पिएमणि भट्टराई
ललितपुर/ नेपाल र चीनबीचको व्यापारका लागि रसुवागढी नाका एउटा सीमा नाका मात्र होइन, नेपाली बजारलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण व्यापारिक सेतु हो । यही नाकाबाट वर्षौंदेखि ठूलो परिमाणमा चिनियाँ सामान नेपाल भित्रिँदै आएको छ भने सीमावर्ती क्षेत्रमा त्यसैमा निर्भर व्यवसाय र रोजगारीको चक्र पनि चलिरहेको छ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले सडक, पुल र व्यापारिक संरचनामा पु¥याएको क्षतिसँगै यो व्यापारिक सेतु फेरि अनिश्चितताको घेरामा परेको छ ।
बाढी आउनुअघि रसुवागढी नाकाबाट हुने व्यापार क्रमशः विस्तार भइरहेको थियो । काठमाडौंसँगको तुलनात्मक रूपमा छोटो दूरी, केरुङ हुँदै चीनको मुख्य बजारसँग जोडिने सुविधा र अन्य उत्तरी नाकाको तुलनामा विकसित हुँदै गएको पूर्वाधारका कारण नेपाली व्यापारीको रोजाइमा रसुवागढी पर्न थालेको थियो । कपडा, जुत्ता–चप्पल, विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, फलफूल, मेसिनरी तथा विभिन्न उपभोग्य वस्तुदेखि पूर्वाधार निर्माणमा आवश्यक सामग्रीसम्म यही मार्ग हुँदै नेपाल भित्रिने गरेका थिए । चालु आर्थिक वर्षको नौ महिनामै रसुवागढी नाकाबाट ३१ अर्ब ३० करोड रुपियाँ बराबरका सामान आयात भएको र त्यसबाट ६ अर्ब ४२ करोड रुपियाँ राजश्व उठेको तथ्यले पनि यसको व्यापारिक महत्व स्पष्ट पार्छ । त्यस अवधिमा चीनतर्फ नेपालको निर्यात भने करिब ६५ करोड रुपियाँमा सीमित थियो ।
रसुवागढीको व्यापारिक यात्रा पछिल्ला वर्षमा विस्तारसँगै अवरोधको यात्रासमेत बन्दै गएको छ । गत वर्षको बाढीले मितेरी पुल बगाएपछि लामो समय नाका प्रभावित भयो । व्यापारिक गतिविधि पुनः सञ्चालनमा आएपछि व्यापारीहरूले राहतको सास फेर्न थालेका थिए । लामो समयदेखि सीमामा अड्किएका कन्टेनर क्रमशः नेपाल आउन थाले, बजारमा सामानको आपूर्ति सहज हुन थाल्यो र भन्सार राजश्व पनि बढ्न थाल्यो । व्यापारले पुरानै गति समात्न नपाउँदै भदौ १० गतेको बाढीले फेरि ठूलो धक्का दिएको छ । यस पटक समस्या एउटा पुल वा सडकको मर्मतमा मात्र सीमित देखिँदैन । भन्सार क्षेत्र, गोदाम, पार्किङस्थल, सडक तथा व्यापारसँग सम्बन्धित अन्य संरचनामा समेत क्षति पुगेपछि नाका पुनः सञ्चालनका लागि ठूलो पुनर्निर्माण आवश्यक पर्ने अवस्था बनेको छ ।
यही कारण अहिले रसुवागढीको भविष्यबारे व्यापारीमा अन्योल बढेको छ । व्यापारमा सडक बन्द हुनु ठूलो समस्या हो, तर त्यसभन्दा गम्भीर समस्या हो कि सडक कहिले खुल्छ भन्ने निश्चित नहुनु । चीनबाट सामान मगाउँदा व्यापारीले पहिल्यै अर्डर गर्नुपर्छ, भुक्तानी गर्नुपर्छ, कन्टेनर व्यवस्थापन गर्नुपर्छ र ढुवानीको समयतालिका बनाउनुपर्छ । बाटोमा अवरोध आएपछि सीमामा सामान रोकिन्छ, ढुवानी तथा भण्डारण खर्च बढ्छ, बैंकबाट लिएको ऋणको ब्याज थपिन्छ र बजारमा सामान पुग्ने समय अनिश्चित हुन्छ । चाडपर्वलाई लक्षित गरेर मगाइएको सामान समयमा बजारमा आउन नसके व्यापारीले बिक्रीको अवसरसमेत गुमाउन सक्छन् ।
यसको असर व्यापारीको खातामा देखिने घाटामा मात्र सीमित हुँदैन । सीमावर्ती क्षेत्रमा कन्टेनर चालकदेखि लोड–अनलोड गर्ने श्रमिक, भन्सार एजेन्ट, होटल व्यवसायी, गोदाम सञ्चालक र साना व्यापारीसम्मको आम्दानी सीमापार व्यापारसँग जोडिएको छ । नाका लामो समय बन्द हुँदा उनीहरूको दैनिक आर्थिक गतिविधि पनि सुस्ताउँछ । बाढीले व्यापारिक संरचना क्षति पु¥याउनु भनेको स्थानीय अर्थतन्त्रको एउटा ठूलो चक्रलाई नै केही समयका लागि रोक्नु हो ।
यसको अर्को प्रत्यक्ष असर नेपाली बजारमा पर्न सक्छ । रसुवागढी हुँदै आउने सामानको आपूर्ति लामो समय अवरुद्ध भयो भने मौज्दातमा रहेका बस्तुले केही समय बजारको माग धान्न सक्छन् । त्यसपछि आपूर्ति र मागबीच असन्तुलन उत्पन्न हुन सक्छ । विशेषगरी चिनियाँ बजारबाट नियमित रूपमा आउने कपडा, जुत्ता, इलेक्ट्रोनिक्स, विद्युतीय सामग्री तथा केही उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएमा मूल्यमा दबाब पर्न सक्छ । चाडपर्व नजिकिँदै गएको समयमा यसको प्रभाव अझ संवेदनशील बन्न सक्छ ।
यस्तो अवस्थामा स्वाभाविक रूपमा तातोपानी र कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा उपयोग गर्ने चर्चा सुरु हुन्छ । एउटा महत्वपूर्ण कमजोरी यहाँ देखिन्छ कि नेपालसँग वैकल्पिक नाका त छन्, तर एउटै नाका बन्द हुँदा त्यसको सम्पूर्ण व्यापारिक भार तत्काल अर्को नाकाले धान्न सक्ने पूर्वाधार तयार छैन । तातोपानी पनि बाढीपहिरोको जोखिमबाट मुक्त छैन । कोरला नाकाको विकास भइरहेको भए पनि रसुवागढीबाट हुने ठूलो परिमाणको व्यापारलाई एकैपटक त्यता सार्न सडक, भन्सार, पार्किङ, गोदाम र ढुवानी क्षमताका पर्याप्त संरचना आवश्यक पर्छन् ।
यसले नेपाललाई आफ्नो व्यापारिक रणनीतिबारे पुनर्विचार गर्नुपर्ने सन्देश दिएको छ । कुनै एउटा सडक, पुल वा नाकामा अत्यधिक निर्भर व्यापार प्रणाली प्राकृतिक विपत्तिको समयमा निकै कमजोर हुन्छ । एउटा मार्ग अवरुद्ध हुँदा अर्को मार्ग तत्काल सञ्चालन गर्न सकिने व्यवस्था, पर्याप्त भन्सार क्षमता र वैकल्पिक ढुवानी प्रणाली तयार हुनु आवश्यक छ । अन्यथा हरेक विपत्तिपछि व्यापारी, उपभोक्ता र सरकार सबैले उही समस्या दोहो¥याएर भोगिरहनुपर्ने हुन्छ ।
रसुवागढी पुनर्निर्माण गर्दा पनि यही पक्षलाई केन्द्रमा राख्नुपर्ने देखिन्छ । विगतमा जे थियो, त्यही ठाउँमा उही संरचना बनाउँदैमा दीर्घकालीन समाधान नहुन सक्छ । नदीको बहाव, पहिरोको सम्भावना, आकस्मिक बाढी, हिमाली भूगोल र जलवायु परिवर्तनले सिर्जना गरिरहेको नयाँ जोखिमलाई ध्यानमा राखेर सडक, पुल, भन्सार, गोदाम र पार्किङस्थलको पुनर्संरचना गर्नुपर्ने हुन्छ । चीनसँगको सहकार्यमा सीमाक्षेत्रको मौसम तथा विपद् सूचना आदानप्रदान गर्ने प्रभावकारी संयन्त्र पनि आवश्यक छ ।
त्यससँगै नेपालले चीनसँगको व्यापारलाई केवल आयातको बाटोका रूपमा हेर्ने पुरानो सोचबाट बाहिर निस्कनुपर्ने समय आएको छ । रसुवागढीबाट अर्बौं रुपियाँका सामान नेपाल भित्रिँदा चीनतर्फ नेपाली सामानको निर्यात अत्यन्त न्यून हुनु व्यापारिक असन्तुलनको स्पष्ट संकेत हो । त्यसैले नाका पुनर्निर्माणको अर्थ चिनियाँ सामान नेपाल भित्र्याउने बाटो सहज बनाउनु मात्र हुनु हुँदैन । नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म पु¥याउने वातावरण बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ ।
रसुवाको बाढीले भौतिक संरचना मात्र बगाएको छैन । यसले व्यापारमा रहेको एउटा गहिरो कमजोरी पनि उजागर गरिदिएको छ कि हाम्रो व्यापारिक प्रणाली अझै पनि प्राकृतिक विपत्तिको जोखिम सामना गर्न पर्याप्त सक्षम छैन । व्यापारीको लगानी, सीमावर्ती श्रमिकको रोजगारी, उपभोक्ताको बजार र सरकारको राजश्व सबै एउटै व्यापारिक मार्गसँग जोडिएका छन् ।
रसुवागढी फेरि खुल्नु आवश्यक छ । अब प्रश्न नाका कहिले खुल्छ भन्नेमा मात्र सीमित हुनु हुँदैन । खुलेपछि त्यो नाका कति सुरक्षित, दिगो र भरपर्दो हुन्छ भन्ने प्रश्न अझ महत्वपूर्ण हो । पुनर्निर्माणलाई तत्कालको समस्या समाधान गर्ने कामका रूपमा मात्र होइन, भविष्यको व्यापार सुरक्षित बनाउने अवसरका रूपमा लिन सकियो भने अहिलेको विपत्ति एउटा नयाँ शुरुवातको आधार बन्न सक्छ ।
बाढीले सडक र पुल भत्काउन सक्छ, व्यापार केही समय रोक्न सक्छ । त्यसबाट सिकेर बलियो संरचना र वैकल्पिक मार्ग तयार गर्न सकिन्छ । अब नेपालले बाढीपछि बाटो खोज्ने होइन, बाढी आउँदा पनि व्यापारको बाटो नरोकिने व्यवस्था बनाउनेतर्फ अघि बढ्नुपर्छ । यही नै रसुवागढीको बाढीले नेपाललाई दिएको सबैभन्दा ठूलो व्यापारिक पाठ हो ।
