सडक अनुगमनमा भौतिकमन्त्रीको चासो तीब्र

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक अनुगमनलाई तीव्रता दिनुभएको छ । अनुगमनमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी लगायतको टोली सक्रिय देखिएको हो । उक्त टोलीले गत पुस ५ गते नारायणघाट– बुटवल सडक खण्डमा पर्ने दाउन्ने सडकको निरीक्षण गरेको छ । सो अवसरमा बाँकी काम दुई महिना भित्र सक्न भनी टोलीले सरोकारवालाहरुलाई निर्देशन दिएको बताइएको छ ।
निर्माण कार्यलाई तीव्रता दिन मसिन र मजदुर तत्काल थपी सडक तयार बनाउन दबाब दिइएको बताइएको छ । नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको यो सडक भौतिकमन्त्री बन्ने सबैले निरीक्षण गरे पनि काममा ढिलासुस्ती हुँदै आएको भनी व्यापक जनगुनासो आउने गरेको बताइएको छ ।
यो सडक २०७६ बैशाख ७ गते तात्कालिन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले तामझामका साथ शिलान्यास गर्नुभएको थियो । ६ वर्ष बितिसक्दा पनि तेस्रो पटक म्याद थप गर्दा सम्पन्न हुन नसकेको यो सडक खण्डका कारण यात्रुले धेरै नै सास्ती खेप्दै आउनु परेको बताइन्छ । बिस्तार थालिएको १ सय १३ कि.मि. दुई लेन कालोपत्रे गरिएको छ । दुम्कीबासदेखि बर्दघाट सडक खण्डमा सवारी (ट्राफिक) जामको समस्या देखिएको छ । विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले लिएको हो । उक्त सडक आयोजना निर्देशनालय एडीबी अन्तर्गत पर्दछ ।
सडक अनुगमनकै शिलशिलामा मन्त्री घिसिङले सिद्धबाबा सुरुङमार्गको समेत निरीक्षण गरी छिटो काम सक्न निर्देशन दिएको समाचार स्रोतले जानकारी दिएको छ । ७ अर्ब ३४ करोड रुपियाँको लागतमा चिनियाँ कम्पनीले नै निर्माण गरिरहेको उक्त सुरुङमार्ग आगामी २०८३ चैत्रभित्र सम्पन्न हुने वताइएको छ ।
यो सुरुङमार्ग १ हजार १ सय २६ मि. लम्वाईको हुने गरी खन्ने कार्य सकिएको छ । यो ६५ प्रतिशतले प्रगति भएको हो । उता, वित्तीय प्रगति भने न्यून रहेको अवस्थामा सिडिइ नवराज बास्तोला सुरुङमार्गको प्रमुख बनेर गएपछि कामले गति लिन थालेको जानकारहरुले वताएका छन् । यो सुरुङमार्ग संचालनमा आएपछि सिद्धबाबा क्षेत्रमा वर्षेनी हुने पहिरो र ढुंगा खस्ने समस्याबाट यात्रुले राहत पाउने विश्वास गरिएको छ ।
विगतका दलीय सरकारबाट भौतिकमन्त्री बनेकाहरुको भन्दा जेनजी विद्रोहको जगमा परिस्थितिले मन्त्री बन्नुभएका घिसिङको तीव्र अनुगमनले अरनिको राजमार्गअन्तर्गत साँगा– धुलिखेल सडकको स्तरोन्नति पनि तीव्र रुपमा भैरहेको समाचार स्रोतले जनाएको छ ।
८ कि.मि. दूरीको साँगा– धुलिखेल सडक विस्तारको लागि २०७९ मंसिर २७ गते सम्झौता भै २०८२ मंसिर २५ गते सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ६० प्रतिशत र सूर्यविनायक साँगा खण्डमा ४५ प्रतिशत काम सम्पन्न भै कालोपत्रे शुरु गर्ने तयारी भैरहेको वताइएको छ । यसैगरी बी.पी. राजमार्गको निर्माण कार्यले पनि गति लिन थालेकोमा सडक विभागका महानिर्देशक डा. जैशी र मन्त्री घिसिङको कार्यक्षमताको चर्चा शुरु भएको वताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *