बाढीको छायामा नेपाली चलचित्र

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले देशलाई शोकमा डुबाएको बेला त्यसको प्रत्यक्ष असर नेपाली चलचित्र क्षेत्रमाथि पनि देखिन थालेको छ । विपद्का कारण जनजीवन अस्तव्यस्त बनेपछि केही चलचित्रको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएका छन् भने प्रदर्शनमा रहेका चलचित्रको व्यापारसमेत प्रभावित भएको छ ।
भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘बाः एक योद्धा’ ले बाढीका कारण आफ्नो प्रदर्शन स्थगित गरेको छ । निर्माण पक्षले विपत्तिको समयमा मनोरञ्जनप्रधान चलचित्र प्रदर्शन गर्नु उचित नहुने भन्दै प्रदर्शन रोकेको हो । चलचित्रको नयाँ प्रदर्शन मिति मंसिरको अन्तिम साता तोकिएको छ । निर्माण पक्षले विपद्प्रति ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपियाँ सहयोगसमेत गरेको जनाएको छ ।
त्यसैगरी भदौ १९ मै प्रदर्शनमा आउने तयारीमा रहेको ‘ककाकिकी’ पनि बाढी तथा प्राकृतिक विपत्तिका कारण पछि सरेको छ । यसको प्रदर्शन मिति नोभेम्बर २६ का लागि सारिएको समाचार सार्वजनिक भएको छ । भदौ २६ का लागि तय भएको ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन पनि स्थगित भएको छ । निर्माण पक्षले देश गम्भीर विपत्तिबाट गुज्रिरहेका बेला चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्ष निकालेको हो ।
यसको असर प्रदर्शनरत चलचित्रहरुमा पनि परेको छ । चलचित्र हेर्नका लागि दर्शकको पहिलो प्राथमिकता अहिले मनोरञ्जनभन्दा परिवार, आफन्त र सामाजिक अवस्थाको चिन्तातर्फ मोडिएको छ । विपद्को समाचार, उद्धार तथा राहत अभियान र जनधनको क्षतिले सिर्जना गरेको मानसिक अवस्थाबीच ठूलो संख्यामा दर्शक हलसम्म पुग्ने सम्भावना स्वाभाविक रूपमा कमजोर हुन्छ । फलतः टिकट बिक्री, शोको संख्या र दैनिक बक्स अफिस आम्दानीमा समेत दबाब पर्न सक्छ ।
चलचित्र क्षेत्रका लागि यस्तो अवस्था दोहोरो चुनौती हो । एकातिर चलचित्र निर्माणमा ठूलो लगानी भइसकेको हुन्छ भने अर्कोतर्फ प्रदर्शन मिति सार्दा हल, वितरक, प्रचार–प्रसार र कलाकारको व्यस्त तालिकासमेत पुनः व्यवस्थापन गर्नुपर्ने हुन्छ । एउटै समयमा धेरै चलचित्रको प्रदर्शन मिति पछाडि धकेलिँदा आगामी महिनामा चलचित्र जुध्ने सम्भावना पनि बढ्न सक्छ । यसले लगानीको जोखिम थप बढाउने देखिन्छ ।
विपत्तिको घडीमा चलचित्रकर्मीले प्रदर्शन स्थगित गर्नु व्यावसायिक क्षतिभन्दा माथि उठेर मानवीय संवेदनालाई प्राथमिकता दिएको संकेत पनि हो । चलचित्र केवल व्यापारको माध्यम नभई समाजको संवेदना प्रतिबिम्बित गर्ने माध्यम भएकाले राष्ट्रिय पीडाको समयमा यस्तो निर्णयलाई सकारात्मक रूपमा लिनुपर्ने देखिन्छ ।
रसुवा बाढीको पीडा अझै गहिरो रहेको अवस्थामा चलचित्र क्षेत्रले तत्काल व्यापारभन्दा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । हलमा दर्शक फर्कने समय फेरि आउँछ, तर विपत्तिमा गुमेको मानवीय संवेदना फर्काउन सकिँदैन । त्यसैले अहिलेको स्थगन नेपाली चलचित्र क्षेत्रका लागि क्षणिक व्यावसायिक घाटा भए पनि सामाजिक उत्तरदायित्वका दृष्टिले अर्थपूर्ण निर्णय बन्न सक्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *