अन्तर्राष्ट्रिय कलाप्रदर्शनी काठमाडौंमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ दक्षिण एशिया तथा अन्य मुलुकका समकालीन र परम्परागत कलाकृतिहरू समेटिएको तीन दिने नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ हालै काठमाडौंमा सम्पन्न भएको छ । प्रदर्शनी अवलोकन गर्न सयौँ कला प्रेमी, कलाकार, समालोचक तथा संस्कृतिकर्मीरूको उल्ेलेखनीय उपस्थिति रहेको बताइएको छ ।
प्रदर्शनी काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा राखिएको थियो । प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नाफाका कुलपति नारदमणि हार्तम्छालीले कला प्रदर्शनी संस्कृतिगत समझदारी, सिर्जनशीलता तथा जनस्तरको अन्तरदेशीय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गर्नुभयो ।
उद्घाटन समारोहमा प्रदर्शनी संयोजक तथा प्रख्यात मिथिला चित्रकार रञ्जु यादवले स्वागत मन्तव्य राख्दै कला भूगोल, विचारधारा र पहिचानको सीमाभन्दा माथि उठ्ने सार्वभौमिक भाषा भएको उल्लेख गर्नुभयो । यादवले नेपाल, बंगलादेश, भारत, मौरिससलगायतका मुलुकका कलाकारका चार दर्जनभन्दा बढी कलाकृति प्रदर्शनीमा समेटिएको जानकारी दिँदै यसले सांस्कृतिक विविधता, साझा मानवीय मूल्य र कलात्मक संवाद प्रतिविम्वित गरेको बताउनुभयो । उहाँले प्रदर्शनी आयोजक संस्था आर्ट हब, ढाका (बंगलादेश) तथा सह–आयोजक मिथिला आर्ट फाउन्डेसन, काठमाडौंप्रति आभार व्यक्त गर्नुभयो ।
प्रदर्शनीका क्युरेटर तथा आर्ट हब ढाकाका निर्देशक तैमुर हन्नान (बंगलादेश) ले सीमा पार कलात्मक सहकार्यको महत्व औँल्याउनुभयो । उहाँले नेपाल–बंगलादेशबीच अघिल्ला सांस्कृतिक आदान–प्रदानको स्मरण गर्दै यस्ता अन्तर्राष्ट्रिय कला मञ्चले सिर्जनात्मक संवाद गहिरो बनाउने र क्षेत्रीय मित्रता सुदृढ गर्ने बताउनुभयो ।
वरिष्ठ साहित्यकार धीरेन्द्र प्रेमर्षी र रूपा झा, मैथिली विकास कोष जनकपुरधामका अध्यक्ष जीवनाथ चौधरी, नाफाका सदस्य–सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, नाफाका परिषद् सदस्यहरू दिनेश्वर महतो, अरुणा हिङमाङ्ग, प्रदीप अधिकारी ‘सुसान्त’, सौरगंगा दर्शनधारीका साथै वरिष्ठ चित्रकार तथा पत्रकार केशवराज खनाल उल्लेखनीय हुनुहुन्थ्यो ।
कला कार्यशाला पनि सो अवसरमा प्रस्तुत गरिएको थियो । कार्यशालामा नेपालका नौ जना र बंगलादेशका छ जना चित्रकारहरु सहभागी थिए । कार्यशालाले सिर्जनात्मक अन्तक्र्रिया, साझा सिकाइ र कलात्मक प्रयोगका लागि जीवन्त मञ्च प्रदान गरेको सहभागीहरूको भनाइ थियो ।
तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनी अवलोकन गर्न सयौँ कलाप्रेमी पुगेका वताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *