काठमाडौं/ विचार राखेकै कारण धम्की आउने क्रम बढ्न थालेको छ । बुधबार संसदको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुस्बु ओलीले संसद्मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छिन् । ‘नेपाल सनातन राज्य हुनुपर्ने भनेर मैले यस सदनमा उठाउँदाखेरि सुनियोजित रुपमा मलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, अक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेर्साइरहेको छ’ उनले बुधबार संसदमा बताइन् ।
यसैगरी दाङ जिल्लाको दंगीशरण गाउँपालिकामा बस्ने डाँगी परिवारमाथि धम्की आएको छ । पत्रिकामा लेख लेखेकै कारण डम्बर बहादुर डाँगी तथा उनको परिवारजनमाथि धम्की आएको पीडित परिवारले जनाएको छ ।
साबिक गोल्टाकुरी गा.वि.स.वडा नं.८ परिवर्तित दंगीशरण गाउँपालिका वडा नं.२ स्थायी ठेगाना भएका डम्बर बहादुर डाँगीको लेख ‘नयाँ विमर्श’ साप्ताहिकमा प्रकाशित भएको थियो । २०८३ साल जेठ २२ गतेको ‘नयाँ विमर्श’ साप्ताहिकमा ‘निराशाको बजेटः जनताको विपक्षमा बालेन सरकार’ शीर्षकमा लेख प्रकाशित भएको थियो ।
हाल बेलायतमा बस्दै आएका डाँगीको नाममा उक्त लेख प्रकाशित भएपछि केही व्यक्तिहरु सोमबार नेपालमा रहेको घरमा पुगी धम्की दिएको जानकारी आएको भनी लेखक डाँगीले जानकारी दिएका छन् । उनले ‘नयाँ विमर्श’ लाई इमेल पठाई आफ्ना परिवारका सदस्यहरुलाई ती व्यक्तिले धम्की दिएको जानकारी दिएका हुन् ।
दाङ स्थित घरमा पुगेका ती व्यक्तिहरुले आफूहरुलाई सरकार पक्षधर भएको बताएको पनि समाचार स्रोतले जनाएको छ । उनीहरुले आफूलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ता बताउँदै ‘हाम्रो पार्टीका अर्थमन्त्रीले ल्याएको बजेटमाथि नकारात्मक टिप्पणी गर्ने ?’ भन्दै धम्कीपूर्ण भाषाको प्रयोग गरेको बताइएको छ । ५ जनाको समूहमा सोमबार साँझपख घरमा पुगेका उनीहरुले घरमा पसी ‘डम्बर कहिले आयो ? कहाँ छ ? बालेन सरकारको विरोध गर्दै लेख लेख्ने ?’ भनी धम्क्याएका पनि दाबी गरिएको छ ।
घरमा रहेका डाँगी परिवारले डम्बर नेपाल नआएको जानकारी गराउँदा पनि उनीहरुले ‘त्यो यहीँ कतै लुकेको हुनुपर्छ’ भन्दै खोजेको तर फेला नपरेपछि त्यसका बारेमा जानकारी लिन्छौं भनी हिंडेको भनी बताइएको छ । ती व्यक्तिहरु आफ्नो ठाउँका नभएकाले उनीहरु नचिनिएको बताउँदै पीडित परिवारका एक सदस्यले आफ्नो नाम उल्लेख गर्न नचाही भने, ‘वरिपरि कतैबाट उनीहरु आएका हुनुपर्छ । हामीलाई त लेख निस्किएको पनि थाहा थिएन । उनीहरुले मोबाइल फोनमा देखाए । डम्बरकै फोटो देखेपछि पत्यार पनि लाग्यो । उनीहरुले डम्बरले लेखको खण्डन नगरे वा सरकारको विरोध गरिरहे आफूहरुले नछोड्ने भनी हिँडेका छन् ।’
यसैबीच केही वर्षअघि डम्बर बहादुर डाँगी बेलायतमा रोजगारीका लागि गएका बताइएको छ । उनी बेलायतमै बस्दै आएको अवस्थामा अज्ञात समूहले दिएको धम्कीका कारण डाँगी परिवार नै त्रसित अवस्थामा रहेको छ । लेखको विषयमा लेखक डाँगीलाई सोध्दा आफू आफ्नो विचारप्रति अडिग रहेको बताए । उनले आफूले सरकारको विरोध गरेको भन्दा पनि नयाँ सरकारको बजेटलाई हेर्दा जनहीतमा नदेख्दा त्यसको विरोध गरेको हो भन्ने स्पष्ट पारे । वर्तमान सरकारसँग जनता तथा आफूहरु जस्ता विदेशमा बसेकाहरुले धेरै नै अपेक्षा गरेको अवस्था बताउँदै उनले यस्तो गतिविधि कायम रहे आफू नेपाल फर्कदा उनीहरुले समस्या पार्ने खतरा बढेको भनी आफ्नो घरपरिवारका मानिसहरु त्रासमा रहेको बताए ।
सांसद ओलीमाथि समेत विचार राखेकै आधारमा धम्की आएको अवस्थामा डाँगी परिवार झनै त्रासमा रहेको बताइएको छ ।
– विचार राख्दा ‘धम्की’ – सांसद ओलीसँगै डाँगी त्रासमा
Facebook Comments Box
