काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको करिब एक महिना बितिसक्दा पनि पार्टीका पदाधिकारीले पूर्णता पाएका छैनन् । गत असार ७ देखि १३ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनबाट सभापति, दुई उपसभापति, महामन्त्री र दुई सहमहामन्त्रीसहित केही पदमा निर्वाचन सम्पन्न भए पनि विधानअनुसार मनोनयनबाट पूर्ति गरिने पदहरू अझै रिक्त छन् ।
पार्टी विधानअनुसार केन्द्रीय समितिमा निर्वाचित सदस्यबाहेक मनोनयनमार्फत पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ । हाल सभापति रवि लामिछानेसँगै उपसभापति स्वर्णिम वाग्ले, उपसभापति सोविना गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह र हरि ढकालले जिम्मेवारी सम्हालिरहेका छन् । बाँकी एक उपसभापति, एक महामन्त्री, केही सहमहामन्त्री तथा केन्द्रीय सदस्य भने मनोनयनमार्फत चयन गरिने व्यवस्था रहेको छ ।
पार्टीभित्र अहिले सबैभन्दा बढी चासो मनोनित उपसभापति र महामन्त्रीको चयनलाई लिएर देखिएको छ । रास्वपा स्रोतका अनुसार उपसभापतिका लागि केही नेताको नाम चर्चामा रहेको छ । राजनीतिक वृत्तमा सुनिल लम्साल र गृहमन्त्री सुधन गुरुङको नाम पनि सम्भावित दाबेदारका रूपमा चर्चा भइरहेको छ । अन्ततः नेतृत्वले कसलाई जिम्मेवारी दिने भन्ने विषयलाई लिएर पार्टीभित्र चासो बढेको छ ।
महामन्त्री पदका लागि पनि विभिन्न नाम चर्चामा आएका छन् । विशेषगरी मधेश प्रदेशको प्रतिनिधित्व र संगठनात्मक सन्तुलनलाई ध्यानमा राखेर निर्णय हुनुपर्ने आवाज पार्टीभित्र उठिरहेको बताइन्छ । यस विषयमा पार्टी नेतृत्वले औपचारिक निर्णय सार्वजनिक गरेको छैन । पार्टीका एक नेताका अनुसार विभिन्न पृष्ठभूमिबाट आएका नेताहरूलाई समेटेर सन्तुलित टोली बनाउने प्रयास भइरहेकाले मनोनयन प्रक्रिया अपेक्षाभन्दा केही लम्बिएको हो । सरकार सञ्चालनको व्यस्तता र संगठन विस्तारका कामले पनि निर्णय प्रक्रियामा ढिलाइ भएको बताइन्छ ।
रास्वपाको केन्द्रीय समितिमा कुल १५८ सदस्य रहने व्यवस्था छ । तीमध्ये ९९ जना महाधिवेशनबाट निर्वाचित भइसकेका छन् । बाँकी सदस्यमध्ये सातै प्रदेशबाट एक–एक जना तथा अन्य सदस्यहरू सभापतिले विधानबमोजिम मनोनयन गर्ने व्यवस्था रहेको छ ।
महाधिवेशनपछि संगठनलाई पूर्णता दिने अपेक्षा गरिरहेका कार्यकर्ताले अब भने नेतृत्वले छिट्टै मनोनयन प्रक्रिया टुंग्याएर पार्टीलाई पूर्ण संरचनासहित अगाडि बढाउने अपेक्षा गरेका छन् ।
रास्वपामा कसको बाजी मार्ला ?
Facebook Comments Box
