स्पन्दन भट्टराई
बुबा स्व.डिठ्ठा गणेशबहादुर हाडा र आमा स्व.मोहनकुमारी हाडाका सुपुत्र गम्भीरबहादुर हाडा २०३६ सालदेखि २०६६ सालसम्म अर्थशास्त्र विषयमा भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुरमा अध्यापन सेवामा कार्यरत हुनुहुन्थ्यो । अवकासपछि पनि वि.सं. २०६९ देखि २०७५ सालसम्म पनि भक्तपुर क्याम्पसमा पढाउनु भएको थियो । सन् १९४६ अक्टोबर ३० मा भक्तपुर जिल्लाको वडा नं. १३ लास्कुटोल, हाल भक्तपुर नगरपालिका वडा नं.३ मा जन्मिनुभएका हाडाले एम.ए. (अर्थशास्त्र) १९७८ मा उत्तीर्ण गर्नुभएको थियो । २०३७ सालमा प्राइभेटबाट बि.एल.समेत उत्तीर्ण गर्नुभएको थियो । २०४७ सालदेखि २०७० सालसम्म सानोठिमी आदर्श बहुमुखी क्याम्पसमा पनि अध्यापन गर्ने कार्य गर्नुभएको थियो ।
उहाँको परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँ हाल काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नं. ११, बबरमहलमा बस्नुहुन्छ । उहाँको पुरानो घर भक्तपुरमा पनि कहिले काहीँ जाने गर्नुहुन्छ ।
अध्यापन पेशामा आउनुअघि २०२७ र २०२८ सालमा सीईडब्लूएएस र सोल्टी होटलमा अफिसर भई काम गरिसक्नुभएको अनुभव उहाँमा छ । उहाँले विभिन्न अनुसन्धान संस्थाहरुबाट समय–समयमा ग्रामीण क्षेत्रहरुमा अध्ययन–अनुसन्धान पनि गर्दै आउनुभएको छ । २०२९ सालमा सहकारी व्यवस्थापकमा एक महिना तालिम लिई व्यवस्थापक पदमा नियुक्ति भएर पनि जागिर छोड्नु भयो । उहाँले २०४० सालमा एकीकृत ग्रामीण विकास सम्बन्धी विद्यावारिधि अध्ययनको लागि ३ वर्ष त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदासमेत लिनुभएको थियो । विभिन्न कारणवस बीचमा अध्ययन छोड्नुप¥यो ।
तीन वर्षको अध्ययन बिदामा आफ्नै खर्चले एकीकृत ग्रामीण विकास कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाहरुमा अध्ययन र अनुसन्धान गर्नुभयो । त्यही बेलामा यु.एस.एडबाट राप्ती एकीकृत ग्रामीण विकास कार्यक्रम अन्तर्गतको अध्ययन, अनुसन्धान गर्नको लागि आर्थिक सहायता समेत प्राप्त गर्नुभएको थियो । उक्त प्रतिवेदन समेत यु.एस.एडलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले २०३५ सालमा कीर्तिपुर एशियाली अनुसन्धान केन्द्र(CNAS) मा अनुसन्धान सहायक पदमा भाषाविज्ञानको लागि डा. शुभद्रा सुब्बाअन्तर्गत रहेर विभिन्न जिल्लाहरुमा गई भाषासम्बन्धी अध्ययन र अनुसन्धान गर्नुभएको थियो ।
त्यही बेलामा परराष्ट्र मन्त्रालयमा एक महिना काम गर्नुभएको थियो । विदेशी अनुसन्धानकर्ता BoB Stodder अन्तर्गत चारवटा गणेश र चारवटा महादेव सम्बन्धी अध्ययनका लागि उहाँले सहयोगीको रुपमा संगै काम गर्ने मौका पाउनुभएको थियो । पछि २०३६ सालमा एशियाली अनुसन्धान केन्द्र (CNAS) बाट करारमा नियुक्ति भएको काम छोडेर स्थायी पदमा नियुक्ति भएर भक्तपुर क्याम्पसमा सहायक प्राध्यापकको पदमा त्रिभुवन विश्वविद्यालयले नियुक्ति गरेर भक्तपुर बहुमुखी क्याम्पसमा काम गर्ने अवसर पाउनुभएको थियो । सहायक प्राध्यापक, उप प्राध्यापक र सह प्राध्यापक पदमा बसेर करिब ३० वर्षसम्म प्राध्यापनमा काम गर्नुभएको अनुभव उहाँसँग रहेको छ ।
हाडाले क्याम्पस तहका विभिन्न विषयका पुस्तकहरु थुप्रै प्रकाशित गर्नुभएको छ । २०४८ सालमा रत्न पुस्तकबाट अर्थशास्त्रको सिद्धान्त प्रमाणपत्र तहको २०५० मा प्रकाशित गरिएको थियो । अर्को सहलेखन तथ्याङ्कशास्त्र र गणित प्रमाणपत्र तह, त्योभन्दा पहिला २०४८ सालमा रत्न पुस्तक भण्डारले प्रकाशित गरेको थियो । उहाँले आफ्नै खर्चले पहिलो पटक नेपालको अर्थव्यवस्था (शाखा अधिकृत गाइड) पनि प्रकाशन गर्नुभएको थियो ।
२०६१ सालमा आफ्नै खर्चले नेपालको आर्थिक तथा सामाजिक विकास शीर्षकको पुस्तक पनि प्रकाशित गर्नुभएको थियो । यसको साथै आफ्नै खर्चले बि.ए.तेस्रो वर्षको लागि पाठ्यपुस्तकको रुपमा समसामयिक विकास अर्थशास्त्र र नेपालको अर्थव्यवस्था नामक पुस्तक पनि प्रकाशित गर्नुभएको थियो । नेपाल परिचय, सामाजिक अध्ययन र नेपालको अर्थशास्त्र जस्ता विषयहरुको संकलित पुस्तकहरुमा उहाँको केही लेखहरु पनि प्रकाशित भैसकेका छन् ।
त्यस्तै अर्थशास्त्रसम्बन्धी कक्षा ११ देखि १२, स्नातक तह र स्नातकोत्तर अर्थशास्त्र तह र ग्रामीण विकास विषयको पुस्तकहरु पनि आई.ए., बि.ए.र एम.ए.को लागि प्रकाशित भएका छन् । उहाँको पुस्तकहरु बृहस्पति पुस्तक प्रकाशन, रत्नसागर प्रकाशन, अक्सफोर्ड पब्लिकेशन, दीक्षान्त प्रकाशन, ज्ञानकुञ्ज प्रकाशन, रत्न पुस्तक भण्डार आदिले प्रकाशित गरेका छन् ।
हाडा अध्ययनमा खारिएको अनुभवी अर्थशास्त्री हुनुहुन्छ । उहाँका हालसम्म पाँच हजारभन्दा बढी विभिन्न लेख रचनाहरु पत्रपत्रिकामा प्रकाशित भैसकेका छन् । पत्रपत्रिकाहरुमा हिमालय टाइम्स, आर्थिक राष्ट्रिय दैनिक, राजधानी, अन्नपूर्ण, निजामती सेवा पत्रिका, सशक्तिकरण, विकास, प्रभाव दैनिक संघीय संसद् स्मारिका, हुलाक, भन्सार स्मारिका, बैंक समाचार, बिफु जर्नल आदि जस्ता पत्रपत्रिकाहरु र जर्नलहरुमा लेखहरु प्रकाशित भएका छन् ।
पत्रपत्रिकाहरुमा प्रकाशित हुने विषयहरु जस्तैः जनसंख्या, वातावरण, गरिबी, शहरीकरण, बसाइँ–सराई, ग्रामीण विकास, विज्ञान र प्रविधि, शिक्षा, स्वास्थ्य, ऊर्जा, महिला विकास, विकास योजना, कृषि, उद्योग–व्यापार, यातायात, सञ्चार र योजना परियोजना शिक्षा, स्वास्थ्य, जलस्रोत, बेरोजगारी, गरिबी, हरित अर्थतन्त्र, दीगो विकास, सार्वजनिक ऋण, सार्वजनिक आय र व्यय, समावेशीकरण, सामाजिक न्याय, वैदेशिक लगानी, वैदेशिक ऋण, वैदेशिक व्यापार, अधिकारमा आधारित विकास, आर्थिक विकास र आर्थिक वृद्धि, आर्थिक योजना आदि जस्ता विषयहरुमा उहाँका लेख–रचना केन्द्रित भएको पाइन्छन् ।
हाडा विभिन्न अध्ययन, अनुसन्धान तथा सामाजिक संस्थाहरुमा सदस्य तथा सल्लाहकारमा बस्नुभएको पाइएको छ । उहाँ काठमाडौं जिल्ला बारको सदस्य, नेपाल बार काउन्सिलको सदस्य हुनुहुन्छ । यसैगरी नेपाल वातावरण पत्रकार समूहको सह–सदस्य, नेपाल विश्व सम्बन्ध परिषद्को सदस्य, नेपाल सम्पदा संघको सदस्य, दुनियाँको खबर साप्ताहिकको सल्लाहकार हुनुहुन्छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट नियमित प्रकाशित हुने प्रहरी द्वैमासिकमा पनि समय समयमा उहाँका लेखहरु प्रकाशित हुने गरेकोले २०७५ सालमा र २०५८ सालमा नेपाल प्रहरी प्रधान कार्यालयबाट मान, सम्मान पत्र तथा नगद पुरस्कार पनि प्राप्त गर्नुभएको छ । उहाँले २०४७ सालमा राष्ट्रिय जनसंख्या आयोगद्वारा आयोजित निबन्ध प्रतियोगितामा नेपालमा जनसंख्या र वातावरण विषयमा दोस्रो पुरस्कार प्राप्त गर्नुभएको थियो ।
सन् १९८१ मा भारतको नेशनल इन्टेष्टमेन्ट एण्ड फाइनान्सद्वारा आयोजित निबन्ध प्रतियोगितामा रोल अफ इण्डष्ट्रि एण्ड एग्रिकल्चर फर इकोनोमिक ग्रोथ विषयमा तेस्रो स्थान प्राप्त गर्नुभएको थियो । सोही संस्थाबाट सन् १९८२ मा जनसंख्या तथा आर्थिक विकास विषयमा स्पेशल पुरस्कार पनि उहाँलाई प्राप्त भएको थियो ।
उहाँ विभिन्न सामाजिक संघ–संस्थामा पनि आबद्ध हुँदै आउनुभएको छ । उहाँलाई NEPAN (Participatory Action Net Work) बाट २०७५ सालमा प्रसिद्ध सहभागिता विकास लेखकको नामबाट कदरपत्र तथा सम्मानपत्र र नगद सहित प्रदान गरिएको थियो । यसैगरी Armed Police Force Command and Staff College (APF) काठमाडौं स्थित सानो गौचरणमा अवस्थित कलेजको पुस्तकालयमा २०४७ सालमा उहाँले विभिन्न पुस्तक, जर्नल र पत्रपत्रिकाहरु उपहारस्वरुप प्रदान गर्नु भएको थियो ।
यसैगरी नेपाल सरकार, गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंमा वि.सं.२०१६ सालदेखि निरन्तर प्रकाशन हुँदै आएको प्रहरी द्वैमासिक पत्रिकामा २०७७ सालमा प्रकाशित लेखहरुमध्ये व्यावसायिक रचनातर्फ लेख सर्वोत्कृष्ट हुन सफल भएकोले नगद पुरस्कारसहित कदरपत्र प्रहरी दिवस २०७८ मा उहाँलाई प्रदान गरिएको थियो ।
हाडालाई बिजुक्छे दिगुदयः जीर्णोद्वार समिति भक्तपुरबाट २०७९ साल असोज ६ गते प्रथम ऐतिहासिक प्रकाशन स्मारिका–२०७९) लोकार्पण कार्यक्रमका अवसरमा लेख रचना उपलब्ध गराएको योगदानप्रति कदरपत्र प्रदान गरिएको थियो ।
यसैगरी उहाँले मेलमिलापकर्ता तथा मध्यस्थको तालिम समेत लिई आफूलाई मेलमिलापकर्ता र मध्यस्थको रुपमा पनि दर्ता गर्नु भएको छ ।
