लोसपामा नेता टिकाउनै समस्या

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई आसन्न स्थानीय तहको निर्वाचनका कारण नेता–कार्यकर्ता जोगाउन धौ धौ परेको छ । ठूला भनिएका दलहरुबाट आगामी निर्वाचनमा उम्मेदवारी (टिकट) पाउने आश्वासन पाउनासाथ लोेसपाका नेता कार्यकर्ताहरुले लोसपालाई ‘बाइबाइ’ गर्न थालेका हुन् ।

लोसपाका केही नेताहरुले लोसपालाई फुटाई तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) लाई सक्रिय बनाएका कारण क्षति व्यहोर्दै आएको लोसपा पछिल्लो अवस्थामा आफ्ना नेता कार्यकर्ताहरुलाई टिकाउनै नसक्ने अवस्थामा पुगेको छ । लोसपाका कार्यकारिणी समितिका सदस्य विषेशचन्द लाल र विजय सिंहले लोसपा छाडी तमलोपालाई सक्रिय बनाएका हुन् ।

लोसपाका लोकप्रिय मानिने पर्साका नेता राजेशमान सिंह र शिव पटेलले लोसपा छाडी अन्य दलमा प्रवेश गरेका छन् । सिंह जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । जसपाबाट स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा प्रमुखको टिकट पाउने आश्वासन पाएपछि उनी जसपामा गएका बताइएको छ । पटेल हाल नेकपा (एमाले) मा पुगेका छन् भने लोसपाका कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले पनि एमालेलाई रोजेको अवस्था छ । यसैगरी लोसपाका सांसद मानिएका रेशम चौधरीले नयाँ दलको घोषणा गराएका छन् ।

जनता समाजवादी पार्टीले लोसपाका कार्यकर्ताहरु आफूतिर तान्ने तर लोसपासँग सहकार्य नगर्ने नीति लिएका कारण पनि लोसपालाई समस्या परेको बताइएको छ । जसपाका कार्यकारिणी समितिका सदस्य मनिष सुमनले स्थानीय निर्वाचनमा लोसपासँग सहकार्य हुने सम्भावना न्यून रहेको बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *