काठमाडौं/ अभिनेता तथा निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको चलचित्र पहाड आगामी वर्ष २०८३ साल बैशाख १ गते अर्थात् नयाँ वर्षको दिनदेखि प्रदर्शनीमा आउने भएको छ ।
यो चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा सुनसान बन्दै गएका पहाडी बस्ती र त्यसले निम्त्याएका सामाजिक–आर्थिक समस्यालाई विषयबस्तु बनाइएको छ । यो चलचित्र समाजको तीतो यथार्थ दर्शकसमक्ष प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको निर्देशक घिमिरेले बताए । वितरकहरूसँग छलफल, अन्तर्राष्ट्रिय प्रदर्शनीको समय मिलान र बाँकी प्राविधिक कामको तालिका हेरेर प्रदर्शनी मिति तय गरिएको उनको भनाइ छ ।
यसअघि बलिदानपछि मदनकृष्ण श्रेष्ठ र चिनोपछि सुनील थापासँग सहकार्य गरिसकेका निर्देशक घिमिरे नयाँ र पुराना पुस्ताको संयोजनले उत्कृष्ट परिणाम दिनेमा विश्वस्त रहेको बताउँछन् । उच्च पहाडमा बस्ती खालि हुँदै गएको कथामा आधारित यस चलचित्रले देशको आवश्यकता तथा नागरिक दायित्वको प्रश्न उठाउने उनको भनाइ छ ।
भाग्यरत्न फिल्म्स् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा विपीन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र सलोना बज्राचार्यलगायत कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई यही चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गराउँदैछन् । यसैगरी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइन सम्हालेकी छिन् । यसैगरी छायाङ्कन प्रमोद प्रधानले गरेका हुन्, जसले यसअघि घिमिरेसँग अन्याय, कोसेली र दक्षिणामा सहकार्य गरिसकेका बताइएको छ ।
चलचित्रका निर्माता भाग्यरत्न फिल्म्स प्रा.लि. अन्तर्गत ओजस्वी के.सी. हुन् । सङ्गीत निर्देशन रञ्जित गजमेर र क्रिएटिभ निर्देशन भारती घिमिरेले सम्हालेका छन ्। सहनिर्मातामा रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग रहेका छन् ।
तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शनीको घोषणा
Facebook Comments Box
