काठमाडौं/ नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्रलाल कर्णलाई नियुक्त गरिएको छ । कर्ण प्राधिकरणमै उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
यही पुस ४ गतेको मन्त्रीस्तरिय निर्णयले उहाँलाई महानिर्देशकमा नियुक्त गरेको बताइएको छ । उहाँले प्राधिकरणअन्तर्गतको सेफ्टी, सेक्युरिटी तथा रेगुलेशन निर्देशनालयमा बिगत चार वर्षदेखि उपमहानिर्देशककै रुपमा जिम्मेदारी सम्हाल्दै आउनुभएको थियो । मन्त्री अनिलकुमार सिन्हालाई प्रधानमन्त्री सुशीला कार्कीले नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको समेत जिम्मेदारी दिएपछि कर्णलाई महानिर्देशक बनाइएको स्रोतले बतायो ।
बिगतमा प्राधिकरणमा वरियता, योग्यता र क्षमतालाई भन्दा थैलीलाई महत्व दिई महानिर्देशक बनाइने गरिएको दाबी पनि स्रोतले गरेको छ । यस्तै कारण पूर्वमहानिर्देशकका रुपमा रहनुभएका प्रदीप अधिकारी अहिले पनि भ्रष्टाचारको मुद्दामा थुनामा रहनुभएको छ । अधिकारी चार वर्ष अगाडि वरिष्ठहरुलाई पछि पार्दै मोटो थैली बुझाएर महानिर्देशक बन्नुभएको भनी चर्चा चलेको थियो ।
महानिर्देशक बन्नुभएका कर्ण मधेश प्रदेशका बासिन्दा तथा भद्र र निष्ठावान् राष्ट्रसेवक रहेको पनि स्रोतले दाबी गरेको छ । कर्णको कार्यकालमा पूर्वमहानिर्देशक अधिकारीको जस्तो बेथिति प्राधिकरणमा नहुने अनुमान गरिएको छ । अधिकारी राष्ट्रिय गौरवको आयोजनामा हुँदा र महानिर्देशक बनेपछि पोखरा क्षेत्रीय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भक्तपुरको नलिनचोकमा हेलिप्याड निर्माणस्थल एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारमा अर्बौ रुपियाँ घोटला गरी राष्ट्रप्रति बेइमानी गरेको आरोप लगाइएको छ ।
भ्रष्टाचारबाट आर्जित रकमले दलका नेता तथा विभागीय मन्त्रीहरुलाई समेत प्रभावमा पार्ने गरेको चर्चा पनि चलेको छ । तिनै विषयलाई लिएर अधिकारीका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरु परेपछि उहाँलाई पक्राउ गरी अनुसन्धान थालिएको बताइएको छ ।
नागरिक उड्डयनको महानिर्देशकमा कर्ण
Facebook Comments Box
