– प्राविधिक जनशक्तिको उर्वर भूमि तराई– अब छोरीको शिक्षामा फड्को आवश्यक

Nayabimarsha (Weekly Newspaper from Nepal)

ईश्वरी बराल

नेपालको तराई केवल अन्न उत्पादनको उर्वर भूमि होइन, जनशक्ति उत्पादनका दृष्टिले पनि निकै सम्भावनायुक्त क्षेत्र हो । चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, कृषि, निर्माण, प्राविधिक सेवा, उद्योग–व्यवसायदेखि सरकारी तथा निजी सेवाका विभिन्न क्षेत्रमा तराई–मधेशबाट आएका दक्ष जनशक्तिको उल्लेख्य उपस्थिति देखिन्छ । विशेषतः डाक्टर, इन्जिनियर र अन्य प्राविधिक क्षेत्रमा तराईका परिवारले शिक्षालाई सामाजिक प्रतिष्ठा र आर्थिक उन्नतिको भरपर्दो माध्यमका रूपमा लिएको पाइन्छ । यही सकारात्मक चित्रको अर्को पाटोमा एउटा गम्भीर विरोधाभास पनि छ कि छोरालाई उच्च र प्राविधिक शिक्षासम्म पु¥याउन ठूलो लगानी गर्ने समाजका कतिपय हिस्सामा छोरीको शिक्षाले अझै त्यही प्राथमिकता पाउन सकेको छैन ।
यो केवल अनुमान वा सामाजिक अनुभूतिमा सीमित विषय होइन । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक हेर्दा तराई क्षेत्रमा पाँच वर्षमाथिको जनसंख्याको साक्षरता दर ७३.१ प्रतिशत छ । पुरुषको साक्षरता ८०.५ प्रतिशत हुँदा महिलाको ६६.१ प्रतिशत मात्र छ । अर्थात् तराईमा महिला र पुरुषको साक्षरताबीच १४ प्रतिशत बिन्दुभन्दा बढी अन्तर देखिन्छ । अझ मधेश प्रदेशलाई अलग गरेर हेर्दा अवस्था थप चुनौतीपूर्ण छ । त्यहाँ समग्र साक्षरता ६३.५ प्रतिशत हुँदा पुरुषको ७२.५ प्रतिशत र महिलाको केवल ५४.७ प्रतिशत छ जबकि राष्ट्रिय रूपमा महिला साक्षरता ६९.४ प्रतिशत छ ।
यस तथ्यांकले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ कि डाक्टर र इन्जिनियर जन्माउने घरले आफ्नै छोरीलाई किन बीचैमा पढाइबाट अलग गर्ने अवस्था आउँछ ? यसको उत्तर कुनै एउटा कारणमा खोज्न सकिँदैन । आर्थिक अवस्था, सामाजिक परम्परा, कम उमेरमा विवाह, घरायसी जिम्मेवारी, विद्यालयको दूरी, सुरक्षाप्रतिको चिन्ता, दाइजोको दबाब र छोरी अन्ततः विवाह गरेर अर्काको घर जाने हो भन्ने पुरानो सोच एकअर्कासँग जोडिएका छन् । सबै परिवार र समुदायलाई एउटै आँखाले हेर्न मिल्दैनÙ तर समग्र तथ्यांकले लैङ्गिक असमानता अझै गहिरो रहेको प्रस्ट पार्छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले यो अन्तरलाई अर्को कोणबाट देखाउँछ । मधेश प्रदेशका १५–४९ वर्ष उमेर समूहका महिलामध्ये करिब ४६ प्रतिशतले औपचारिक शिक्षा नपाएको देखाएको छ भने माध्यमिक वा त्यसभन्दा माथिको शिक्षा पूरा गरेका महिला केवल ८ प्रतिशत थिए । सोही तहको शिक्षा पूरा गर्ने पुरुष १४ प्रतिशत थिए । तुलनाका लागि बागमतीमा माध्यमिक वा माथिल्लो तह पूरा गरेका महिला ३० प्रतिशत थिए । यो अन्तरले मधेशमा विद्यालय प्रवेश मात्र होइन, छोरीलाई विद्यालयमा टिकाइराख्ने र उच्च शिक्षासम्म पु¥याउने विषय अझ महत्वपूर्ण रहेको देखाउँछ ।
यही सामाजिक पृष्ठभूमिमा …बेटी बचाओ, बेटी पढाओÚ जस्ता नाराले अर्थ राख्छन् तर नारा भित्तामा लेखेर, ¥यालीमा बोलेर वा औपचारिक कार्यक्रममा दोहो¥याएर मात्र परिवर्तन सम्भव हुँदैन । यसको वास्तविक अर्थ छोरी जन्मिएको दिनदेखि उसलाई छोरा सरह अवसर दिनु हो । छोराका लागि राम्रो विद्यालय खोज्ने परिवारले छोरीका लागि पनि त्यही विद्यालय खोजोस्Ù छोरालाई विज्ञान, चिकित्सा वा इन्जिनियरिङ पढाउने सपना देख्दा छोरीलाई पनि त्यही सपना देख्न दिइयोस् । तब मात्र नाराले जीवन पाउँछ ।
रोचक कुरा के छ भने विद्यालय जाने उमेरका छोरीहरूको संख्या र सहभागिताले परिवर्तनको सम्भावना पनि देखाइरहेको छ । आर्थिक सर्वेक्षणमा समेटिएको शैक्षिक तथ्यांकअनुसार सन् २०२१ मा विद्यालय तहमा अध्ययनरत छात्राको संख्या सबैभन्दा धेरै मधेश प्रदेशमै थियो । यसको अर्थ छोरीहरू विद्यालयको ढोकासम्म पुग्न थालेका छन् । अब मुख्य चुनौती उनीहरूलाई कक्षा पाँच वा आठमा रोक्न नदिई माध्यमिक, उच्च माध्यमिक, विश्वविद्यालय र प्राविधिक शिक्षासम्म पु¥याउनु हो । यही ठाउँमा राज्य, स्थानीय सरकार, विद्यालय र परिवारको साझा जिम्मेवारी शुरु हुन्छ ।
अर्कोतर्फ कम उमेरको विवाह पनि शिक्षासँग प्रत्यक्ष जोडिएको समस्या हो । २०७८ को जनगणनाको मधेश प्रदेशसम्बन्धी प्रतिवेदनअनुसार त्यहाँ पहिलो विवाहको मध्यिका उमेर पुरुषमा २० वर्ष हुँदा महिलामा १७ वर्ष मात्रै छ । पहिलो विवाह भएकामध्ये १०–१४ वर्षमै विवाह हुने अनुपातसमेत उल्लेखनीय देखिन्छ । छोरी किशोरावस्थामै विवाहमा बाँधिएपछि पढाइ छुट्ने, आर्थिक रूपमा अरूमाथि निर्भर हुने र आफ्नो पेशा छनोट गर्ने अवसर साँघुरिने जोखिम स्वाभाविक रूपमा बढ्छ । त्यसैले बालविवाह रोक्नु कानुनी प्रश्न मात्र होइन, छोरीको शिक्षाको निरन्तरतासँग जोडिएको विकासको प्रश्न पनि हो ।
तराई–मधेशका लागि सबैभन्दा ठूलो सम्भावना पनि यहीँ छ । अहिले एउटा परिवारबाट छोरा चिकित्सक बनेको छ भने भोलि त्यही परिवारकी छोरी विशेषज्ञ चिकित्सक बन्न सक्छिन् । एउटा गाउँले इन्जिनियर उत्पादन गरेको छ भने त्यही गाउँबाट महिला सिभिल इन्जिनियर, आर्किटेक्ट, कृषि वैज्ञानिक, सफ्टवेयर इन्जिनियर वा अनुसन्धानकर्ता निस्कन सक्छिन् । त्यसका लागि छोरीलाई अवसरको ढोका खोलिदिनुपर्छ । प्रतिभाको कुनै लिङ्ग हुँदैनÙ अवसरको असमानताले मात्रै प्रतिभाको यात्रालाई रोक्छ ।
विशेषतः विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणिततर्फ छात्रालाई आकर्षित गर्ने छुट्टै कार्यक्रम आवश्यक देखिन्छ । माध्यमिक तहदेखि विज्ञान प्रयोगशाला, कम्प्युटर शिक्षा, छात्रवृत्ति र करिअर परामर्शसँग छात्रालाई जोड्न सकिन्छ । आर्थिक रूपमा कमजोर परिवारका छोरीलाई उच्च तथा प्राविधिक शिक्षाका लागि छात्रवृत्ति, सुरक्षित छात्रावास र यातायातको व्यवस्था गर्न सकिन्छ । स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय छाड्ने छात्राको विवरण राखेर किन पढाइ छुट्यो भन्ने खोजी गर्ने प्रणाली बनाउन सक्छन् । कुनै छोरी आर्थिक अभावका कारण पढाइबाट बाहिरिन लागेकी छ भने उसलाई विद्यालयमा टिकाउने जिम्मेवारी समुदाय र सरकार दुवैले लिन सक्नुपर्छ ।
अझ महत्वपूर्ण परिवर्तन भने घरभित्र चाहिन्छ । घरको काम छोरीकै मात्र जिम्मेवारी हो भन्ने मान्यता नबदलिँदासम्म विद्यालयमा नाम लेखाएर मात्रै समानता आउँदैन । छोराले पढ्ने समयमा छोरीले भान्साको काम गर्नुपर्ने, छोराका लागि ट्युसन र कम्प्युटर किन्ने तर छोरीलाई चाँडै विवाहका लागि तयार गर्ने प्रवृत्ति रहेसम्म तथ्यांकको अन्तर घटाउन कठिन हुन्छ । छोरीको शिक्षामा गरिएको खर्चलाई विवाहअघिको अनावश्यक खर्च होइन, परिवार र राष्ट्रको दीर्घकालीन लगानीका रूपमा बुझ्न आवश्यक छ ।
शिक्षित महिला केवल आफ्नो जीवन बदल्ने व्यक्ति होइनन् । उनी परिवारको स्वास्थ्य, बालबालिकाको शिक्षा, आर्थिक निर्णय र सामाजिक चेतनासँग जोडिन्छिन् । शिक्षित तथा आयआर्जनमा सक्षम छोरीले बाबुआमालाई पनि सहारा दिन सक्छिन् भन्ने उदाहरण समाजमै बढ्दै छन् । त्यसैले …छोरी त अर्काको घर जाने होÚ भन्ने पुरानो मान्यता आजको आर्थिक र सामाजिक वास्तविकतासँग मेल खाँदैन ।
तराई–मधेशले नेपाललाई ठूलो संख्यामा प्रतिभाशाली चिकित्सक, इन्जिनियर, प्राविधिक, शिक्षक, उद्यमी र दक्ष जनशक्ति दिएको छ । अब यही क्षमतालाई आधा जनसंख्यामा अझ विस्तार गर्ने बेला आएको छ । महिला साक्षरता ५४.७ प्रतिशतमा सीमित रहेको मधेशले छोरीलाई उच्च शिक्षासम्म पु¥याउन सके त्यसको प्रभाव एउटा प्रदेशमा मात्र सीमित रहने छैनÙ त्यसले समग्र नेपालको मानव पूँजीलाई बलियो बनाउनेछ ।
त्यसैले अब …बेटी बचाओ, बेटी पढाओÚ लाई नाराभन्दा एक कदम अगाडि लैजानुपर्छ अर्थात बेटी पढाओ, सीप सिकाओ, अवसर दिलाओ र आफ्नै खुट्टामा उभिन सक्ने बनाओ । छोरी विद्यालय पुग्नु पहिलो सफलता होÙ विश्वविद्यालय र प्राविधिक शिक्षासम्म पुग्नु दोस्रो सफलता होÙ र आफ्नो ज्ञान, सीप तथा क्षमताका आधारमा स्वतन्त्र जीवन निर्माण गर्न सक्नु वास्तविक सफलता हो ।
तराईले धेरै डाक्टर र इन्जिनियर जन्माइसकेको छ । अब प्रश्न कति प्राविधिक जन्मिए भन्ने मात्र होइन, तीमध्ये कति छोरीहरू थिए भन्ने पनि हुनुपर्छ । जुन दिन तराईको प्रत्येक परिवारले छोराका लागि देखेको ठूलो सपना छोरीका लागि पनि समान रूपमा देख्न थाल्छ, त्यस दिन …बेटी बचाओ, बेटी पढाओÚ नारा होइन, बदलिएको समाजको परिचय बन्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *