काठमाडौं/ जेनजी समूहको समर्थनमा प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीको नेतृत्वको सरकारमाथि अहिले सोही समूहले निर्वाचनमा बाधा पुग्ने गरी अभिव्यक्ति दिन थालेको अवस्था छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घुसपैठ गर्ने तथा आन्दोलन दबाउनेमाथि सरकारले खासै कारबाही नगरेको गुनासो जेनजी समूहले लगाउन थालेका छन् । उक्त समूहले यस्तै पारामा वर्तमान सरकार चल्ने हो भने आगामी फागुन २१ गते गरिने भनिएको निर्वाचनको औचित्य नहुने धारणा राख्न थालेका छन् ।
आफ्ना मागहरु सरकारसँग राखी सम्झौता समेत गरेका उनीहरुको बुझाइमा वर्तमान सरकार त्यसप्रति अग्रसर नभएको देखिएको बताउन थालेका छन् । जेनजी समूहमा रहेको एक घटक अर्थात मिराज ढुंगानाको समूहले वर्तमान सरकारको औचित्य समाप्त भएको आरोप लगाउन थालेको छ । सडकमा प्रदर्शनी गर्दै ढुंगाना समूहले कार्कीको राजीनामा माग गर्दै प्रतिनिधिसभा पुनस्र्थापनासम्मको पक्षमा आफूहरु रहेको अभिव्यक्ति दिन थालेका छन् । उक्त समूहले भ्रष्टाचारको फाइलहरु खोल्न हालका गृहमन्त्री ओमप्रकाश अर्याल डराएको आरोप पनि लगाउने गरेका छन् । उनीहरुले अर्याल पनि यस्तै चालाबाट चल्ने हो भने बरु राजीनामा गर्नु उचित हुने धारणा राख्न थालेका छन् ।
मुलुकको एकदमै जटिल परिस्थितिमा प्रधानमन्त्री बन्नुभएकी कार्कीकालागि अहिले आएर प्रधानमन्त्री पद ‘नखाऊँ भने दिनभरीको शिकार, खाऊँ भने कान्छाबाबुको अनुहार’ जस्तो बन्न पुगेको छ । निर्वाचनकालागि दलहरु सहमत भए सरकारलाई समस्या नहुने अवस्था भने छ । स्थानहद तथा अन्य कारणले दलहरुलाई निस्कन नदिने सोचमा वर्तमान सरकार रहेको भनी दलहरु निर्वाचनप्रति खासै आकर्षित नभएको बताइएको छ । उता, जेनजीहरुकै जगमा बनेको वर्तमान सरकारले जेनजीहरुकै समेत विश्वास गुमाउँदै गएको अवस्था छ ।
यसअघि २०६२ सालमा राजाले गराएको जस्तो निर्वाचन गराउने प्रयासमा सरकार लागे त्यसले झन अनिष्ठ निम्त्याउने संभावना रहेको बताइन्छ । यस्तो अवस्थामा दलहरु र जेनजी पक्षहरुका बीचमा मुठभेड हुनसक्ने संभावना रहेको आंकलन गरिन थालिएको छ ।
यस क्रममा सुरक्षा निकायले जतिसुकै सुरक्षाको प्रत्याभूति दिने प्रयास गरे पनि नागरिक भने ढुक्क हुन सकेको अवस्था छैन । यहि अवस्थामा पुराना दलका नेता– कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा समेत जान सक्ने अवस्था नरहेको बताइन्छ । यस्तो अवस्थामा सरकारले चुनावी रटान लगाई रहने भन्दा पनि सरोकारवाला सबै पक्षहरुलाई एक ठाउँमा राखी निर्वाचनको विषयमा बहस चलाउनु उचित हुने भन्ने धारणा बुद्धिजीवी वर्गबाट आउन थालेको छ । यस्तै अवस्थामा निर्वाचनको कुरा मात्र गरिएमा यो ‘टाँइ टाँइ फिस’ मा परिणत हुने समाचार स्रोतले बताएको छ ।
जेनजी समूह नै निर्वाचनको बाधक
Facebook Comments Box
