काठमाडौं/ भोटेकोशी बाढीमा भएको मानवीय क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज -अनेसास) नेपाल च्याप्टरको नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ ।
भदौ ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी हस्तान्तरण गर्न आयोजित कार्यक्रममा सुरुमै बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारण गरिएको थियो ।
प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कुमारराज कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गर्दै शपथ गराए । त्यसपछि निवर्तमान अध्यक्ष राजेन्द्र के.सी.ले अध्यक्ष मञ्जिला अनिल शर्मासहित नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरे ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष कमला ओली, उपाध्यक्ष रञ्जना निरौला, महासचिव रमेश दाहाल, सचिव खेमराज न्यौपाने र कोषाध्यक्ष कमला रिसाल रहेका छन् । पदभार ग्रहण गरेपछि अध्यक्ष शर्माले संस्थाको आगामी गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले अनेसास नेपाल च्याप्टरको आफ्नै संरचना निर्माणका लागि जग्गा दान गर्ने घोषणा समेत गरेकी छन् ।
कार्यक्रमको दोस्रो सत्रमा प्रमुख अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइटेललगायत अतिथिहरूले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । निवर्तमान अध्यक्ष के.सी.ले आफ्नो कार्यकालका अनुभव सुनाउँदै नयाँ नेतृत्वलाई आवश्यक सहयोग र सहकार्य गर्ने बताए ।
देश विपद्मा रहेका बेला पनि पद हस्तान्तरणलाई निरन्तरता दिनुको उद्देश्य संस्थालाई आवश्यक पर्दा तत्काल परिचालन गर्न सक्ने अवस्थामा राख्नु रहेको महासचिव रमेश दाहालले बताए । उनका अनुसार विपद्का बेला राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्न नयाँ कार्यसमितिको सक्रियता आवश्यक भएकाले जिम्मेवारी हस्तान्तरणमा ढिलाइ नगरिएको हो । यसैबीच नयाँ कार्यसमितिको पहिलो बैठकसमेत बसिसकेको छ । बैठकले आगामी कार्यक्रम, संस्थागत गतिविधि र कार्यसमितिको भावी योजनाबारे छलफल गरेको जनाइएको छ ।
