विमानस्थल सधैं खुला स्वागतयोग्य

Nayabimarsha (Weekly Newspaper from Nepal)

नेपालको राजधानी काठमाडौंमा रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएको छ । बढ्दो हवाई उडान चापको व्यवस्थापनका लागि भन्दै यस्तो निर्णयमा पुगिएको जनाइएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको जानकारी गराइएको छ । यो विमानस्थलसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पनि २४सै घण्टा सञ्चालनमा ल्याउने तयारी थालिएको हो । आगामी जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि २४सै घण्टा सञ्चालन गर्ने निर्णय भएको हो ।

यसका लागि तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकासलाई विशेष चासोका साथ हेरिएको छ । यसैगरी सेवा सुदृढीकरणका लागि पनि प्राधिकरणले विमानस्थलको आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रयास भैरहेको बताइएको छ । कोभिडपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । त्यसैले यसको व्यवस्थापनमा चुनौती थपिएको हो । नेपालको आकाश सुरक्षित रहेको सन्देश पनि दिनलाई पनि यो निर्णयले सहयोग पु¥याउने ठम्याइमा पर्यटनमन्त्री प्रेमबहादुर आले पुगेकाले काम गर्न सहज भएको भन्ने गरिएको छ । यसअघि २०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याएका थिए । यसैगरी स्वदेशी रात्रिकालीन उडानलाई पनि समय बढाइने भएको छ । पूर्वमेचीदेखि सुदूरपश्चिम धनगढीसम्मका विमानस्थमा अब राति १२ बजेसम्म सेवा सञ्चालन हुने बताइएको छ । भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।

यो स्वागतयोग्य निर्णय हो । विमानस्थलहरुलाई आधुनिकीकरण गरी २४सै घण्टा सेवा संचालनमा ल्याउन सकेका खण्डमा त्यसले आन्तरिक यात्रीलाई मात्र नभएर विदेशी यात्रुलाई समेत सेवा पुग्ने अवस्था आउँछ । विश्वका अधिकांश देशका विमानस्थलहरु पूरै समय संचालनमा आउने भएका कारण उनीहरुले विश्वभरी नै व्यापार विस्तार गर्दै गएका छन् । उनीहरुले विमानस्थललाई संचालन गरेर आफ्नो देशमा पर्यटक मात्र भित्र्याएका छैेनन् कि उनीहरुले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याई रहेका छन् । त्यसैले नेपालमा रहेका विमानस्थलहरुलाई २४सै घण्टा सेवा संचालनमा ल्याउन सक्ने अवस्था आउन सकेका खण्डमा त्यसले देशैभरीका होटल व्यवसायलाई संचालित हुन सहयोग पुग्ने अवस्था ल्याउँछ । त्यसैले पनि यो निर्णयलाई स्वागतयोग्य नै मान्नुपर्ने हुन्छ । यसरी राम्रो निर्णय गरेको अवस्थासँगै सरकारमाथि चुनौती पनि थपिएको छ । पूरै समय विमानस्थल संचालन गरेपछि त्यससँग जोडिएका अन्य सेवाहरुलाई पनि व्यवस्थित गर्न सक्नुपर्ने हुन्छ । होटल व्यवसाय तथा सवारी साधनहरुको व्यवस्थापन पनि सँगसँगै गर्न सक्नुपर्ने हुन्छ । रातिको समयमा विमानस्थलमा आइपुग्ने यात्रुहरुले पाउनुपर्ने सेवा सुविधाका लागि आवश्यक व्यवस्था मिलाइनुपर्ने हुन्छ । त्यसैगरी उनीहरुको सुरक्षाको चुनौतीलाई पनि समाधान गरिनुपर्ने हुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *