शान्ति र सद्भावका लागि महाभिषेक गरिने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ बुद्ध धर्मका विख्यात् गुरू ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा काठमाडौंमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम गरिने भएको छ । असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने भएको हो ।
बौद्ध व्योम कुसुमा बुद्ध धर्म संघका अध्यक्ष मुकुन्द विष्टले अवलोकितेश्वरको महाभिषेकले विश्वजगत र प्राणीमा सद्भाव बढाउने दाबी गरेका छन् । उनले पत्रकार सम्मेलनको आयोजना गरी भने, ‘विश्वशान्ति, सद्भाव, भाइचारा र मानवताका लागि सकारात्मक ऊर्जा र सद्भाव प्रवाह गर्न महाभिषेक गर्न लागेका हौँ ।’ करुणाका प्रतिमूर्ति मानिने ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेद्वारा प्रदान गरिने महाभिषेकले सम्पूर्ण मानव समुदायलाई सकारात्मक प्रेरणा दिने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
साधनाका लागि काठमाडौँको आफ्नै महत्व छ । यो धार्मिक रुपमा पवित्र स्थल हुनुका साथै साधनाका लागि उपयुक्त मानिन्छ । गुरूलाई विशेष आग्रह गरिएकोले यो समयमा यहाँ महाभिषेक गर्न तयार भएको जानकारी गराउँदै यो कार्यक्रम सबैका लागि खुल्ला भएकाले जोकोही सहभागी हुन सक्ने बताइएको छ ।


बुद्धिस्ट एकेडेमीका अध्यक्ष खेन्पो जोर्डनले साक्या परम्परा र गुरूको बारेमा जानकारी दिएका थिए । यो महाभिषेकले सद्भाव बढाउँदै शान्ति कायम गर्न प्रेरित गर्ने विश्वास लिइएको छ । विभेद, वैमनस्य र विश्वासको संकट गहिरो बन्दै गइरहेको सन्दर्भमा चारै बौद्ध सम्प्रदायबाट सम्मानित, धेरै मण्डलहरुको सिद्धि गरिसकेका महामण्डलाधिपति महान् गुरु ठ्रिछेन् रिन्पोछेद्वारा सम्पन्न हुने महाअभिषेक सम्पूर्ण मानव जातिमा शान्ति, परस्पर सद्भाव र मैत्रीको सञ्चार गर्ने पवित्र उद्देश्यले गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेपालमा परापूर्वकालदेखि समग्र हिमाली क्षेत्रका साथै नेपालमण्डल, पहाड र तराई क्षेत्रमा पनि आर्य अवलोकितेश्वरको विशेष कृपा भएको कुरा यहाँका रीति, रिवाज, जात्रा, परम्परा आदि धेरै सांस्कृतिक पक्षहरूमा प्रतिविम्बित रहेको छ । चीन र भोटक्षेत्रका धेरै पूर्वगुरुहरुले पनि नेपालमा रहेर बुद्धका शिक्षा र बज्रयानका उपदेशहरुलाई सिक्ने र यहाँबाटै भारत, श्रीलङ्का, म्यान्मार, क्याम्बोडिया, लाओस्, इण्डोनेशिया आदि मुलुकमा बिस्तार गरेका थिए । त्यसैले नेपाली भूमिमा रहेर सद्धर्मको श्रवण, अध्ययन या चिन्तनमनन र अभ्यास गर्नु सबैका लागि प्रेरणास्पद हुने उद्देश्यका साथ महाअभिषेक आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *