रोशन ज्ञवाली
ललितपुर/ नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा आरम्भ हुने भएको छ । महाधिवेशन नजिकिँदै जाँदा सभापति तथा अन्य पदका आकांक्षीहरू खुल्ने क्रम बढेकाले कांग्रेसभित्रको नेतृत्व प्रतिस्पर्धा थप स्पष्ट हुँदै गएको छ ।
यसैबीचमा सभापति पदको प्रतिस्पर्धा थप रोचक बनेको छ । पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफू सभापति पदमै प्रतिस्पर्धा गर्ने र कुनै तल्लो पदमा उम्मेदवारी दिने योजना नरहेको स्पष्ट पारेका छन् । राठौरले सभापति पदका लागि उम्मेदवारी दर्ता गर्ने बताउँदै आवश्यक परे आफ्नो समूह वा समूह निर्माणबारे पछि निर्णय गर्ने संकेत गरेका छन् । उनले पार्टीको नेतृत्वमा आफ्नो भूमिका आवश्यक रहेको भन्दै नेता–कार्यकर्ताको सहयोग र समर्थनको अपेक्षा गरेका छन् ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा पनि १५औँ महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् । हालसम्म सभापति पदका लागि थापा र राठौरको नाम प्रमुख रूपमा चर्चामा आएको छ । राठौरले आफू थापाभन्दा वरिष्ठ राजनीतिक पुस्ताको प्रतिनिधि भएको उल्लेख गर्दै सभापतिमै प्रतिस्पर्धा गर्ने बताएका छन् । उनले आफ्नो अजेन्डा र आगामी रणनीतिबारे छिट्टै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताएका छन् ।
राठौरको उम्मेदवारीले थापा सर्वसम्मत सभापति बन्ने सम्भावनाबारे भइरहेका चर्चामाझ प्रत्यक्ष प्रतिस्पर्धाको अवस्था सिर्जना गरेको छ । राठौरले भने आफ्नो उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् ।
गगनलाई राठौरको चुनौती
Facebook Comments Box
