काँग्रेसका मन्त्रीहरु भ्रमण र सचिव फेर्न व्यस्त

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा नेपाली काँग्रेसबाट नौजना मन्त्री बनेका छन् । उनीहरु विदेश भ्रमण र सचिव फेर्नमै मस्त रहेको आरोप लाग्न थालेको छ ।

कांग्रेसबाट मन्त्री बन्नेहरुमा पूर्णबहादुर खड्का–उपप्रधान तथा रक्षा, धनराज गुरुङ–कानून, न्याय तथा संसदीय व्यवस्था, प्रकाशशरण महत अर्थ, रमेश रिजाल–उद्योग बाणिज्य तथा आपूर्ति, नारायणप्रसाद साउद परराष्ट्र रहेका छन् । यसैगरी मोहनबहादुर बस्नेत–स्वास्थ्य तथा जनसंख्या, सीता गुरुङ– शहरी विकास, सुरेन्द्र आचार्य महिला, बालबालिका तथा जेष्ठ नागरिक र खेलकुद मन्त्री डिगबहादुर लिम्बु कांग्रेसबाट मन्त्री बनेकाहरु हुन् ।

यी मन्त्रीहरुले सविच फेर्ने र विदेश भ्रमण गर्नुबाहेक सिन्को नभाँचेपछि काँग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्रीहरुलाई फिर्ता बोलाई समाजवादी मोर्चाको सरकारलाई बाहिरैबाट समर्थन गर्ने प्रस्ताव अघि सारेका छन् । काँग्रेसबाट मन्त्री बनेकाहरुले परिणाममुखी काम गर्न नसकी दाहाल नेतृत्व सरकारको अपजसको भारी मात्र बोक्ने र जनताको पक्षमा कुनै काम गर्न नसकेको आरोप लागेको छ । काँग्रेसका मन्त्रीहरुमध्ये महत, साउद र बस्नेत सबैभन्दा बढी विदेश भ्रमण गर्नेमा पर्दछन् भने सचिव फेर्नेमा महत र शहरी विकास मन्त्री सीता गुरुङ रहेका छन् ।

महत अर्थमन्त्री बन्दा तोयम राय अर्थसचिव थिए । उनलाई हटाएर अर्जुन पोख्रेललाई अर्थसचिव बनाएका अर्थमन्त्रीले हालै पोख्रेललाई पनि सरुवा गरी डा. कृष्णहरि पुष्करलाई अर्थ सचिवमा ल्याएका छन् । डाक्टरै–डाक्टरले भरिएको अर्थमन्त्रालय भने राजश्वका कारण रोगी बनेको अर्थात् राजश्व उठ्न नसकेको अवस्थामा रहेको बताइन्छ । यही कारण मुलुक आर्थिक मन्दीमा जाने खतरामा छ ।
उता, शहरी विकास मन्त्री गुरुङले सचिव सुरेश आचार्यलाई हटाएर गत असोज ११ गते अवकाश भएका रविन्द्रनाथ श्रेष्ठलाई चार महिनाका लागि भित्र्याएर आर्थिक चलखेल गरेको मन्त्रालयका जानकारहरुले बताएका छन् । कानून मन्त्री गुरुङ पनि न्यायाधीश नियुक्तीमा विवादमा तानिएका छन् भने स्वास्थ्यमन्त्री बस्नेत पनि विवादमुक्त बन्न सकेका छैनन् ।

अहिले शेखर–गगनको समूहले नयाँ सरकार गठन गर्ने अभियानलाई तीब्र पारेका छन् । गत मंगलबारको संसद बैठकमा एमाले अध्यक्ष खड्गप्रसाद ओलीले प्र.म. दाहालको विकल्प खोज्न आव्हान गरेपछि राजनीति तरंगित बनेको र दशैं लगत्तै सरकार परिवर्तन हुने चर्चा चलेको छ । यसका बाबजुद काँग्रेसले गृहमन्त्री लिएर दाहाल नेतृत्वको सरकारलाई नै काँग्रेस सभापति देउवाले समर्थन गर्ने जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *