सरकार र रास्वपाबीच द्वन्द्व, बालेन मस्त रवि त्रस्त

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुख्य समाचार

भक्तपुर/ नेपाली राजनीतिमा पछिल्लो समय एउटा रोचक भाष्य निकै चर्चामा छ—बालेन मस्त, रवि त्रस्त। सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म सुनिने यो अभिव्यक्तिले प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछानेबीचको सम्बन्धलाई लिएर उठिरहेका प्रश्नहरूलाई संकेत गर्छ । सरकार र रास्वपाले सार्वजनिक रूपमा कुनै विवाद स्वीकार गरेका छैनन्, तर पछिल्ला गतिविधि, अभिव्यक्ति र राजनीतिक घटनाक्रमले सत्ता समीकरणभित्र सबै कुरा सहज छैन भन्ने अनुमानलाई बल पु¥याइरहेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह आफ्नो छुट्टै राजनीतिक शैलीका कारण सधैं चर्चामा रहने गरेका छन् । सत्ता सम्हालेपछि पनि उनी परम्परागत प्रधानमन्त्रीजस्तो भन्दा फरक ढंगले प्रस्तुत हुँदै आएका छन् । कहिले चिया पसलमा पुगेर सर्वसाधारणसँग संवाद गर्ने, कहिले नेपाली उत्पादनको प्रचारप्रसारमा सक्रिय देखिने, त कहिले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने उनको शैलीले समर्थकहरूबाट प्रशंसा र आलोचकहरूबाट आलोचना दुवै पाएको छ ।

पछिल्लो समय उनका केही अभिव्यक्ति र गतिविधिले सत्तासाझेदारहरूलाई समेत असहज बनाएको राजनीतिक वृत्तमा चर्चा छ । विशेषगरी मन्त्रिपरिषद्का सदस्यहरूमध्ये आफू, गृहमन्त्री सुदन गुरुङ तथा केही सीमित व्यक्तिहरू मात्र राष्ट्र निर्माणमा केन्द्रित रहेको आशयका अभिव्यक्तिले अन्य दलका नेताहरूलाई असन्तुष्ट बनाएको बताइन्छ । उनको अभिव्यक्तिले रास्वपाबाट मन्त्री बनेका अन्यदेखि रास्वपाको पार्टी राजनीतिमा सक्रिय रहेकाहरुसम्म रुष्ट हुन थालेका छन् । यस्तै, सीमा सम्बन्धी केही अभिव्यक्तिहरूले समेत राजनीतिक र कूटनीतिक बहसलाई जन्म दिएका थिए ।
विपक्षी दलहरूले त प्रधानमन्त्रीको कार्यशैलीमाथि संसद्मै प्रश्न उठाउन थालेका छन् । उनीहरूको आरोप छ कि सरकार संस्थागत प्रक्रियाभन्दा व्यक्तिकेन्द्रित ढंगले सञ्चालन हुन थालेको छ । प्रधानमन्त्री निकटवर्तीहरू भने यी आरोपलाई राजनीतिक पूर्वाग्रहका रूपमा व्याख्या गर्छन् ।
यता, रास्वपाका सभापति रवि लामिछानेको अवस्था भने फरक देखिन्छ । केही वर्षअघिसम्म परिवर्तन र वैकल्पिक राजनीतिको सबैभन्दा बलियो अनुहारका रूपमा प्रस्तुत भएका लामिछाने अहिले सरकारभित्र आफ्नो दलको भूमिका, संगठनात्मक सन्तुलन र जनअपेक्षाबीच समन्वय मिलाउने चुनौतीमा छन् ।
राजनीतिक विश्लेषक चन्द्रकिशोरले सार्वजनिक रुपमा भनेका छन्, सत्ता साझेदारीमा रहेका नेताहरूबीच व्यक्तित्वको प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन । जब एक नेताको लोकप्रियता तीव्र रूपमा बढ्छ र अर्को नेतृत्व आफ्नो राजनीतिक प्रभाव कायम राख्ने प्रयासमा हुन्छ, त्यहाँ स्वाभाविक रूपमा तनाव देखिन सक्छ ।
रास्वपाको हालै सम्पन्न आन्तरिक निर्वाचनलाई लिएर पनि विभिन्न अड्कलबाजी भइरहेका छन् । राजनीतिक वृत्तमा केही समूहले प्रधानमन्त्री बालेन निकट मानिएका व्यक्तिहरूले संगठनभित्र प्रभाव विस्तार गर्ने प्रयास गरेको चर्चा गरेका छन् । यस्ता दाबीहरूलाई पुष्टि गर्ने आधिकारिक आधार भने सार्वजनिक भएका छैनन् । रास्वपा नेतृत्वले पनि पार्टीभित्र कुनै अस्वाभाविक हस्तक्षेप नभएको बताउँदै आएको छ ।
दलभित्र विभिन्न धार र समूहबीच मतभिन्नता बढिरहेको चर्चा भने नयाँ होइन । एक केन्द्रीय सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, पार्टी विस्तारसँगै फरक–फरक दृष्टिकोण आउनु स्वाभाविक हो । त्यसलाई गुटबन्दी भन्न मिल्दैन, भने ।
राजनीतिक विश्लेषकहरूको ध्यान त पछिल्लो समय बालेन र रविको सार्वजनिक उपस्थितितर्फ पनि गएको छ । प्रधानमन्त्री बालेन विभिन्न कार्यक्रम, सामाजिक सञ्जाल र जनसम्पर्क गतिविधिमार्फत निरन्तर चर्चामा छन् । उनका समर्थकहरूले यसलाई जनतासँगको प्रत्यक्ष सम्बन्धको उदाहरण मान्छन् । अर्कोतर्फ रवि लामिछाने अपेक्षाकृत संयमित देखिएका छन् । एक समय प्रायः हरेक विषयमा धाराप्रवाह बोल्ने रवि अहिले धेरै विषयमा सावधानीपूर्वक प्रतिक्रिया दिन थालेको टिप्पणी राजनीतिक वृत्तमा सुनिन्छ ।
एक वरिष्ठ राजनीतिक टिप्पणीकार भवानी अधिकारी भन्छन्, रवि लामिछानेको राजनीतिक शैली आक्रामक थियो । अहिले उनी सरकारभित्र छन् । सत्तामा पुगेपछि बोल्ने शैली र जिम्मेवारी दुवै बदलिन्छ । त्यसैले उनको मौनतालाई कमजोरी भन्नुभन्दा राजनीतिक सावधानीका रूपमा बुझ्नुपर्छ ।
हालैको भारत भ्रमणपछि पनि रवि लामिछाने चर्चामा रहे । भारतीय पक्षबाट उच्चस्तरीय स्वागत र भेटघाट भए पनि त्यसको राजनीतिक प्रभाव नेपालभित्र अपेक्षाअनुसार देखिएन भन्ने विश्लेषण सुनियो । रास्वपाले भने भ्रमणलाई द्विपक्षीय सम्बन्ध विस्तारका दृष्टिले सफल भएको दाबी गर्दै आएको छ ।
यसैबीच राजनीतिक वृत्तमा अर्को चर्चा पनि छ कि प्रधानमन्त्री बालेन आफ्नो राजनीतिक आधार थप विस्तार गर्न चाहन्छन् भने रवि लामिछाने पनि भविष्यमा अझ ठूलो भूमिकाको तयारीमा छन् । यस्ता चर्चा राजनीतिक गल्लीमा बाक्लिए पनि दुवै नेताले सार्वजनिक रूपमा एकअर्काविरुद्ध कुनै टिप्पणी गरेका छैनन् । बरु सरकार र पार्टी दुवैले सहकार्य कायम रहेको बताइरहेका छन् ।
राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाईं भन्छन्, अहिले देखिएको अवस्था खुला द्वन्द्वभन्दा पनि शक्ति सन्तुलनको राजनीति हो । दुवै पक्ष आफ्नो प्रभाव कायम राख्न चाहन्छन् । विपक्षी दलहरूले भने सरकारभित्रको यही असहजतालाई आफ्नो राजनीतिक अवसरका रूपमा हेर्न थालेका छन् । संसद्मा प्रधानमन्त्रीको कार्यशैलीमाथि आलोचना बढिरहेको छ भने रास्वपाको भूमिकामाथि पनि प्रश्न उठाइँदैछ ।
राजनीतिक रूपमा हेर्दा अहिलेको अवस्था न त स्पष्ट टकरावको हो, न त पूर्ण सहजताको । एउटा कुरा स्पष्ट देखिन्छ कि प्रधानमन्त्री बालेन्द्र शाह आफ्नै शैलीमा अघि बढिरहेका छन् भने रवि लामिछाने आफ्नो पार्टी, सरकार र व्यक्तिगत राजनीतिक भविष्यबीच सन्तुलन मिलाउने कठिन परीक्षामा छन् ।
यही कारणले राजनीतिक वृत्तमा बालेन मस्त, रवि त्रस्त भन्ने भाष्य लोकप्रिय बन्दै गएको हुन सक्छ । यो भाष्य वास्तविक राजनीतिक यथार्थ हो वा केवल राजनीतिक चर्चा मात्र, त्यसको उत्तर आगामी दिनका घटनाक्रमले दिनेछन् । अहिलेका लागि भने सत्ताको केन्द्रमा रहेका यी दुई प्रभावशाली व्यक्तित्वबीचको सम्बन्ध नेपाली राजनीतिको सबैभन्दा चासोको विषय बनेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *