पिएमणि भट्टराई
इनरुवा/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा धार्मिक जुलुसका क्रममा उत्पन्न विवाद हिंसात्मक बनेपछि भएको घटनाले कोशी प्रदेशसँगै तराई–मधेशका जिल्लामा त्रास र संवेदनशीलता बढाएको छ । घटनामा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले घटनाको छानबिनलाई तीव्र बनाएको जनाएको छ ।
प्राप्त जानकारीअनुसार आइतबार राति बोलबम यात्राका क्रममा डीजे बजाउने विषयलाई लिएर दुई समुदायबीच विवाद शुरु भएको थियो । प्रारम्भिक भनाभन केही समयमै झडपमा परिणत भएपछि स्थिति नियन्त्रणबाहिर गएको सुरक्षा स्रोतको भनाइ छ । त्यसक्रममा सुरक्षा बलले बल प्रयोग गरेको र गोली चलेको बताइएको छ । स्थानीय बासिन्दाले बत्ती काटिएको अवस्थामै गोली चलेको दाबी गरेका छन् भने घटनाको वास्तविक परिस्थितिबारे सरकारले गठन गरेको छानबिन समितिले अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रशासनले जनाइएको छ । स्वास्थ्यमन्त्री निशा मेहताले घाइते सबैको उपचार राज्यको जिम्मेवारीमा गरिने बताएकी छन् ।
घटना भएको पाँचौं दिनसम्म पनि प्रभावित क्षेत्रमा जनजीवन पूर्ण रूपमा सामान्य हुन सकेको छैन । बजार, शैक्षिक संस्था तथा दैनिक कारोबार प्रभावित भएका छन् भने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले विभिन्न स्थानीय तहमा निषेधाज्ञा तथा कफ्र्यु आदेश लागू गरेको छ । सुरक्षा निकायको उपस्थिति बढाइएको छ भने आवश्यक स्थानमा नेपाली सेनासमेत परिचालन गरिएको छ ।
घटनापछि केन्द्र सरकारले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको नेतृत्वमा परिवर्तन गरेको छ । नयाँ प्रमुख जिल्ला अधिकारीलाई सुनसरी पठाइएको छ भने उनले मृतकका परिवारसँग भेट गरी घटनाको निष्पक्ष छानबिन हुने र दोषीमाथि कानूनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्थानीय समुदायलाई संयमता अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न पनि आग्रह गरेका छन् ।
यस घटनाको प्रभाव सुनसरीमै सीमित नरही सप्तरी, सिरहा लगायतका केही जिल्लामा पनि देखिएको छ । कतिपय स्थानमा विरोध प्रदर्शन, आंशिक बन्द तथा यातायात सेवामा अवरोध भएको स्थानीय प्रशासनले जनाएको छ । सुरक्षा निकायले भने सामाजिक सञ्जालमार्फत भ्रामक सूचना नफैलाउन तथा अफवाहको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
कोशी प्रदेश सरकारले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सबै पक्षलाई संयमता अपनाउन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ । प्रदेश सरकारले स्थानीय तह, धार्मिक अगुवा, नागरिक समाज तथा सुरक्षा निकायबीच संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।
उता, गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । समितिलाई घटनाको कारण, सुरक्षा निकायको भूमिकालगायत समग्र पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रतिवेदनका आधारमा आवश्यक कानूनी र प्रशासनिक कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ ।
सद्भाव जोगाउने परीक्षा
सुनसरीको घटना केवल एउटा स्थानीय विवादका रूपमा सीमित छैन । बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक नेपाली समाजमा सानो विवादले पनि व्यापक सामाजिक असर पार्न सक्ने यथार्थ यस घटनाले पुनः स्मरण गराएको छ । धार्मिक आस्था, सांस्कृतिक अभ्यास र सार्वजनिक शान्तिबीच सन्तुलन कायम गर्नु राज्यका निकाय, राजनीतिक नेतृत्व, स्थानीय समुदाय र नागरिक समाज सबैको साझा जिम्मेवारी हो ।
घटनाको निष्पक्ष अनुसन्धान, दोषीको कानूनी उत्तरदायित्व र पीडितलाई न्याय सुनिश्चित गर्नु अहिलेको पहिलो आवश्यकता हो । त्यससँगै अफवाह नियन्त्रण, समुदायबीच विश्वास पुनःस्थापना र संवादमार्फत सामाजिक सद्भावलाई मजबुत बनाउनु पनि उत्तिकै महत्वपूर्ण देखिन्छ । सुनसरीको घटनाले नेपालको सामाजिक एकता र सहअस्तित्वलाई जोगाउने विषयमा राज्य संयन्त्रको क्षमता र संवेदनशीलताको पनि परीक्षण गरिरहेको छ ।
