निराशाको बजेटः जनताको विपक्षमा बालेन सरकार

Nayabimarsha (Weekly Newspaper from Nepal)

डम्बर बहादुर डाँगी
नेपालमा बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपछि जनताले सबैभन्दा बढी प्रतीक्षा गर्ने कुरा भनेकै बजेट हो । सरकारका नीतिहरू, प्राथमिकताहरू र जनताप्रतिको उत्तरदायित्व सबैभन्दा स्पष्ट रूपमा बजेटमार्फत नै प्रकट हुन्छन् । त्यसैले जब बालेन नेतृत्वको सरकार गठन भयो र अर्थ मन्त्रालयको जिम्मेवारी डा. स्वर्णिम वाग्लेले सम्हाले, तब सर्वसाधारणदेखि व्यवसायी, किसानदेखि युवा तथा कर्मचारीदेखि श्रमिकसम्म सबैले ठूलो अपेक्षा गरेका थिए । धेरैले सोचेका थिए कि विगतका कमजोरी दोहोरिने छैनन् । बजेट जनताको जीवनसँग प्रत्यक्ष जोडिनेछ, करको भार घट्नेछ, महँगी नियन्त्रणका उपाय आउनेछन् र राज्यको खर्च प्रणालीलाई थप उत्तरदायी बनाइनेछ भन्नेमा जनतामा आशा पलाएको थियो ।
यही २०८३ साल जेठ १५ गते बजेट सार्वजनिक हुने दिनसम्म पनि जनताले ठूलो आशाका साथ बजेटको प्रतीक्षा गरेका थिए । बजेटमा अर्थमन्त्री डा. वाग्लेले प्रयोग गरेको भाषाशैलीले सबैलाई मोहित पारेको थियो । उनले आफ्नो बजेट भाषणको प्रस्तुतिलाई पनि आकर्षक बनाएका थिए । सुन्दा सुनिरहँु जस्तो गरी प्रस्तुति रहे पनि विभिन्न क्षेत्रबाट उठेका प्रतिक्रिया हेर्दा अपेक्षा र यथार्थबीचको दूरी निकै फराकिलो देखिएको छ । सरकारका समर्थकहरूले यसलाई सुधार र राजस्व व्यवस्थापनको प्रयास भने पनि आलोचकहरूले भने यसलाई जनमुखीभन्दा बढी करमुखी बजेटका रूपमा व्याख्या गर्न थालेका छन् ।
सबैभन्दा बढी चर्चा भएको विषयमध्ये एक हो विद्युत् उपभोगमा थपिएको मूल्य अभिवृद्धि कर । ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर लगाउने व्यवस्थाले धेरैलाई झस्काएको छ । नेपालको सन्दर्भमा अहिले विद्युत् विलासिताको बस्तु होइन, दैनिक जीवनको आधारभूत आवश्यकता बनिसकेको छ । खाना पकाउनेदेखि अध्ययन, व्यवसाय सञ्चालनदेखि सूचना प्रविधिको प्रयोगसम्म सबै कुरा विद्युत्सँग जोडिएका छन् । सरकारले एकातिर विद्युतीय उपकरण प्रयोग गर्न प्रोत्साहन गर्ने र अर्कोतिर विद्युत् प्रयोगमै थप कर लगाउने नीति ल्याउँदा त्यसले नीति र सामञ्जस्यतामाथि नै प्रश्न उठाएको छ ।
सरकारले यसलाई राजस्व संकलनको उपायका रूपमा हेरे पनि यसको प्रत्यक्ष प्रभाव भने मध्यमवर्गीय र निम्न मध्यमवर्गीय परिवारमाथि पर्ने देखिन्छ । आज शहरका अधिकांश परिवारले सहजै ५० युनिटभन्दा बढी विद्युत् खपत गर्छन् । त्यसैले यो कर धनीलाई मात्र होइन, आम नागरिकलाई समेत प्रभावित गर्ने खालको देखिएको छ । विद्युत्को खर्च बढ्दा त्यसको प्रभाव अन्य सेवामा पनि पर्ने भएकाले अन्ततः महँगी बढ्ने चिन्ता स्वाभाविक रूपमा उठेको छ ।
त्यसैगरी सरकारी कर्मचारीको तलब तथा भत्ता वृद्धिलाई पनि धेरैले मिश्रित दृष्टिले हेरेका छन् । कर्मचारीहरूका लागि तलब वृद्धि स्वागतयोग्य विषय हुन सक्छ । बढ्दो जीवनयापन खर्चका कारण उनीहरू पनि दबाबमा छन् । नेपालको आर्थिक संरचना हेर्दा सरकारी तलब वृद्धिले बजारमा थप मुद्रा प्रवाह गराउने र त्यसले बस्तु तथा सेवाको मूल्यवृद्धि गराउने जोखिम पनि उत्तिकै रहने गर्छ । विगतमा पनि यस्ता अनुभव देखिएका छन् जहाँ तलब बढेको केही समयमै दैनिक उपभोग्य बस्तुहरूको मूल्य बढ्न थालेको थियो ।
यस अवस्थामा प्रश्न उठ्छ कि तलब बढेको लाभ कर्मचारीले पाए कि बजारले ? यदि बजारमा मूल्यवृद्धि तीव्र भयो भने कर्मचारीले पाएको अतिरिक्त रकमको वास्तविक मूल्य घट्नेछ भने तलब नपाउने ठूलो जनसंख्या अझ बढी मारमा पर्नेछ । नेपालमा सरकारी कर्मचारीको संख्या सीमित छ तर महंगीको असर भोग्ने जनता करोडौँ छन् । त्यसैले तलब वृद्धिसँगै मूल्य नियन्त्रणको प्रभावकारी नीति नल्याइए यो निर्णय पनि अन्ततः जनविरोधी सावित हुन सक्ने आशंका व्यक्त गरिएको छ ।
शिक्षा क्षेत्रमा ल्याइएको ३ प्रतिशत ‘शिक्षा समता कर’ पनि विवादको अर्को विषय बनेको छ । यसको उद्देश्य शिक्षा क्षेत्रमा समानता र स्रोत व्यवस्थापन भएको दाबी गरिए पनि व्यवहारमा यसको भार अभिभावकमाथि नै पर्ने देखिन्छ । निजी विद्यालयले आफूले तिर्नुपर्ने अतिरिक्त कर शुल्कमा वृद्धि गरेर विद्यार्थीबाट असुल्ने सम्भावना प्रबल हुन्छ । नेपालमा निजी विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी धनी परिवारका मात्र होइनन्; मध्यमवर्गीय परिवारले पनि ठूलो त्याग गरेर आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेका छन् ।
यदि विद्यालय शुल्क बढ्यो भने त्यसको प्रत्यक्ष असर अभिभावकको आर्थिक अवस्थामा पर्नेछ । शिक्षा अझ महंगो बन्दै जाँदा गुणस्तरीय शिक्षामा पहुँचको समस्या झन् गम्भीर बन्न सक्छ । शिक्षा क्षेत्रमा सुधारको आवश्यकता भए पनि कर थप्ने उपायभन्दा सार्वजनिक विद्यालयको गुणस्तर सुधार, नियमन सुदृढीकरण र शैक्षिक असमानता घटाउने अन्य उपाय बढी प्रभावकारी हुन सक्थे भन्ने तर्क उठ्न थालेको छ ।
बजेटको अर्को आलोचना यसको प्राथमिकतासँग सम्बन्धित छ । धेरैले अपेक्षा गरेका थिए कि कृषि, उत्पादन, रोजगारी सिर्जना, युवा उद्यमशीलता र स्थानीय अर्थतन्त्रलाई केन्द्रमा राखिनेछ । बजेटका विभिन्न प्रावधान हेर्दा जनताको प्रत्यक्ष आयवृद्धि गर्नेभन्दा कर संकलन र प्रशासनिक खर्च व्यवस्थापनतर्फ बढी ध्यान गएको टिप्पणी सुनिन थालेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने किसान, वैदेशिक रोजगारीबाट फर्किएका युवा तथा साना व्यवसायीले प्रत्यक्ष राहत महसुस गर्ने खालका कार्यक्रम पर्याप्त नदेखिएको गुनासो पनि बढ्दो छ ।
राजनीतिमा लोकप्रियता केवल नाराबाट प्राप्त हुँदैन । जनताले आफ्नो दैनिक जीवनमा परिवर्तन अनुभव गर्न सके मात्र सरकारप्रति विश्वास बढ्छ । खानेकुराको मूल्य बढिरहेको अवस्थामा, घरभाडा महंगो भइरहेको अवस्थामा, स्वास्थ्य र शिक्षाको खर्च बढिरहेको अवस्थामा जनताले बजेटबाट राहत खोजेका थिए । अहिले उठिरहेका प्रतिक्रियाले त्यो राहतको अनुभूति कम र थप आर्थिक दबाबको अनुभूति बढी भएको संकेत गरिरहेका छन् ।
यसले सरकारको लोकप्रियतामाथि पनि असर पार्न थालेको देखिन्छ । नयाँ राजनीतिक शक्तिप्रति जनतामा रहेको उत्साहको एउटा कारण पुराना शैलीबाट दिक्क भएर परिवर्तनको अपेक्षा गर्नु थियो । यदि जनताले आफ्नो जीवनमा सुधारको सट्टा थप बोझ महसुस गर्न थाले भने त्यो उत्साह क्रमशः निराशामा बदलिन सक्छ । सरकारप्रति बढेको आशा नै अहिले आलोचनाको प्रमुख कारण बनेको देखिन्छ । अपेक्षा ठूलो हुँदा निराशा पनि ठूलो हुने गर्छ ।
निःसन्देह, कुनै पनि बजेट सबैलाई सन्तुष्ट पार्ने दस्तावेज हुन सक्दैन । राज्य सञ्चालनका लागि राजस्व आवश्यक हुन्छ र आर्थिक चुनौतीहरू पनि वास्तविक छन् । कर बढाउने, शुल्क थप्ने र खर्च बढाउने निर्णयहरू गर्दा त्यसको सामाजिक प्रभावलाई गम्भीर रूपमा मूल्यांकन गर्नुपर्छ । जनताको क्रयशक्ति घटिरहेको बेला थप आर्थिक भार थोपर्ने नीति दीर्घकालीन रूपमा राजनीतिक र आर्थिक दुवै दृष्टिले महंगो पर्न सक्छ ।
आज उठिरहेका प्रश्नहरूको सार एउटै छ कि यो बजेटले राज्यको आम्दानी बढाउने प्रयास त ग¥यो, तर के यसले जनताको जीवन सहज बनाउने पर्याप्त प्रयास ग¥यो ? यदि यसको उत्तर जनताले ‘हो’ भन्न सकेनन् भने यो बजेट आर्थिक दस्तावेज मात्र होइन, सरकारको लोकप्रियतामाथि प्रश्नचिह्न खडा गर्ने राजनीतिक दस्तावेज पनि बन्न सक्छ । जनताको आशा अझै समाप्त भएको छैन, तर त्यो आशालाई जोगाइराख्न सरकारले बजेट कार्यान्वयनको क्रममा जनताको पीडा सुन्न र आवश्यक सुधार गर्न ढिलो गर्नु हुँदैन ।
विदेशमा रहेका नेपालीजनले पनि वर्तमान बजेटलाई निकै नै चासोका साथ हेरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सरकार बन्नका लागि विदेशमा रहेका नेपालीजनको ठूलो भूमिका रहेको कुरालाई नकार्न सकिँदैन । गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा मतदान गर्नका लागि हामी जस्ता विदेशमा रहेका नेपालीजनको भूमिकालाई कम आँक्न मिल्दैन ।
यो कुराको जानकारी उक्त पार्टीको नेतृत्वलाई पनि छ । विदेशमा रहेका नेपालीजनको विभिन्न खालको साथ, सहयोग र समर्थनले करिब दुई तिहाईको वर्तमान सरकार बनेको हो । वर्तमान सरकार बन्नुमात्र ठूलो कुरा होइन किनकि वर्तमान सरकारले जनचाहना बमोजिमको कार्य गर्न सक्नुपर्ने हुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बाट धेरै नै अपेक्षा गरिएको थियो । यसैगरी एकदमै विद्वान् भन्ने गरिएका डा.स्वर्णिम वाग्ले अर्थमन्त्री बनेपछि त नेपालको अर्थतन्त्रले कायापलट नै गर्ने अपेक्षा गरिएको थियो । बजेटलाई हेर्दा भने आशा जति सबै नै निराशामा परिणत भएको देखिन्छ ।
त्यसैले वर्तमान सरकारले आफ्नो जनविरोधी कार्यलाई तत्कालै सच्याउनु जरुरी छ । सरकार गठन हुनासाथ विभिन्न सुकुम्वासी बस्तीमा रहेका मानिसहरुको उठिबास लगाउने कार्य बालेन नेतृत्वको वर्तमान सरकारले गरेको छ । यसैगरी निजामती कर्मचारी, विद्यार्थी संगठन, व्यापारी वर्गलगायतलाई सताउने कार्य गरेको छ । वर्तमान सरकारको यो चाला सही छैन ।
सरकारले न्यायपालिकालाई समेत आप्mनो प्रभावमा पार्न थालेको जस्तो देखिएको छ । हालै भएको प्रधानन्यायाधीश नियुक्ति प्रकरण पनि विवादरहित बन्न सकेन । यसैगरी विभिन्न राजनीतिक नेताहरु तथा उद्योगी– व्यवसायीमाथि भएका धरपकडले पनि वर्तमान सरकारको चाला ठीक नभएको संकेत गरिरहेको छ ।
त्यसैले यस्ता जनविरोधी कार्यहरुलाई बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले तुरुन्तै सच्याउनु पर्छ । सरकारले आपूmलाई सच्याएन भने जनता फेरि सरकारको विरुद्धमा उत्रिनुपर्ने अवस्थामा पुग्ने निश्चित छ । जनताको बलभन्दा सरकारको बल ठूलो हुन सक्दैन । प्रजातन्त्रको मूल मर्म नै जनताको विश्वास जित्नु हो । विभिन्न फूलबुट्टा भरेर बजेट ल्याउने, सरकार चलाउने जस्ता कार्य मात्र गरिनु ठूलो कुरा होइन । (दाङ जिल्ला साबिक गोल्टाकुरी गा.वि.स.वडा नं.८ परिवर्तित दंगीशरण गाउँपालिका वडा नं.२ स्थायी ठेगाना भएका लेखक डाँगी हाल बेलायतमा बस्दै आउनु भएको छ ।)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *