कौशल कुमार भट्टराई
नेपाली कांग्रेसको १५औँ महाधिवेशनसँगै पार्टीभित्र देखिएको शक्ति संघर्ष अब केवल नेतृत्व चयनको आन्तरिक प्रतिस्पर्धामा सीमित नरहने संकेत देखिएको छ । गगनकुमार थापा नेतृत्वमा कांग्रेसको आधिकारिक महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने समूहले पनि असोज १६ गतेदेखि वडा अधिवेशन शुरु गरी अघि बढाएको प्रसंगले कांग्रेसभित्रको पुरानो गुटगत द्वन्द्वलाई फेरि सतहमा ल्याएको छ । एउटै पार्टीको नाम, विधान र राजनीतिक विरासत दाबी गर्दै दुईतिरबाट अधिवेशन सञ्चालन गर्ने परिस्थिति आफैँमा कांग्रेसका लागि सुखद संकेत होइन । अझ पछिल्लो समय वडा, प्रदेश र केन्द्रीय तहसम्म आधिकारिक महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा समानान्तर गतिविधिले अपेक्षित जनसमर्थन र राजनीतिक उत्साह पैदा गर्न नसकेको देखिएमा त्यसले अर्को पक्षको शक्ति र वैधानिकतामाथि पनि प्रश्न उठाउन सक्छ । मूल प्रश्न यहाँ कसको अधिवेशन वैधानिक हो भन्ने मात्र होइनÙ कांग्रेसजस्तो ऐतिहासिक दल फेरि पनि आन्तरिक शक्ति संघर्षका कारण दुई दिशामा जाने हो कि आफूलाई नयाँ राजनीतिक परिस्थितिअनुकूल रूपान्तरण गर्ने हो भन्ने हो । देउवा, बीपी कोइरालाका पुत्र शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका नेताहरू एउटा छुट्टै धारमा उभिनुपर्ने परिस्थिति निर्माण हुँदै जाँदा त्यसको परिणाम कता पुग्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । इतिहासमा कम्युनिष्ट आन्दोलनभित्र विभाजनपछि बनेका साना समूहहरू क्रमशः मूलधारबाट कमजोर हुँदै गएको उदाहरण कांग्रेसका लागि पनि एउटा राजनीतिक पाठ हुन सक्छ । समानान्तर संरचना निर्माण गरेर तात्कालीन शक्ति जोगाउन सकिएला, तर त्यसले दीर्घकालीन रूपमा जनताको विश्वास, संगठनको ऊर्जा र राजनीतिक प्रभाव जोगाउन सकिन्छ भन्ने कुनै सुनिश्चितता हुँदैन ।
कांग्रेसभित्र अहिले देखिएको अवस्थालाई अर्को कोणबाट पनि हेर्न आवश्यक छ । समानान्तर कांग्रेस निर्माण भयो भने त्यसमा निर्वाचित हुने पदाधिकारी तथा नेतृत्वलाई कुनै न कुनै राजनीतिक सम्झौतामार्फत आगामी स्थानीय निर्वाचनअघि मूल कांग्रेसमा समायोजन गराउने प्रयास हुनसक्ने अनुमान पनि गर्न सकिन्छ । त्यस्तो अवस्थामा …हामी पनि कांग्रेस हौँÚ भन्ने दाबी गर्दै मूल पार्टीमा फर्कने नेतृत्वले आफूलाई समान राजनीतिक हैसियत दिनुपर्ने माग राख्न सक्छ । त्यसबाट पार्टी एकता त हुनसक्ला, तर त्यसको मूल्य फेरि गुटगत शक्ति सन्तुलनका रूपमा चुकाउनुपर्ने सम्भावना रहन्छ । विगतमा कांग्रेसभित्र देखिँदै आएको गुटगत संरचनाको मूल समस्या नै यही हो कि व्यक्ति मिल्छन्, समूह मिल्छन्, तर संस्थागत संस्कृति बदलिँदैन । चुनाव आउँदा टिकटको भागबन्डा, पदाधिकारी चयनमा हिस्सेदारी, सरकार गठनमा प्रभाव र पार्टीभित्र आफ्नो समूहको संख्या बढाउने प्रतिस्पर्धा फेरि शुरु हुन्छ । यस्तो राजनीतिक अभ्यासले कांग्रेसलाई जनताका वास्तविक मुद्दाभन्दा नेताहरूको व्यवस्थापनमा बढी केन्द्रित बनाउँछ । यदि समानान्तर गतिविधिको अन्तिम उद्देश्य फेरि मूल कांग्रेसमै फर्किएर पुरानै शक्ति समीकरण निर्माण गर्नु हो भने त्यसले कांग्रेसलाई नयाँ बाटो दिँदैन । बरु एउटा गुट कमजोर भएर अर्को गुट बलियो हुने चक्र मात्र दोहोरिन्छ । अहिलेको कांग्रेसले विचार, संगठन र नेतृत्वको प्रश्नलाई व्यक्ति केन्द्रित सौदाबाजीबाट बाहिर निकाल्न नसकेमा इतिहास, संगठन र पुरानो जनाधार मात्रै बोकेर भविष्यको राजनीति जित्न कठिन हुनेछ । नयाँ पुस्ता पुराना अनुहारबाट मात्र असन्तुष्ट छैनÙ ऊ निर्णय गर्ने शैली, अवसरको वितरण, नेतृत्वको जवाफदेहिता र राजनीतिमा देखिएको आत्मकेन्द्रित प्रवृत्तिबाट पनि प्रश्न गरिरहेको छ । त्यसैले कांग्रेसको संकटलाई केवल देउवा पक्ष र थापा पक्षबीचको संघर्षका रूपमा बुझ्नु समस्याको सतही व्याख्या हुनेछ ।
यहीँबाट कांग्रेसका लागि एउटा ठूलो अवसर पनि शुरु हुन्छ । पछिल्लो राजनीतिक परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ राजनीतिक शक्तिले प्राप्त गरेको आकर्षणको एउटा कारण स्थापित दलहरूप्रतिको असन्तुष्टि हो । त्यस असन्तुष्टिको सम्पूर्ण राजनीतिक स्वामित्व नयाँ दलले मात्र लिन सक्दैनन् । यदि गगनकुमार थापा नेतृत्वको कांग्रेसले आफूलाई साँच्चिकै नयाँ राजनीतिक संस्कृतिमा ढाल्न सक्यो भने त्यही असन्तुष्ट मतदाताको ठूलो हिस्सा कांग्रेसतर्फ फर्किन सक्ने सम्भावना रहन्छ । त्यसका लागि पहिलो शर्त कांग्रेसले आफूलाई केवल पुरानो इतिहासको उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न छाड्नु हो । बी.पी. कोइरालाको नाम लिनु मात्रै पर्याप्त हुँदैनÙ बी.पी.ले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवाद, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र जनउत्तरदायी राजनीतिको मर्मलाई आजको आर्थिक तथा सामाजिक परिस्थितिसँग जोड्न सक्नुपर्छ । दोस्रो, नेतृत्व चयनमा पारदर्शिता र पुस्तान्तरणलाई संस्थागत गर्नुपर्छ । एउटै व्यक्तिले दशकौँसम्म पार्टीको शक्ति नियन्त्रणमा राख्ने अभ्यास अन्त्य नगरेसम्म नयाँ पुस्ताको आकर्षण भाषणबाट मात्र प्राप्त हुँदैन । तेस्रो, पार्टीभित्र गुटको आधारमा अवसर दिने संस्कारलाई कमजोर पार्दै क्षमता, योगदान र जनसम्बन्धलाई प्राथमिकता दिनुपर्छ । चौथो, कांग्रेसले सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा आफ्नो राजनीतिक चरित्र स्पष्ट देखाउनुपर्छ । भ्रष्टाचार, बेरोजगारी, शिक्षा, स्वास्थ्य, उत्पादन, वैदेशिक रोजगारी, अर्थतन्त्र र सुशासनजस्ता विषयमा जनताले अनुभूति गर्न सक्ने कार्यक्रम दिन सकेमा कांग्रेसको राजनीतिक पुनर्जागरण सम्भव छ ।
अहिले कांग्रेसका अगाडि मूलतः दुई बाटा देखिन्छन् । एउटा बाटो पुरानै शक्ति समीकरणलाई जोगाउन समानान्तर संरचना बनाउने, गुटलाई संस्थागत गर्ने र अन्ततः फेरि कुनै सम्झौतामार्फत सबैलाई एउटै छातामुनि ल्याउने हो । अर्को बाटो भनेको विगतका कमजोरी स्वीकार गर्दै पार्टीलाई नयाँ राजनीतिक शक्तिका रूपमा पुनर्निर्माण गर्ने हो । पहिलो बाटो तत्काल केही नेताको राजनीतिक अस्तित्वका लागि उपयोगी देखिए पनि त्यसले कांग्रेसको दीर्घकालीन भविष्य सुनिश्चित गर्दैन । दोस्रो बाटो कठिन छ, किनभने यसमा धेरै पुराना अभ्यास, सम्बन्ध र स्वार्थलाई चुनौती दिनुपर्ने हुन्छ । तर राजनीतिक दलको जीवनमा कठिन बाटो नै प्रायः पुनर्जन्मको बाटो पनि बन्न सक्छ । गगनकुमार थापा नेतृत्वको कांग्रेसले आफूलाई साँच्चिकै रूपान्तरण गर्न सक्यो भने अहिलेको राजनीतिक असन्तुष्टिलाई आफ्नै पक्षमा बदल्ने अवसर उसँग छ । त्यसका लागि देउवा वा कोइराला पक्षलाई पराजित गर्नु मात्र पर्याप्त हुँदैनÙ कांग्रेसभित्रको गुट संस्कृतिलाई पराजित गर्नुपर्छ । पार्टीलाई व्यक्तिको वरिपरि होइन, नीति र संस्थाको वरिपरि उभ्याउनुपर्छ । समानान्तर कांग्रेस निर्माण गर्ने प्रयासले मूल कांग्रेसलाई कमजोर बनाउने हो कि उल्टै उसलाई आफ्नो कमजोरी पहिचान गरेर सुधार गर्ने अवसर दिने हो, त्यो अब नेतृत्वको व्यवहारमा निर्भर छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले स्थापित दललाई एउटा स्पष्ट सन्देश दिइसकेको छ कि जनताले विकल्प खोज्न सक्छन् । त्यसको अर्को अर्थ पनि छ कि स्थापित दलले आफूलाई बदल्न सकेमा त्यही जनमत पुनः आफ्नो पक्षमा ल्याउन पनि सक्छ । त्यसैले कांग्रेसका लागि अहिलेको चुनौती केवल महाधिवेशन सम्पन्न गर्नु होइनÙ महाधिवेशनपछि कस्तो कांग्रेस निर्माण गर्ने भन्ने हो । यदि नयाँ नेतृत्वले संगठनलाई चुस्त, विचारलाई समयसापेक्ष, नेतृत्वलाई जवाफदेही र राजनीतिलाई जनमुखी बनाउन सक्यो भने गगनकुमार थापा नेतृत्वको कांग्रेस आगामी दिनमा नेपाली राजनीतिमा नयाँ शक्तिको रूपमा स्थापित हुन सक्छ । अन्यथा समानान्तर अधिवेशन, गुटगत सम्झौता र पदको भागबन्डाले कांग्रेसलाई इतिहासको गौरव बोकेको तर वर्तमानमा प्रभाव गुमाउँदै गएको दलमा सीमित गरिदिन सक्छ । कांग्रेसको भविष्य अब उसको इतिहासले होइन, उसले आफूलाई बदल्न सक्ने क्षमताले निर्धारण गर्नेछ ।
कांग्रेस: विभाजनको जोखिम कि रूपान्तरणको अवसर ?
Facebook Comments Box
