भौतिक मन्त्रालय सुनसान, छायामन्त्री आरजु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गठबन्धन सरकारको मन्त्री बनेर नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरु बर्खास्दगीमा परेका छन् । संघबाट आफ्ना मन्त्रीहरु बर्खास्दगीमा परेपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि काँग्रेसका तीन जना मन्त्रीहरु रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास र वीरेन्द्रप्रसाद सिंह महिला बालबालिका तथा खेलकुद मन्त्रीहरुलाई हटाएर प्रतिशोधको बदला लिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीहरु मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादव बन तथा वातावरण, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन र मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपंक्षी मन्त्रीलाई बर्खास्दगी गरेका थिए । असारको तेश्रो साता मन्त्री बनेका उपरोक्त चारजनाले कर्मचारीहरुको सरुवा र ठेक्कापट्टाको कमिशनबाट चुनावी खर्च जुटाएको समाचार स्रोतले बताएको छ ।
यता, सबैभन्दा बढी बजेट भएको विकासे मन्त्रालयका रुपमा चिनिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हालेपछि मन्त्रीको सचिवालय सुनसान बनेको छ । स्वकीय सचिवालयदेखि आगन्तुक कक्ष सबै खाली छन् । आगामी मंसिर ४ गते चुनावमै सरकार गठन गर्न कम्तीमा पनि माघ महिनाभरी लाग्ने भएपछि मन्त्रालयको नेतृत्व सचिव गोपाल सिग्देलले बालुवाटारको आदेश बमोजिम गर्ने बताइएको छ । भौतिक मन्त्री राई बर्खास्दगीमा पर्नासाथ बालुवाटारबाट आदेश आउन थालेको समाचार स्रोतले बताएको छ ।
प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई भौतिक मन्त्रालयको छायामन्त्री भनी चर्चा गरिएको छ । मन्त्रालयका सचिव सिग्देल र प्रधानमन्त्री पत्नी राणाबीच सडक विभागको महानिर्देशक हुँदादेखिको सम्बन्ध छायामन्त्री बनेपछि ठेक्कापट्टाको कमिशनमा सहज हुने जानकारहरुले बताएका छन् ।
कर्मचारीहरुको सरुवा नभए पनि सचिव, डिजी, आयोजना, योजना र डिभिजन प्रमुखहरुले ठेक्का लागेका योजनाबाट कम्तीमा १ प्रतिशत कमिशन बुझाउनुपर्ने श्रोतले बताएको छ । हाल मध्यपहाडी, मदन भण्डारी र हुलाकी राजमार्ग आयोजनाका अतिरिक्त डिभिजन सडकहरुबाट झण्डै ३५ अर्ब रुपियाँ बराबरको ठेक्का लगाइएको जानकारहरुले बताएका छन् ।
उता, मन्त्री राईले जाने बेलामा रेल्वे विभागको महानिर्देशकबाट अवकाश भएपछि भौतिक मन्त्रीको विज्ञ सल्लाहकार बनेका बलराम मिश्रलाई रेल्वे प्रशासक बनाएपछि महानिर्देशक रोहित विसुरालको हरिबिजोग भएको छ । भौतिक मन्त्रालयमा मन्त्री राई नहुँदा सचिव सिग्देललाई विझेको काँडो निकालेजस्तो हाइसन्चो भएको छ । अहिले सचिव सिग्देलले आनन्दको महसुस गरेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *