सरकार परिवर्तनको चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुख्य समाचार

भक्तपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार परिवर्तनको चर्चा चलेको छ । सत्तारुढ गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेसका धेरैजसो सांसदहरुले वर्तमान सरकारले राम्रो कार्य गर्न नसकेको आरोप लगाएसँग वर्तमान सरकारको परिवर्तनको कुरा राजनीतिक वृत्तमा चर्चामा आएको हो । प्रमुख प्रतिपक्षी दलका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले समेत वर्तमान सरकारलाई गिराउनका लागि विभिन्न किसिमका योजनाहरु बनाइरहेको अवस्थामा कांग्रेसका नेताहरुले समेत वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि देखाएपछि सरकार परिवर्तनको चर्चा चुलिएको हो ।

वर्तमान सरकारले राम्रो कार्य गर्न नसकेको आरोप कांग्रेसका महामन्त्री गगनकुमार थापाले लगाएपछि त्यसलाई कांग्रेसकै धारणाका रुपमा लिन थालिएको हो । महामन्त्री थापाले आफ्नो व्यक्तिगत विचारका रुपमा यो आरोप लगाए पनि उनी कांग्रेसमा उदीयमान महामन्त्रीका रुपमा रहेका कारण पनि यो विषयले मलजल पाएको हो ।

थापाले सरकारको कार्यशैलीको विरोध मात्र गरेका छैनन् कि उनले सरकार परिवर्तनको विकल्प नै दिएका छन् । उनले सत्ता गठबन्धनमा परिवर्तन नगरी वर्तमान सरकारका मन्त्रीहरुको परिवर्तन गरेर पनि विकल्प खोज्न सकिने धारणा राखेका छन् । उनले हालको गठबन्धनमा रहेका सबै दलको सहभागितामा वर्तमान सरकार संचालन रहेको स्थितिमा सरकारले एकले अर्कालाई दोष देखाउँदै राम्रो कार्य नगरेको विश्लेषण गरेका छन् । उनले सरकारमा सहभागी दलका मन्त्रीहरुले एक अर्का दलको कारण आफूहरुले राम्रो कार्य गर्न नसकेको आरोप लगाउने गरेको अवस्थालाई विश्लेषण गरेका छन् ।

थापाले गरेको विश्लेषणमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैली कांग्रेसका लागि पाच्य नरहेको बताइएको छ । सरकारले जसरी गति लिनुपर्ने हो त्यसमा दाहाल र श्रेष्ठका कारण सफल हुन नसकिएको विश्लेषण गरिएको छ । यस्तो अवस्थामा दाहाल र श्रेष्ठको गलत कार्यको अपजस कांग्रेसले लिनुपरेको भनी महामन्त्री थापाले विश्लेषण गरेका छन् ।
यसैगरी दाहाल र श्रेष्ठको विश्लेषण यसको ठीक विपरित रहेको पनि थापाले बताएका छन् । कांग्रेस ठूलो दलको रुपमा रहेका कारण पनि कतिपय अवस्थामा कांग्रेसको चाहना अनुरुप चल्नुपर्ने हुँदा आफ्नो नेतृत्वको सरकारले सही ढंगबाट कार्य गर्न नसकेको बुझाइमा दाहाल र श्रेष्ठ रहेको पनि थापाले बताएका छन् ।

यसरी एकले अर्कालाई देखाएर आफ्नो जिम्मेदारीबाट पन्छिने छुट कसैलाई नरहेको भन्दै महामन्त्री थापाले यसको विकल्पका रुपमा आफ्नो धारणा पनि सार्वजनिक गरेका छन् । थापाले विकल्प देखाउँदै भनेका छन्, ‘यसका विकल्पमा कांग्रेसका मन्त्रीहरु सरकारबाट हटेर हालको समाजवादी गठबन्धनलाई सरकार चलाउन दिन सकिन्छ । सरकारलाई समर्थन दिएर कांग्रेसबाट बाहिर अर्थात कुनै पनि मन्त्रीहरु नपठाई बस्न सक्छ । यसो गरिनुपूर्व कति समयसम्म यसरी सरकार हालको समाजवादी मोर्चालाई दिने भन्ने कुराको यकिन गर्न सकिन्छ । यसैगरी बाँकी समय कांग्रेस एक्लैको सरकार बनाउन सकिन्छ । त्यो बेलामा हालको समाजवादी मोर्चाले बाहिर बसेर कांग्रेसको सरकारलाई समर्थन गर्न सक्छ ।’

आफ्नो कुरालाई थप व्याख्या गर्दै थापाले भने, ‘यदि त्यस्तो गरियो भने समाजवादी मोर्चाले आफ्नो कार्यकाल भरी सरकारको संचालन गरी आफ्नै ढंगबाट चलाउन पाउँछ । यस्तो अवस्थामा कांग्रेसमाथि दोष थोपर्ने अवस्था पनि रहन्न । पछि कांग्रेसले बाँकी कार्यकाल एकलौटी ढंगले संचालन गर्दा पनि त्यसको जस, अपजस जे हुन्छ कांग्रेसले एकलौटी रुपमा लिन सक्छ ।’

महामन्त्री थापाको यो धारणाप्रति कांग्रेस सभापति शेरबहादुर देउवाको प्रतिक्रिया आएको छैन । यसैगरी वर्तमान सरकारमा मन्त्री बनेकाहरुले मन्त्री पद गुम्ने डरले आफूले त्यसमा समर्थन जनाउन नसक्ने भन्न सक्ने अवस्था रहे पनि अधिकांश कांग्रेसजन थापाको यो विकल्प राम्रो विकल्प हो भन्ने कुरामा सहमत हुन थालेका छन् । यसो गरियो भने त्यसमा जस अपजस सरकार संचालन गर्ने दलको हुने भएकाले यो पनि एउटा राम्रो विकल्प हुन सक्ने धारणा राख्छन् कांग्रेसका सांसद प्रदीप पौडेल ।
पौडेलका अनुसार यो राम्रो विकल्प हो । ‘यो कुरा महामन्त्री थापाको व्यक्तिगत विचारको रुपमा आए पनि हालको तिक्तताको अवस्थामा यसलाई विकल्पको रुपमा लिन सकिन्छ । मुलुक र जनताको पक्षमा कार्य गर्नुपर्ने अवस्थामा एकले अर्कालाई दोषी देखाएर पन्छिनु भन्दा यो विकल्पमा गई जस, अपजसको भागीदार आफैं बन्ने अवस्थामा पुग्नु ठीक हो ।’ युवा नेता समेत रहेका पौडेल थप्छन् ।
वर्तमान सरकारमा गृहमन्त्री श्रेष्ठको आगमनको शुरुवाति दिनमा थालिएका कार्यहरु भ्रष्टाचारविरोधी रहेको, त्यसले सुशासनको पक्षमा कार्य गर्न सक्ने भन्ने देखाउने संकेत गरेको भन्दै कांग्रेसका नेताहरुले उनको समर्थन पनि गरेका थिए । विभिन्न काण्डहरुको फाइल खोल्दा कांग्रेसजन नै पर्दा पनि उत्साहित देखिएका कांग्रेसजन वर्तमान सरकारको नेतृत्वकर्ता कतिपय फाइलमा आफ्नै दलका नेताहरु पर्न थालेका अवस्थामा फाइल बन्द गर्न पुगेको भनी सरकारको कार्यशैलीप्रति सशंकित हुने अवस्थामा पुगेको स्थिति छ ।
सरकारले राम्रो कार्य गर्नुपर्ने, जनताको पक्षमा कार्य गर्नुपर्ने, जनहितलाई प्राथमिकतामा राख्नुपर्ने, सुशासन दिनुपर्ने जस्ता कुरालाई कांग्रेसका इमान्दार नेता कार्यकर्ताहरुले उठाउने गरेका छन् । उनीहरुले अन्य दलहरु ‘मिसन ८४’ भन्दै अहिलेदेखि हिंडेको अवस्थामा कांग्रेसले ‘मिसन ८०, ८१, ८२, ८३’ भनी राम्रो कार्यहरु सरकारमै भएका बेलामा गरिहाल्नुपर्ने भन्ने पक्षमा आवाज उठाउने गरेका छन् । अरु मिसन ८४ भनी हिंडेको अवस्थामा कांग्रेसले वर्तमानलाई आफ्नो लक्ष्य बनाएर हिंडेको खण्डमा २०८४ सालमा हुने निर्वाचनमा आफ्नो कार्यलाई अघि सारेर कांग्रेस जानुपर्ने भन्ने पक्षमा कांग्रेसका इमान्दार नेता कार्यकर्ता देखिएका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *