनि दुई–तीन करोड पाउँछन्’ । उनले थप जानकारी दिंदै भने, ‘उहाँहरू निकट भविष्यमा मत माग्न आउनुहोला । तपाईहरूले सोध्नुस् ३५ करोड रुपियाँ केमा खर्च गर्नुभयो भनेर । सोध्ने कुरा तपाईहरुको अधिकार पनि हो ।’ थापाले सहभागी कार्यकर्ताहरुलाइ भने ‘कम्युनिष्टका सांसदलाई सोध्नुस् तपाईले काठमाडौं, विराटनगरमा घर कसरी किन्नुभयो ? इटहरीमा जग्गा कसरी किन्नुभयो भनेर । हिजो साइकल चढेका मानिसले घर किनेर बसेका छन् । गाडी चढेका छन् । यस्तो कार्य गर्ने कम्युनिष्टहरु जनताको पक्षधर हुन सक्दैनन् ।’ थापाले आज पनि कम्युनिष्टहरुले डर, धम्की, त्रास दिएको आरोप लगाउँदै उनले आफ्नो दल कांग्रेसलाई जिताउन आग्रह पनि गरे । उनले कांग्रेसले जितेको खण्डमा कम्युनिष्टहरुले बढाएर लगाएको करलाई कांग्रेसले पुनःविचार गर्ने भनी सो कार्यक्रममा उद्घोष पनि गरे ।

उनले कम्युनिष्टले थिचोमिचो गर्ने आरोप लगाउँदै भत्ता खानको लागि तलब खानको लागि मालपोत बढाउने कार्य गरेको भन्दै उनले जन्म–मृत्यु दर्तामा पनि, जेमा पनि दर्ता शुल्क भनेर यिनीहरूले लिएको आरोप लगाए । उनले २०७४ सालको निर्वाचनमा आफू हारेपछि पटक–पटक आएको स्मरण गर्दै उनले कम्युनिष्टहरुले जिते पनि विकास भने केही नगरेको आरोप लगाए । उनले केन्द्रमा देखिएको कम्युनिष्टहरुको मनमुटावले पनि विकास निर्माणमा समस्या पारेको भन्दै उनीहरुलाई सत्ता दिएको खण्डमा पनि उनीहरुले त्यसलाई टिकाउन नसक्ने स्पष्ट देखिएको पनि बताए । यसरी जसरी पनि कांग्रेसले नै मुलुकको सत्ताको नेतृत्व गर्नुपर्ने अवस्था आउने कुरालाई उनले उदाहरणको रुपमा देखाउँदै भने,‘यस्तो अवस्थामा सोझै कांग्रेसलाई मत दिएर राम्रोसँग मुलुकलाई चलाउन दिनु उचित हुन्छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *