पुराना दलहरू कचिंगलमा: एमालेमा भण्डारी, कांग्रेसमा किचलो

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नेपालका दुई ठूला पुराना राजनीतिक दलहरु नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) यतिबेला गम्भीर आन्तरिक द्वन्द्व, शक्ति संघर्ष र नेतृत्वको असमञ्जसमा फसेका छन् । दशकौँसम्म नेपाली राजनीतिमा निर्णायक प्रभाव राख्दै आएका यी दलहरू अहिले भने नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र संगठनात्मक नियन्त्रणको प्रश्नमा कचिंगलमा परेका देखिन्छन् ।
एमालेभित्र अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको विकल्प खोज्ने बहस तीव्र बन्दै गएको छ । यसैगरी कांग्रेसमा सभापति गगन थापा नेतृत्वको पक्ष र पुराना शक्तिकेन्द्रबीच दूरी बढ्दै गएको विश्लेषण भइरहेको छ । राजनीतिक वृत्तमा अहिले यी दुवै दलको आन्तरिक संघर्षले आगामी राजनीतिक समीकरण र राष्ट्रिय राजनीतिमै प्रभाव पार्ने चर्चा हुन थालेको छ ।
एमालेभित्र पछिल्लो समय दोस्रो पुस्ताका नेताहरू सक्रिय रूपमा नेतृत्व परिवर्तनको बहसमा उत्रिएको देखिन्छ । उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल तथा नेता योगेश भट्टराई लगायतका नेताहरू ओलीपछिको नेतृत्वका सम्भावित दाबेदारका रूपमा हेरिन थालिएका छन् । सार्वजनिक रूपमा उनीहरूले प्रत्यक्ष विद्रोह नगरे पनि पार्टीभित्र ओलीको निरन्तर नेतृत्वप्रति असन्तुष्टि बढेको चर्चा एमाले वृत्तमै सुनिन थालेको छ ।
यसबीच उपाध्यक्ष रामबहादुर थापा भने खुला रूपमा ओलीको पक्षमा देखिएका छन् । तात्कालीन माओवादी पृष्ठभूमिबाट एमालेमा रहेका थापालाई पार्टीभित्रका केही पुराना एमाले नेताहरूले सहज रूपमा स्वीकार नगरेको टिप्पणी पनि हुने गरेको छ । एमालेकै एक स्थायी कमिटी सदस्यलाई उद्धृत गर्दै एक राजनीतिक विश्लेषक भन्छन्, “ओलीको वरिपरि अहिले भरोसायोग्य नेताको दायरा साँघुरिँदै गएको छ । त्यसैले उनी आफूअनुकूल शक्ति सन्तुलन खोजिरहेका छन् ।”
यही सन्दर्भमा पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिक पुनरागमनको चर्चा झन् चुलिएको छ । भण्डारी एमाले राजनीतिमा पुनः सक्रिय हुन चाहिरहेको चर्चा नयाँ होइन । यसअघि पनि उनी नेतृत्व तहमा आउने चाहना राखेको चर्चा थियो । उनको पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर समेत एमालेभित्र मतभेद देखिएको थियो ।
राजनीतिक वृत्तमा ओली भण्डारीलाई पार्टी राजनीतिमा सहज रूपमा भित्र्याउने पक्षमा नरहेको विश्लेषण गरिन्थ्यो । पछिल्ला घटनाक्रमले भने परिस्थिति बदलिँदै गएको संकेत गरेको कतिपयको बुझाइ छ । जेठ ३ गते मदन भण्डारी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्या भण्डारीलाई प्रमुख अतिथि बनाइनुलाई पनि धेरैले सामान्य रूपमा लिएका छैनन् । एमालेभित्रै कतिपयले यसलाई ओलीको ‘रणनीतिक संकेत’ का रूपमा अथ्र्याएका छन् ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, “ओलीले आफू कमजोर बन्दै गएको महसुस गरेका छन् । यस्तो अवस्थामा नेतृत्व आफ्नो प्रत्यक्ष प्रतिस्पर्धी समूहलाई हस्तान्तरण गर्नुभन्दा विद्या भण्डारीजस्तो भावनात्मक र स्वीकार्य व्यक्तित्वलाई अगाडि सारेर शक्ति सन्तुलन कायम गर्ने रणनीति हुन सक्छ ।”
एमालेभित्र अहिले देखिएको शक्ति संघर्ष केवल नेतृत्वको प्रतिस्पर्धा मात्र नभई ‘ओलीपछिको एमाले कस्तो हुने ?’ भन्ने प्रश्नसँग पनि जोडिएको विश्लेषण भइरहेको छ । एकातिर ओलीको भाग्य र संगठन नियन्त्रण छ भने अर्कोतर्फ नयाँ पुस्ताको आकांक्षा र व्यवस्थापनको प्रश्न उठिरहेको छ ।
उता, कांग्रेसभित्र पनि अवस्था कम पेचिलो छैन । विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा आएको कांग्रेसलाई लिएर पार्टीभित्रै असन्तुष्ट धार सक्रिय देखिएको छ । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत थापा नेतृत्वलाई आधिकारिक मान्यता प्राप्त भइसकेको अवस्थामा पनि कांग्रेसमा किचलो कायमै राखिएको छ ।
कांग्रेसका पुराना प्रभावशाली नेताहरू भने थापा नेतृत्वसँग पूर्ण रूपमा सहज देखिएका छैनन् । पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू पार्टीको वर्तमान संरचना र निर्णय प्रक्रियाप्रति सन्तुष्ट नरहेको चर्चा कांग्रेस वृत्तमा चलिरहेको छ ।
थापा नेतृत्वले आगामी १५औँ महाधिवेशनको तयारी, संगठन पुनर्संरचना र पुस्तान्तरणको अजेन्डालाई प्राथमिकता दिइरहेको बेला पुराना नेताहरूले समानान्तर गतिविधि बढाएको आरोप थापा निकट नेताहरूको छ । काठमाडौंमा छुट्टै सम्पर्क कार्यालय सञ्चालन गरिएको विषयलाई समेत कांग्रेसभित्रको शक्ति संघर्षको संकेतका रूपमा हेरिएको छ ।
राजनीतिक विश्लेषक हरि रोका भन्छन्, “कांग्रेसभित्र अहिले मूल संघर्ष विचारको भन्दा पनि पुस्ता परिवर्तनको हो । पुरानो नेतृत्व आफ्नो प्रभाव जोगाउन चाहन्छ भने नयाँ पुस्ता निर्णायक रूपमा नेतृत्व सम्हाल्न चाहन्छ ।”
कतिपय राजनीतिक वृत्तमा असन्तुष्ट समूहले नयाँ दल गठन गर्न सक्ने चर्चा पनि चलिरहेको छ यद्यपि त्यसबारे औपचारिक निर्णय वा घोषणा भइसकेको छैन । कांग्रेसभित्रका धेरै शुभेच्छुक र दोस्रो तहका नेताहरू भने विभाजन वा समानान्तर शक्ति केन्द्र निर्माणले पार्टीलाई थप कमजोर बनाउने चेतावनी दिइरहेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले भने सार्वजनिक रूपमा अदालत र संवैधानिक निकायबाट मान्यता प्राप्त नेतृत्वलाई स्वीकार गर्नुपर्ने धारणा राखेका छन् । उनले लोकतान्त्रिक प्रक्रियाबाट स्थापित संरचनालाई अस्वीकार गरेर अघि बढ्न खोज्नु उचित नहुने बताएका छन् ।
विश्लेषकहरूका अनुसार अहिले एमाले र कांग्रेस दुवै दल एउटै प्रकारको संक्रमणबाट गुज्रिरहेका छन् । दशकौँसम्म एउटै नेतृत्व वरिपरि घुमेका यी दलहरू अब पुस्तान्तरण र नेतृत्व व्यवस्थापनको कठिन मोडमा पुगेका छन् । नयाँ पुस्तालाई स्थान दिने कि पुरानै संरचनालाई कायम राख्ने भन्ने प्रश्नले दुवै दललाई असहज बनाएको देखिन्छ ।
पछिल्ला राजनीतिक घटनाक्रमले पुराना दलहरूको संगठनात्मक कमजोरी, आन्तरिक अविश्वास र नेतृत्व संकटलाई सतहमा ल्याएको टिप्पणी हुन थालेको छ । विशेषगरी युवा पुस्तामा वैकल्पिक राजनीतिक शक्तिप्रति आकर्षण बढिरहेका बेला पुराना दलभित्रको किचलोले उनीहरूको विश्वसनीयतामै प्रश्न उठाउन थालेको विश्लेषकहरूको भनाइ छ ।
राजनीतिक टिप्पणीकार चन्द्रकिशोर भन्छन्, “दलहरूभित्र स्वस्थ प्रतिस्पर्धा हुनु लोकतन्त्रका लागि राम्रो हो । नेतृत्व संघर्ष व्यक्तिगत प्रतिशोध, गुटीय स्वार्थ र शक्ति कब्जाको रूपमा विकसित भयो भने त्यसले दललाई मात्र होइन, समग्र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउँछ ।”
अहिलेको अवस्था हेर्दा एमालेमा ओलीपछिको शक्ति समीकरण कसरी बन्छ र कांग्रेसमा गगन थापा नेतृत्वले पुरानो पुस्तासँग कसरी सहकार्य कायम गर्छ भन्ने प्रश्न नै नेपाली राजनीतिका आगामी दिनका प्रमुख चासोका विषय बनेका छन् । पुराना दलहरूभित्रको यही कचिंगलले अबको राजनीतिक दिशा निर्धारण गर्ने संकेत देखिन थालेको छ ।
यसैबीच सत्तापक्ष अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्षी दलहरुलाई पेलेको महसुस प्रतिपक्षी दलहरुले गर्न थालेका छन् । केन्द्रमा रास्वपाले पेलेको अवस्थामा प्रदेशमा रास्वपालाई टक्कर दिनुपर्ने पक्षमा कांग्रेस, एमाले तथा नेकपा देखिएका छन् । त्यसैले उनीहरुले त्रिपक्षीय वार्तालाई अघि बढाएको अवस्था छ ।
प्रदेशमा हाल चारवटा प्रदेशको नेतृत्व कांग्रेसले गरिरहेको छ । यसैगरी तीनवटामा एमालेको नेतृत्व छ । यस्तो स्थितिलाई ख्याल गरी सुदूरपश्चिम प्रदेशमा नेकपालाई नेतृत्व दिने गरी तीन दलका बीचमा सल्लाह हुन थालेको बताइएको छ । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले यसको लागि पहल गर्दै आएको तथा कांग्रेसका शीर्ष नेताहरु पनि सकारात्मक रहेको बताइएको छ ।
कांग्रेसले पूर्वसहमति अनुसार प्रदेशको नेतृत्व हेरफेरका लागि एमालेसँग कुरा गरिरहेको हो । यही सन्दर्भमा ओलीले भने तीनवटै दल मिलेर जानुपर्ने अवस्था आएको भनी भन्न थालेको पनि स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *