भक्तपुर/ भ्रष्टाचार, अनियमितता र विभिन्न प्रकरणमा प्रतिनिधिसभाका चारजना सांसदहरु निलम्बनमा परेका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् सांसद माधवकुमार नेपाल पनि निलम्वनको अवस्थामा पुगेपछि यो संख्या चार पुगेको हो ।
यसअघि नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बनमा परेका थिए । यसैगरी त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि निलम्वित अवस्थामा छन् । यसैगरी नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पनि निलम्वित अवस्थामा छन् ।
माधवकुमार नेपालमाथि काभे्रपलाञ्चोकमा पतञ्जलि योग पीठको जग्गाको विषयमा मुद्दा चलेपछि उनी निलम्वित अवस्थामा पुगेका हुन् । यसैगरी लामिछाने सहकारी ठगी प्रकरणको मुद्दा खेपेपछि निलम्वित अवस्थामा छन् ।
उता रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद पद निलम्बनमा परेका नेता हुन् । माओवादी केन्द्रहुँदै एमालेमा पुगेर सचिव भएका रायमाझी यो ठगी प्रकरणमा मुछिएपछि निलम्वनमा परेका हुन् ।
यता, बस्नेतको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) घोटाला प्रकरणमा मुद्दा खेपेपछि सांसद पद निलम्बनमा परेको थियो ।
