कांग्रेसभित्र एकताको पक्षमा दबाब बढ्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)
कृष्ण लम्साल

काठमाडौं/ नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीसँगै आन्तरिक समीकरण र नेतृत्वबारे बहस तीव्र बन्दै गएको छ । विशेषगरी पार्टीको कोइराला–देउवा -कोदे) समूहभित्र भावी रणनीति, नेतृत्व चयन र संगठन विस्तारका विषयमा फरक–फरक धारणा सार्वजनिक हुन थालेका छन् ।
पार्टीनिकट स्रोतका अनुसार कोदे समूहका अधिकांश मध्यम तहका नेताहरू कांग्रेसलाई विभाजनतर्फ होइन, एकतावद्ध रूपमा महाधिवेशनमा लैजानुपर्ने पक्षमा देखिएका छन् । उनीहरूको जोड संगठन सुदृढीकरण र आन्तरिक प्रतिस्पर्धालाई संस्थागत प्रक्रियाबाट अघि बढाउनुपर्नेमा रहेको बताइन्छ ।
समूहभित्रका केही नेताले छुट्टै सम्पर्क कार्यालय सञ्चालन गर्दै आफ्नो राजनीतिक रणनीति अघि बढाइरहेका छन् । यसलाई कतिपयले आगामी महाधिवेशनलाई लक्षित राजनीतिक …बार्गेनिङÚ को रूपमा व्याख्या गरेका छन् भने केही नेताले भने यसलाई संगठनात्मक छलफलको सामान्य प्रक्रिया मात्र भएको बताएका छन् ।
राजनीतिक वृत्तमा कोदे समूहभित्र डा. शेखर कोइराला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायत नेताहरूबीच भावी नेतृत्वको विषयमा छलफल चलिरहेको चर्चा छ । यसबारे कुनै औपचारिक निर्णय वा सहमति भने सार्वजनिक भएको छैन । यसबीच कांग्रेसबाट निर्वाचित केही स्थानीय तहका जनप्रतिनिधिले पार्टी एकतालाई कमजोर बनाउने गतिविधि रोक्न नेतृत्वलाई आग्रह गरेका छन् । पार्टी विभाजनको अवस्था आए आफूहरूले गम्भीर निर्णय लिन सक्ने चेतावनीसमेत दिएका उनीहरूले महाधिवेशनसम्म पार्टीलाई एकताबद्ध राख्नुपर्नेमा जोड दिएका छन् ।
प्रदेश सरकारहरूको बदलिँदो राजनीतिक समीकरणले पनि कांग्रेसभित्र रणनीतिक छलफल बढाएको छ । केही प्रदेशमा सत्ता समीकरण परिवर्तन भएपछि कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले पदबाट बाहिरिनुपरेको अवस्थाले पार्टीभित्र आगामी राजनीतिक रणनीतिबारे बहसलाई थप तीव्र बनाएको बताइन्छ ।
स्रोतका अनुसार कोदे समूहका केही नेताले १५औँ महाधिवेशनको प्रतिनिधित्व निर्धारण गर्दा १४औँ महाधिवेशनको क्रियाशील सदस्यताको आधारलाई पनि ध्यान दिनुपर्ने धारणा राखेका छन् । पार्टी नेतृत्व भने विधान र स्थापित प्रक्रियाअनुसार नै महाधिवेशन सम्पन्न गरिने अडानमा रहेको बताइन्छ ।
पार्टी सभापति गगन थापाले महाधिवेशनका सबै प्रक्रिया विधि, विधान र संस्थागत निर्णयका आधारमा अघि बढाइने सार्वजनिक रूपमा बताउँदै आएका छन् । नेतृत्वले प्रक्रिया नछोड्ने संकेत दिएपछि विभिन्न समूहबीच आन्तरिक संवाद र सहमतिका प्रयास पनि जारी रहेको स्रोतको दाबी छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार आगामी महाधिवेशन कांग्रेसका लागि केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको भावी राजनीतिक दिशा तय गर्ने अवसर पनि हुनेछ । त्यसैले विभाजनको बहसभन्दा संगठनात्मक एकता र स्वस्थ प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने सुझाव पार्टीभित्र र बाहिरबाट उठिरहेको छ ।
यसैबीच कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टीले श्रेष्ठको योगदानको उच्च मूल्यांकन गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *