रमेश चन्द्र न्यौपाने
कुनै पनि योजना संचालन गर्नको लागि अन्य विविध विषय बाहेक खासगरी उक्त योजनाको आवश्यकता, यसबाट जनताले पाउने लाभ, यसलाई संचालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार, दक्ष जनशक्ति र अन्य जनशक्ति, आर्थिक श्रोत र यसबाट उत्पादित भएको बस्तुको प्रयोग वा उपभोग गर्ने जनसंख्या यिनै माथि उल्लेखित गरिएको विषयहरुलाई ध्यानमा राखेर हाल संचालन आउन नसकेको सिंहदरबार वैद्यखाना उद्योगलाई संचालन गर्न सकिन्छ । यो कुनै नयाँ योजना होइन यस संस्थाको इतिहास, पृष्ठभूमि र आवश्यकतालै विचार गरेर पनि यो संस्था पूर्ण रुपमा संचालन गर्न पर्ने आवश्यकता पर्दछ । एलोप्याथिक उपचार पद्धतिको साथसाथै हाम्रो देशमा मात्र होइन विश्वभरि नै आयुर्वेद पद्धतिको औषधिहरुको आवश्यकता, महत्व र आम जनताले प्रयोग गर्न चाहेका छन् । त्यसैले गर्दा पनि नेपालको मात्र आवश्यकता नभएर आयुर्वेदिक औषधिहरु उत्पादन गर्ने सरकारीस्तरमा नै एउटा संस्थाको आवश्यकता छ ।
योजनाहरु संचालन गर्ने क्रममा कसले संचालन गर्ने भन्ने विषय पनि महत्वपूर्ण हुन्छ । त्यसैले यो सिंहदरबार वैद्यखाना संचालन गर्न जिम्मेवारी स्वास्थ्य मन्त्रालयको हुन्छ । माथि उल्लेखित आधारहरुको सन्दर्भमा यसको पृष्ठभूमिलाई पनि केहि उल्लेख गर्नुपर्ने हुन्छ । æशरीर, मन, इन्द्रिय र आत्माको संयोग नै आयु हो निरन्तररुपमा चल्ने एक क्षण पनि नरोकिने भएकाले यसलाई नित्य पनि भनिन्छ । त्यस आयुको ज्ञान जुन शास्त्र वा विद्याबाट प्राप्त हुन्छ त्यो नै आयुर्वेद हो । आयुर्वेद मनुस्य जस्तै पशुपन्छी तथा विभिन्न बनस्पतिसँग पनि सम्बन्धित छ । ज्ञानको प्रारम्भ सृस्तिभन्दा पहिले भएको हो भन्ने केहि विद्वानको मत अनुसार आयुर्वेदको उत्पत्ति पनि मानिसको उत्पत्तिभन्दा पहिले नै भएको हो ।Æ मानव जाति र पशुपन्छीहरुको जीवनको श्रृष्टिदेखि नै अन्य खानपिनको अलावा औषधिको आवश्यकता भएको देखिन्छ । हालको अवस्था हेर्ने हो भने मानिसलाई खानालाई जति खर्च चाहिन्छ त्यो भन्दा बढी औषधिमा लाग्दछ । पोषण युक्त खानामा पाँच ओटा तत्व समावेश गरिएकोमा अब औषधिलाई पनि थप गरी छवटा तत्व बनाउनुपर्ने अवस्था आएको छ ।
नेपालको सर्वप्रथम अति प्राचीन राजकीय आयुर्वेदिक संस्थाहरूमा वैद्यखाना नामको एक रसायनशाला हुनमानढोका दरबारमा मल्लकालीन समयमा स्थापना भएपनि वर्तमान सिंहदरबार वैद्यखाना नामको संस्थानको स्थापना शाहवंशको सातौं स्व. श्री ५ महाराजाधिराज सुरेन्द्र वीरविक्रम शाहको समयमा भएको हो । नेपालका तात्कालीन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले आफ्नो इच्छानुसार सुधार गरी अनेकानेक रसायन एवं वाजीकरण औषधिहरूको निर्माण गराएका थिए । यसमा महाराजा चन्द्रोदय, शिवप्रसाद, रससिन्दुर जीवनारायण तेल आदि उल्लेखनीय छन् । अष्टादश -१८) संस्कार एवं विभुक्षित पारद -ःभचअगचथ) निर्माण भएको थियो । जङ्गबहादुरले हनुमानढोका दरबारबाट थापाथली दरबारमा उक्त वैद्यखानालाई स्थानान्तरित गरेका थिए । वि.सं. १९०५ साल माघ १३ गते सोमबारको दिनमा भीषण अग्निकाण्डमा परी कतिपय औषधिहरू नष्ट, भ्रष्ट भएका थिए । त्यसपछि थापाथलीबाट त्रिपुरेश्वरमा सारियो । तात्कालीन प्रधानमन्त्री चन्द्रशमशेर ज.ब.रा.द्वारा वैद्यखानाको भवन निर्माण गरी उक्त वैद्यखानालाई सिंहदरबारमा स्थापित गरियो ।
इ.सं. १९३८ को द्वितीय विश्वयुद्धमा नेपालको सेनाको साथमा सिंहदरबार वैद्यखानाबाट निर्मित औषधिहरू पनि विदेशमा पठाइएका थिए । त्यसबाट विदेशी चिकित्सक -म्यअतयच) हरू धेरै प्रभावित भएका थिए । यस वैद्यखानामा निर्मित रातोवरि अतिसार -पखाला) लागेमा र हरियो मलम सद्योव्रण -तुरुन्त काटेका घाउ) का लागि धेरै प्रभावशाली भएका थिए । राजकीय व्यवस्था अनुसार सिंहदरबार वैद्यखानाको अतिरिक्त कुनै प्रकारको धमार्थ औषधालयहरूको निर्माण भएका थिएनन् । पूर्वराजा त्रिभुवनको शासनकालमा वि.सं. २००७ मा नेपाल अधिराज्यभरमा धर्मार्थ र औषधालयहरूको निर्माण भएको हुँदा राष्ट्रपिता श्री ५ त्रिभुवनको काललाई आयुर्वेदिक स्वर्णयुग त्यस समयमा मानिएको थियो ।
संसारमा मानव जातिको उत्पत्ति र विकाससँगै मानव शरीरमा रोगव्याधिहरू पनि देखापर्दै गए । त्यस्ता स्वास्थ्य समस्याहरूलाई आ–आफ्नो ज्ञानको सहायताले समाधान गर्ने प्रयत्न गर्दै आए । मानिसहरूले मानव जातिको यही प्रयोग र प्रयासस्वरूप कालान्तरमा संसारमा विभिन्न किसिमका चिकित्सा प्रणालीहरू विकसित भए । विश्वको प्राचिनतम चिकित्सा प्रणाली मानिने आयुर्वेद चिकित्सा प्रणाली नेपालको मौलिक चिकित्सा प्रणाली हो । फलस्वरूप २०५२ सालमा राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति लागू गरी त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आयुर्वेद विभागलाई तोकियो । सो नीतिको पहिलो वाक्यमा स्पष्टतः आयुर्वेद नेपालको राष्ट्रिय चिकित्सा पद्धति हो भनिएको छ ।
धेरै वर्षदेखि यसरी संचालन भैरहेको सिंहदरबार वैद्यखानाबाट उत्पादित गरिने कार्य लथालिंग र अव्यस्थित भै हाल देशमा आवश्यक पर्ने आयुर्वेदिक औषधिहरु उत्पादन हुन नसकी विदेश र निजी कम्पनीबाट आपूर्ति गर्नु परेको हुँदा नेपाल सरकार विशेष गरी स्वास्थ्य मन्त्रालयले आवश्यक पर्ने माथि उल्लेखित विषयहरुमा व्यवस्था गरी तुरुन्त यहि आर्थिक बर्ष नेपाललाई आवश्यक पर्ने आयुर्वेदिक औषधिहरु उत्पादन गरेर आयुर्वेदिक क्षेत्रमा सुधार गरेको पाइला देखाउनुपर्ने गर्नु पर्दछ ।
सिंहदरबार वैद्यखानालाई पूर्ण रुपमा संचालन गर्नको लागि मात्र निम्न चरणहरु पूरा गर्नुपर्ने आवश्यकता देखिएको छ । ती हुन् ः
१. आयुर्वेद सेवाको विज्ञ समेतको संलग्न भएको योजनाकार, अर्थविद्, प्रशासनविद् सहितको एउटा उच्चस्तरीय समिति गठन गर्ने ।
२. अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र स्वास्थ मन्त्रालयबीच छलफल गरी बजेटको व्यवस्था गर्ने ।
३. हाल नेपाल अधिराज्य भरि आयुर्वेद संस्थाहरुमा औषधिको लागि बजेट व्यवस्था गर्ने ।
४. नेपाललाई आयुर्वेदिक औषधिको कति खपत छ, जानकारी राख्ने ।
५. स्वदेशी र बिदेशी गरि कति औषधि आयात हुन्छ, जानकारी राख्ने ।
६. हाल भएको भन्दा अरु औषधि सेवा, जनसक्ति कति आवश्यक पर्दछ ।
७. समितिको ऐन र नियम अनुसार कार्यकारी निर्देशकको नियुक्ति गर्ने ।
८. आयुर्वेद महाशाखा अन्तर्गत राख्ने ।
यसरी पनि सिंहदरबार वैद्यखाना औषधिउत्पादन गर्न सरकारले नसक्ने हो भने सार्वजनिक खरिद ऐन अनुसार बजेटको व्यवस्था गरी नियम अनुसार स्वदेशी तथा विदेशी निजी कम्पनीहरुलाई सरकारको निर्देशन अनुसार अरु एलोपथिक औषधिहरु खरिद बिक्रि गर्ने अनुसार भए पनि सिंहदरबार वैद्यखानालाई सक्रिय बनाउनुपर्ने देखिन्छ । सिंहदरबार वैद्यखानालाई आयुर्वेदिक हब बनाउन पनि हाल भएको पूर्वाधारहरुलाई प्रयोगमा ल्याउन सकिन्छ ।
नेपाली आम जनता र एलोप्याथिक चिकित्सक, आयुर्वेद चिकित्सक र अन्य वैकल्पिक पद्धति योजनाकार र आर्थिक विज्ञहरुलाई समेत के अनुरोध गर्न चाहन्छु भने मानिसलाई लाग्ने सर्ने र नसर्ने रोगहरु जस्तै उच्चर रक्तचाप, मुटु रोग, मधुमेह, एचआइभी एड्स, क्षयरोग, क्यान्सर लगायत रोगहरु रोकथाम र नियन्त्रण गर्ने तर्फका औषधिको उत्पादन, आयात, निर्यात र वितरणतर्फ कसैको ध्यान छैन । आयुर्वेदिक औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना बारेमा सबैलाई लागेको चिन्ता जनताको स्वास्थ सुधारलाई हो कि राजनीति र प्रचारप्रसार मात्र हो यो गम्भीर विषय हुन आएको छ । हालसालै नेपाल स्वास्थ्य अनुसन्धान र आयुर्वेद अनुसन्धान केन्द्रबाट के कतिरोगहरुको बारेमा अनुसन्धान भएको छ अब नेपाललाई कस्ता कस्ता रोगहरु बारेमा कस्ता कस्ता औषधि उत्पादन आयात गर्नुपर्छ यो पनि आवश्यक भएको छ । हाल भएको सिंहदरबार वैद्यखानालाई आयुर्वेद मात्र औषधि गर्ने स्थान मात्र नगरी यहाँ शैक्षिक कार्यक्रम पनि संचालन गर्नुपर्ने आवश्यक छ । औषधि व्यवस्था विभाग, नेपाल औषधि लि. कम्पनी र अन्य निजी कम्पनीहरुको साझेधारमा भए पनि औषधि उत्पादन गर्नुपर्ने जरुरी छ । आर्थिक स्रोत र दक्ष जनशक्ति बिना सिंहदरबार वैद्यखाना संचालन गर्न कठिन छ ।
