बुढेसकालमा घर छाडेर डेरा खोज्न लागेका नेकाहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)
कृष्ण लम्साल

काठमाडौं/ नेपाली काँग्रेसमा आवद्ध भै त्याग, तपस्या र संघर्ष गरेका नेताहरु जीवनको उत्तरार्धमा पुरानै घरमा नबसी नयाँ डेरा खोज्ने अभियानमा जुटेका छन् । खासगरी बी.पी. कोइराला पुत्र डा. शशांक कोइरालालाई संयोजक बनाएर नेताहरु डेराको खोजीमा जुटेका छन् । नेताहरुले दुःख पाउने भए भनेर तिनका कार्यकर्ताहरुले अनुनय, विनय गर्दै घर नछाड्न विनम्र अनुरोध समेत गरेका छन् ।
जेजस्तो भए पनि पुरानै घरमा मिलेर बस्न सक्ने वातावरण बनाउन सुझाएका छन् । बुढेसकालमा घर छाड्दा मर्ने बेलामा दुःख पाइन्छ । घरमा सम्मानित अभिभावक भएर बस्ने कोसिस गर्नुस तर पार्टीलाई नफुटाउनु भनी नेताहरुले विन्ति गरेका छन् ।
पार्टी फुट्दा वा चोइटिँदा काँग्रेस ठूलो हानी नोक्सानी हुने निश्चित छ । बी.पी. पुत्र काँग्रेसबाट चोइटिँदा महामानव मान सम्मानमा आँच आउने र स्वयं डा. शशांक कोइरालाको निधारमा कलंकको टीका लगाउनुपर्ने छ । यतिबेला एउटै परिवारमा रहेका कोइराला परिवार डा. शेखर, डा. शशांक र नेतृ सुजाता कोइराला तीनधारमा विभाजित भएका छन् ।
शेखर र शशांक एक ठाउँमा उभिन्दा सुजाता फरक धारमा देखिएकी छन् । आफ्नो नेतृत्वमा उपलब्धी नभै कलंकको टीका लगाउनु पर्ने भएपछि पूर्णबहादुर खड्का, शेखर कोइरालाले शशांकलाई अघि सारेको ग्रेसवृत्तमा चर्चा चलेको छ ।
यता, काँग्रेस पूर्व सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारपछि आगामी श्रावण २४ गते स्वदेश फर्कने चर्चाले काँग्रेस भित्रको राजनीति तरंगित बन्न पुगेको छ । पूर्व सभापति देउवाको रोजाइमा बी.पी. पुत्र शशांक कि सभापति गगन भन्ने व्यापक चासो बढेको छ । जे भए पनि काँग्रेस विभाजनको पीडा भोगी सकेका देउवाले फेरी काँग्रेस फुटोस् भन्ने नचाहने बुझाइ कार्यकर्तामा रहेको छ ।
हाल डा. शशांक कोइरालाको नेतृत्वमा डेरा खोज्ने अभियानमा पूर्वउपसभापति खड्का, डा. शेखर, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महत, मोहन बस्नेत, एन.पी. साउद, रमेश लेखक लगायतका नेताहरु रहेका छन् । यिनीहरुको माग १४ औं महाधिवेशनलाई नै आधार मानेर १५औं महाधिवेशनमा जाउँ भन्ने रहेको छ । विशेष महाधिवेशनमार्फत सभापति बनेका गगनकुमार थापाले संस्थापन इतरपक्षको मागबारे सुनुवाई नगरेको आरोप लगाएका छन् ।
ईतरपक्षले आगामी श्रावण २९ गतेसम्म पर्खने र सहमति नजुटे राष्ट्रिय भेला गर्ने भन्दै डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय समिति गठन गरिसकेका छन् । यता, श्रावण २४ गते नै सभापति थापाले केन्द्रीय समिति बैठक डोकेका छन् । यो बैठकमा केही निर्णय हुन सक्ने संस्थापन पक्षका नेताहरुले बताएका छन् । मुलुकको वर्तमान अवस्थालाई हेर्दा काँग्रेसले विभाजनको बिऊ रोक्न नहुने बहस चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *