भौतिक सचिव शर्माको सरुवा निर्णय रोकियो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विज्ञ सचिव केशव कुमार शर्माको सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय रोकिएको छ । सचिव शर्मालाई गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गर्ने निर्णय गरेको थियो ।
सो बैठकले शर्मालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरी त्यहाँका सचिव विश्वबाबु पुडासैनीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो । मुख्य सचिवले प्रमाणीकरण नगरेपछि सरुवाको निर्णय कार्यान्वयन नभएको र अब निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा सरुवा नहुने समाचार श्रोतले जानकारी दिएको छ ।
आगामी चैतको दोश्रो हप्ता सचिव शर्मा अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । अवकाशको मुखमा रहनु भएका सचिवको सरुवा गर्दा गलत सन्देश जाने भन्दै मुख्यसचिव सुमनराज अर्यालले सरुवा रोकिदिएको चर्चा चलेको छ ।
यता, निर्वाचन आचारसंहिता लागू हुन एक दिन अगाडि बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलको दबाबमा सञ्चार सचिव राधिका अर्याललाई महिला तथा बालबालिका मन्त्रालयमा सरुवा गरी सो मन्त्रालयकी सचिव लक्ष्मी बस्नेतलाई हेरफेर गरेको छ । सचिव अर्याललाई नेपाल टेलिकमको पाँच अर्बको बिलिङ्ग सम्बन्धी ठेक्कामा चासो राखी कमिशन हात पार्ने खेलमा सकृय भएको आरोपमा सरुवा गरिएको समाचार सूत्रले बताएको छ ।
सचिव शर्मालाई सरुवा गर्न वन मन्त्रालयको जिम्मेवारी पाएर कुलमान घिसिङको राजीनामा पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समेत सम्हाल्न पुगेका मन्त्री माधव प्रसाद चौलागाईले नै चासो राखेको जानकारहरुले बताएका छन् । सचिव शर्मा तात्कालिन खड्गप्रसाद शर्मा ओली नेतृत्वको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको आगमनपछि मन्त्रालयमा सरुवा हुनु भएको थियो । डेढ वर्ष बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव बन्द ३ वटा मन्त्रीसँग बसेर काम गर्नु भएका शर्मा पूर्वाधारविज्ञ र सडकका जानकार मानिनु हुन्छ ।
आगामी फागुन २१ गतेको निर्वाचनपछि बन्ने सरकारको भौतिक मन्त्रीसँग सचिव शर्माले सँगै बसेर काम गर्न अनिवार्य अवकाश बाधक बन्ने छ । सचिव शर्माको पालामा सडक विकासमा सुधारका धेरै कामहरू अघि बढेको बताइएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *