काठमाडौं/ सरकारले पूर्वाधार विकास मन्त्रालयको सचिवमा पदम मैनालीलाई पदस्थापन गरेको छ । गत असोज १३ गते तात्कालिन सचिव गोपाल सिग्देल अनिवार्य अवकासमा परेपछि सो स्थान रिक्त अवस्थामा थियो ।
मैनालीलाई असोज १९ गतेको मन्त्रिपरिषद्को वैठकले सचिवमा पदस्थापन गरेको हो । वरिष्ठ सहसचिव -सु.इ.) को रुपमा कार्यरत मैनालीलाई वरिष्ठताको आधारमा सचिवमा पदस्थापन गराइएको बताइएको छ । करिब आठ वर्ष तात्कालिन शहरी विकास मन्त्रालयमा काम गरेको अनुभव सचिव मैनालीमा रहेको बताइएको छ । यसैगरी शहरी विकास तथा भवन निर्माण विभागमा समेत मैनालीले चार वर्षको अनुभव गरेको बताइएको छ ।
मैनालीले ६ महिनाजति विभागको महानिर्देशकको रुपमा समेत कार्य गरेको स्रोतले बताएको छ । तात्कालिन भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र खानेपानी मन्त्रालय एकीकृत भएपछि विकासे मन्त्रालयको नेतृत्व सम्हाल्नेमा मैनाली दोस्रो रहेको बताइएको छ । यसअघि शहरी विकासकै पूर्ण कडरिया भौतिक पूर्वाधार मन्त्रालयको सचिव बनेका थिए । कडरियाअघिका सबै सचिवहरु प्रशासन क्षेत्रबाट आएका थिए । कडरिया भने इन्जिनियरिङ क्लष्टरबाट आउने पहिलो सचिव बनी इतिहास रचेको पनि बताइएको छ ।
कडरियापछि खानेपानीका गजेन्द्र ठाकुर र नापीका मधुसूदन अधिकारी तथा अर्जुन कार्की भौतिक सचिव बनेका थिए । तात्कालिन भौतिक र हालको पूर्वाधार विकास मन्त्रालयमा प्रायजसो सडक विभागमा महानिर्देशक बनेकाहरु सचिव बनेको पनि स्रोतले दाबी गरेको छ । तुलसीप्रसाद सिटौला, रविन्द्रनाथ श्रेष्ठ, देवेन्द्र कार्की, केशव शर्मा र गोपाल सिग्देलले सडक विभागमा बसेर राम्रै आयआर्जन गरेको जानकारहरुले बताएका छन् । यसैगरी अधिकारी, कार्की र ठाकुरले पनि मन्त्रालयबाट राम्रैगरी हात लागी गरी बाहिरिएको पनि स्रोतले दाबी गरेको छ ।
अहिले बालेन्द्र शाह -बालेन) को नेतृत्वमा बनेको वर्तमान सरकारले सचिवमा पदस्थापन गराएका मैनालीलाई सरकारको साख जोगाएर कार्य गर्न सकस हुने चर्चा चल्न थालेको छ । अनुभव र कार्यक्षमता भएका मैनालीले पुरानो सोचका कर्मचारी तथा नयाँ सोचको वर्तमान सरकारलाई के कसरी तालमेल गराउन सक्लान् भनी चर्चा चल्ने गरेको छ ।
पूर्वाधार विकासको सचिवमा मैनाली
Facebook Comments Box
