संस्थापन इतरपक्षको सभापति को होला ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

कृष्ण लम्साल

काठमाडौं/ यतिबेला नेपाली काँग्रेस संस्थापन इतरपक्ष अर्थात् को.दे. -कोइराला– देउवा) समूहको समान्तर अधिवेशन धमाधम चलिरहेको छ । गत असोज १४ गतेबाट शुरु भएको वडा अधिवेशन पालिका, क्षेत्र र जिल्लाहरुमा भै रहेको छ । आगामी मंसिर २१, २२ र २३ गते १५औं महाधिवेशन हालै भएको कांग्रेसकै झल्को दिने र टक्करमा गरिने इतरपक्षले बताएको छ ।
देउवा समूहले बनाउने सभापति, उपसभापति र महामन्त्री को होलान् भनी काँग्रेसवृत्तमा चासो बढेको छ । संस्थापन पक्षका काँग्रेस सभापति गगन कुमार थापालाई माथ गर्ने हिसाबले युवा नै आउलान् कि बृद्धहरु शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहमध्येबाट सभापति बन्लान् भन्ने छलफल व्यापक रुपमा चलेको छ । सर्वोच अदालतबाट आधिकारिक निर्णय वा फैसला नआउञ्जेल समानान्तर नामाकरण गरिएको को.दे. समूह निर्णय आएपछि चोइटिएर जाने र बी.पी. काँग्रेसजस्तै बन्ने जानकारहरुले बताएका छन् ।
काँग्रेस चोइटिँदा वा सिंगो काँग्रेस विभाजन हुँदा निश्चितरुपमा असर पर्ने देखिन्छ । हालै भएको कांग्रेसको महाधिवेशनमा पद नपाएका र हारेकाहरुलाई यो समूहले धमाधम भित्र्याएर स्वागत सत्कार गरिरहेको चर्चा चलेको छ । संस्थापन इतर पक्षको नीति, विधि र निर्वाचन रणनीति के होला, कस्तो होला ? एमाले वा माओवादीसँग मिलेर स्थानीय चुनाव लड्का कि के गर्ला जस्ता थुप्रै प्रश्नहरु शुरु भएका छन् । राजनीतिमा प्राप्तिको लागि जेजस्तो पनि जायज हुने भएकाले बी.पी. कोइरालाका पुत्र शशांक कोइराला के गर्लान् अर्थात् काँग्रेस नै छाडेर नजालान् तर गणेशमान पुत्र प्रकाशमान र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र चाहिँ सभापति बन्न सक्ने काँग्रेसका जानकारहरुले बताएका छन् ।
यी नभए युवापुस्ताका जितजंग बस्नेत र कास्कीका गुरु बरालको नाम चर्चामा छ । थापालाई ड्यासिङ दिन मोहनबहादुर बस्नेतको नाम पनि चर्चामा ल्याइएको छ तथापि नयाँ खोल्ने तयारी गरिएको पार्टीमा काँग्रेसका पुराना टन्न अघाएकाहरु नजाने र काँग्रेसमा पनि नजाने अवस्था आउन सक्ने समाचार श्रोतले बताएको छ ।
यसैबीच गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसका १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पद तथा गोपनीयताको शपथ हिजो विहीबार गरिएको छ । निर्वाचित २३१ मध्ये सभापति थापाले यसअघि नै शपथ लिइसकेकाले हिजो अरु पदाधिकारीहरुको शपथ गराइएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *