शहरी विकास मन्त्रीलाई पनि एमाले नै प्यारो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेपाली काँग्रेसबाट नेतृ सीता गुरुङ शहरी विकास मन्त्री बनेकी छन् । गत २०७९ मंसिरमा भएको संघीय निर्वाचनमा काँग्रेसबाट चुनाव जित्ने उनी एकमात्र महिला उम्मेदवार हुन् । त्यसैले काँग्रेस सभापति शेरबहादुर देउवाले गुरुङलाई शहरी विकास मन्त्रीमा सिफारिस गरेका थिए ।
काँग्रेसबाट मन्त्री बनेकी गुरुङले मन्त्रालयमा काँग्रेसलाई बेवास्ता गर्दै नेकपा (एमाले) लाई काखी च्याप्ने गरेकी छिन् । उनले मन्त्री बनेको केही समयपछि प्रजातन्त्रवादी भनेर चिनिएका मन्त्रालयका सचिव सुरेश आचार्यलाई सरुवा गरी खुंखार एमालेभक्त रविन्द्रनाथ श्रेष्ठलाई भित्र्याएकी छन् । विवादास्पद पृष्ठभूमिका श्रेष्ठ आगामी कार्तिक ११ गते सेवानिवृत्त हुँदैछन् ।
सडक विभागको महानिर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव हुँदा गरेका कर्तुतहरुका कारण उनी स्वच्छ प्रशासक बन्न सकेका छैनन् । कार्यकालको अन्तिम समयमा सहरी विकास मन्त्रालयमा सरुवा हुनुलाई असारे खेती हात पार्न गएको जानकारहरुले बताएका छन् । शहरी विकास मन्त्रालय पनि विकासे र आकर्षक मानिन्छ ।
यता, काँग्रेसकी मन्त्री गुरुङले गठन आदेशबाट स्थापना गरिएको बागमती विकास समितिको २०८० असार मसान्तमा समाप्त हुने म्याद थपेर विघटन हुनबाट जोगाएकी छन् । उक्त विकास समितिमा काँग्रेसलाई वाइपास गर्दै २०७७ कार्तिक २८ गते नियुक्त भएका अध्यक्ष उद्वव तिमल्सिनालाई नै बाँकी कार्यकालको लागि प्रस्ताव गरेर तिमल्सिनालाई हटाउँदा सर्वोच्च अदालतमा मुद्दा लिएर जाने डरले सचिवको प्रस्ताव मान्न उनी बाध्य भएकी हुन् । अब तिमल्सिनाले आगामी २०८० कार्तिक २७ गतेसम्म ढलीमली गर्नेछन् । बागमतीमा तिमल्सिनाको आतंकलाई यथावत राख्न सदस्यहरु हटाइएको छ ।
काँग्रेस सभापति देउवा समेत तिमल्सिनाको विपक्षमा रहेको अवस्था र मन्त्री गुरुङको स्वकीय सचिवले पनि नमान्दा नमान्दै कसको दबाबमा म्याद थप गर्न बाध्य भइन् भन्ने चर्चा काँग्रेस वृत्तमा चलेको छ । आफ्नो मन्त्रालयको निर्णय गर्ने अधिकार आफूमा हुँदाहुँदै बालुवाटारको दबाबमा लम्पसार गर्नुलाई अक्षमताको आरोप लगाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *