अनेसास नेपाल च्याप्टरद्वारा गौरव सम्मान अर्पण

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज -अनेसास) नेपाल च्याप्टरले अनेसासका संस्थापक तथा पूर्व अध्यक्षद्वय भीमप्रसाद रेग्मी र पुरुषोत्तम सुवेदीलाई ‘अनेसास संस्थापक गौरव सम्मान’ अर्पण गरेको छ । अनेसास क्यालिफोर्निया च्याप्टरका सल्लाहकार शेखर ढुङ्गेललाई पनि सम्मान गरिएको छ ।
नेपाली भाषा, साहित्य तथा अनेसासको संस्थागत अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएका तीन स्रष्टाको योगदानको कदरस्वरूप नेपाल च्याप्टरले उक्त सम्मान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको प्रारम्भमा गत भदौ १० गते भोटेकोशीमा आएको महाविनासकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि प्रमुख अतिथि वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष अधिवक्ता कमला ओलीले स्वागत मन्तव्य राखेकी थिइन् । च्याप्टरकी अध्यक्ष तथा कार्यक्रमकी सभापति मन्जिला अनिल शर्माले सम्मान समर्पणको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै साहित्यिक तथा संस्थागत योगदानको सम्मानले अग्रजहरूको साधना, अनुभव र योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि हिरण्यकुमारी पाठक, सभापति तथा च्याप्टरकी अध्यक्ष मन्जिला शर्मा अनिल, अभिभावकीय विशेष अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, पूर्वकेन्द्रीय सल्लाहकार प्रतीक ढकाल, केन्द्रीय सचिव ऋषभदेव घिमिरे, केन्द्रीय सदस्य राजेन्द्र के.सी. तथा च्याप्टरकी पूर्व अध्यक्ष सन्ध्या पहाडीलगायत मञ्चासीन व्यक्तित्वहरूले सम्मानित व्यक्तित्वहरूलाई रुद्राक्षको माला, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।
सम्मानपत्रमा उल्लिखित व्यहोरा च्याप्टरका सचिव खेमराज न्यौपाने र सदस्य शान्ति रिसालले वाचन गरेका थिए । अनेसासका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष भीमप्रसाद रेग्मीले अनेसासको प्रारम्भिक यात्रादेखि विभिन्न जिम्मेवारी सम्हाल्दै संस्थाको नेतृत्व गरेका थिए । त्यसैगरी पुरुषोत्तम सुवेदी अनेसासका संस्थापक सदस्यदेखि पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीको नेतृत्व तहसम्म रहेर संस्थासँग जोडिँदै आएका छन् । प्रवासमा रहेर नेपाली भाषा तथा साहित्यको प्रवद्र्धनमा सक्रिय शेखर ढुङ्गेल अनेसास क्यालिफोर्निया च्याप्टरसँग आबद्ध रहँदै आएका छन् ।
सोही अवसरमा ‘अनेसास नवरत्न पुरस्कार–२०२६’ बाट पुरस्कृत अनेसासकी पूर्व उपाध्यक्ष डा. रेणु थापा सोलुलाई उक्त पुरस्कार अर्पण गरिएको थियो । अनेसास केन्द्रद्वारा घोषित सो पुरस्कार च्याप्टरको उक्त कार्यक्रममा हस्तान्तरण गरिएको हो । त्यसैगरी अनेसासकी पूर्व केन्द्रीय सदस्य माया गुरुङ र अनेसास क्यालिफोर्निया च्याप्टरका अध्यक्ष श्रीबाबु आचार्यलाई दोसल्ला ओढाएर स्वागत सम्मान गरिएको थियो ।
शुभकामना मन्तव्यका क्रममा वरिष्ठ साहित्यकार खेमनाथ दाहालले च्याप्टरकी अध्यक्ष मन्जिला शर्माले च्याप्टरका लागि भूमिदान गरेकोमा प्रशंसा तथा धन्यवाद व्यक्त गर्दै नेपालमा अनेसासको आफ्नै भवन निर्माणका लागि पहल गर्नुपर्नेमा जोड दिए । यसै क्रममा दाहालले अनेसासकी माता स्व. नन्दादेवी सुवेदीको नाममा स्मृति प्रतिष्ठान स्थापना गर्नुपर्नेमा जोड दिए ।
अनेसास केन्द्रीय सचिव ऋषभदेव घिमिरेले केन्द्रले अनेसास नेपाल च्याप्टरलाई आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा पनि थप सहयोग गर्ने बताए । उनले अनेसासको संस्थागत विकासका लागि भवन निर्माणको आवश्यकता रहेको उल्लेख गर्दै त्यसतर्फ पहल गर्नुपर्नेमा जोड दिए ।
च्याप्टरकी पूर्व अध्यक्ष तथा पुरस्कार समिति सदस्य सन्ध्या पहाडीले सम्मानित व्यक्तित्व भीमप्रसाद रेग्मीको अनेसासप्रतिको योगदानको चर्चा गर्दै बधाई तथा शुभकामना व्यक्त गरिन् । अनेसासका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै सम्मानित व्यक्तित्व पुरुषोत्तम सुवेदी र शेखर ढुङ्गेलको व्यक्तित्व तथा योगदानको चर्चा गरे । उनले कार्यक्रमको आयोजनाका लागि नेपाल च्याप्टरलाई धन्यवाद दिँदै सम्मानित व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
सम्मानित व्यक्तित्व भीमप्रसाद रेग्मीले सम्मानप्रति आभार व्यक्त गर्दै अनेसाससँगको आफ्नो यात्रा, अनुभव तथा नेपाली भाषा–साहित्यप्रतिको प्रतिबद्धताबारे धारणा राखे । उनले अनेसासको आजीवन सदस्यता अद्यावधिकको विषयमा समेत आफ्नो धारणा व्यक्त गरे ।
त्यसैगरी सम्मानित व्यक्तित्व पुरुषोत्तम सुवेदीले सम्मानप्रति आभार व्यक्त गर्दै पूर्ववक्ताहरूले नेपालमा अनेसासको भवन निर्माण गर्नुपर्ने विषय उठाएको सन्दर्भमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विश्वभर रहेका अनेसासका च्याप्टरहरूसँग पनि आवश्यक सहयोगका लागि पहल गर्नुपर्ने र त्यसका लागि आफूले समन्वय गर्ने बताए ।
यसै क्रममा नेपाली भाषा तथा साहित्यका अध्येता एवं समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले शुभकामना मन्तव्य राख्दै नेपाल च्याप्टरले अग्रजहरूको योगदानलाई स्मरण र सम्मान गर्दै नयाँ पुस्तालाई सिर्जना तथा संस्थागत यात्रासँग जोड्ने कार्यलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेभने च्याप्टरले गरेको यस कार्यक्रमको विषयमाथि खुलेर प्रशंसा गरेका थिए ।
प्रमुख अतिथि हिरण्यकुमारी पाठकले सम्मानित स्रष्टाहरूलाई बधाई तथा शुभकामना दिँदै नेपाली साहित्यको समृद्धिका लागि सिर्जना, साधना र संस्थागत सहकार्यको निरन्तरतामा जोड दिइन् । कार्यक्रमका बीचमा च्याप्टरकी कोषाध्यक्ष कमला रिसालले राष्ट्रभक्ति गीत प्रस्तुत गरेकी थिइन् भने गजेन्द्र बोहोराले गजल प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा च्याप्टरकी उपाध्यक्ष रञ्जना निरौलाले उपस्थित सम्पूर्ण अतिथि, स्रष्टा, साहित्यकार तथा साहित्यप्रेमीहरूप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् ।
कार्यक्रममा काठमाडौंस्थित विभिन्न साहित्यिक संस्थाका नेतृत्व तथा साहित्यकारहरूको उल्लेख्य उपस्थिति थियो । सहभागीहरूमा रामप्रसाद पन्त, विजयध्वज थापा, शारदाका सम्पादक विमल भौकाजी, मुरारी सिग्देल, श्रीबाबु कार्की, विक्रमभक्त जोशी, राजरजक, ट्रस्टिज अम्बिका गुरुङ, डा. रामदयाल राकेश, विष्णुबाबु तिवारीलगायत साहित्यिक क्षेत्रका पाँच दर्जनभन्दा बढी व्यक्तित्वहरू थिए । च्याप्टरका सबै पदाधिकारी तथा सदस्यहरूले कार्यक्रममा आ–आफ्नो जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गरेका थिए ।
कार्यक्रमको सञ्चालन रमेश दाहालले गरेका थिए । दाहालले कार्यक्रम समापनको घोषणा गरेपछि सम्मानित व्यक्तित्व, अतिथि तथा अनेसासका पदाधिकारीहरूको सामूहिक तस्वीर लिइएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *