कांग्रेसः एकताको बाटो कि विभाजनको जोखिम ?

Nayabimarsha (Weekly Newspaper from Nepal)
चन्द्रप्रसाद लुइँटेल

नेपालको लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक मूल्य र संवैधानिक विकासको इतिहासलाई नियाल्दा नेपाली कांग्रेसको भूमिका सबैभन्दा महत्वपूर्णमध्ये एक मानिन्छ । राणा शासनविरुद्धको आन्दोलनदेखि पञ्चायत विरोधी संघर्ष, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा कांग्रेसले नेपालको राजनीतिक यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । विडम्बना, देशको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दलले आफ्नो इतिहासको अधिकांश समय बाह्य चुनौतीभन्दा बढी आन्तरिक विवाद, गुटबन्दी र नेतृत्व संघर्षसँग जुध्दै बिताएको छ ।
आज फेरि कांग्रेस त्यही मोडमा उभिएको देखिन्छ । विशेष महाधिवेशनपछि नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै गगनकुमार थापा सभापतिमा आएपछि पार्टीभित्र नयाँ आशा, नयाँ ऊर्जा र नयाँ बहसको वातावरण बनेको छ । अर्कोतर्फ पूर्वसंस्थापन पक्षसँग निकट मानिने पूर्णबहादुर खड्का, शेखर कोइरालालगायतका नेताहरू विभिन्न जिल्लामा भेला, छलफल र समानान्तर राजनीतिक गतिविधिमा सक्रिय देखिएका छन् । यही पृष्ठभूमिमा उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको दूरी अन्त्य गर्न सात बुँदे मेलमिलाप प्रस्ताव अघि सारेको चर्चा कांग्रेस वृत्तमा व्यापक बनेको छ ।
शर्माले अघि सारेका भनिएका सात बुँदाहरूको सार हेर्दा ती कुनै एक पक्षलाई पराजित गर्नेभन्दा पनि पार्टीभित्र संवाद पुनःस्थापित गर्ने, नेतृत्व परिवर्तनलाई सहज रूपमा स्वीकार गर्ने, असन्तुष्ट पक्षलाई सम्मानजनक स्थान दिने तथा कांग्रेसलाई पुनः एकताबद्ध बनाउने उद्देश्यबाट प्रेरित देखिन्छन् । वास्तवमा कांग्रेस अहिले व्यक्तिहरूको प्रतिस्पर्धाभन्दा पनि विचार, पुस्ता र राजनीतिक शैलीको संक्रमणकालमा छ । यस्तो बेला संवादभन्दा टकराव रोजियो भने त्यसको मूल्य कुनै एक नेताले होइन, सिंगो पार्टीले चुकाउनुपर्ने हुन्छ ।
कांग्रेसको इतिहास हेर्दा फुट र विभाजनले कहिल्यै पनि पार्टीलाई फाइदा पु¥याएको देखिँदैन । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायतका नेताहरूबीचका मतभेदले विभिन्न कालखण्डमा पार्टीलाई कमजोर बनाएको इतिहास छ । विशेषगरी कांग्रेस विभाजित भएर नेपाली कांग्रेस -प्रजातान्त्रिक) बनेको घटनाले कांग्रेसलाई निर्वाचनमा ठूलो क्षति पु¥याएको थियो । अन्ततः विभाजित शक्ति पुनः एकतामा फर्किन बाध्य भएको यथार्थ अझै ताजै छ ।
विगतका निर्वाचन परिणामहरूले पनि कांग्रेसलाई एउटा स्पष्ट सन्देश दिएका छन् । कांग्रेस जब एकजुट भयो, उसले जनमत प्राप्त ग¥यो । जब गुटगत स्वार्थ हावी भयो, मतदाता निराश बने । पछिल्ला वर्षहरूमा कांग्रेसले अपेक्षित जनविश्वास कायम राख्न नसक्नुको एउटा प्रमुख कारण पनि आन्तरिक विवाद र नेतृत्वप्रतिको असन्तुष्टि नै हो । जनताले सरकारको विकल्प खोज्दा कांग्रेसतर्फ हेरे, तर कांग्रेसभित्रकै विवादले त्यो विश्वासलाई पूर्ण रूपमा रूपान्तरण गर्न सकेन ।
यही पृष्ठभूमिमा पछिल्ला वर्षहरूमा देखिएको …जेनेरेसन जेडÚ अथवा युवा पुस्ताको राजनीतिक असन्तुष्टि विशेष महत्वको विषय बनेको छ । परम्परागत राजनीतिक दलहरूको कार्यशैलीप्रति प्रश्न उठाउँदै नयाँ पुस्ताले वैकल्पिक राजनीतिक आवाजलाई समर्थन गर्न थालेको अवस्था छ । युवा मतदाताहरूले केवल पुराना नाम होइन, परिणाम र कार्यसम्पादन खोजिरहेका छन् । यही कारण कांग्रेसभित्र पनि नयाँ नेतृत्वको माग बलियो बन्दै गएको थियो ।
गगन थापाको उदयलाई धेरैले यही पुस्तान्तरणको प्रतीकका रूपमा हेरेका छन् । उनले प्रतिनिधित्व गर्ने राजनीतिक पुस्ता कांग्रेसभित्रको नयाँ सोच, नयाँ ऊर्जा र नयाँ शैलीको प्रतिनिधित्व गर्ने दाबी गर्छ । नयाँ नेतृत्व आउनु मात्र पर्याप्त हुँदैन । त्यो नेतृत्वलाई स्वीकार गर्ने राजनीतिक संस्कार पनि आवश्यक हुन्छ । यदि नेतृत्व परिवर्तनलाई हार–जीतको दृष्टिले मात्र हेरियो भने कांग्रेस फेरि पुरानै चक्रमा फस्ने जोखिम रहन्छ ।
यतिबेला इतर पक्षका नेताहरूले विभिन्न स्थानमा गर्दै आएका भेला र छलफललाई दुई कोणबाट हेर्न सकिन्छ । पहिलो, लोकतान्त्रिक दलभित्र विचार व्यक्त गर्ने स्वतन्त्र अधिकारका रूपमा। दोस्रो, यदि ती गतिविधिहरू पार्टी नेतृत्वलाई चुनौती दिने समानान्तर शक्ति निर्माणतर्फ केन्द्रित भए भने त्यसले पार्टीभित्र अविश्वास बढाउने माध्यमका रूपमा । त्यसैले यस्ता गतिविधिहरूको उद्देश्य पार्टी सुदृढीकरण हुनुपर्छ, विभाजनको मनोविज्ञान होइन ।
विश्वप्रकाश शर्माको सातबुँदे प्रस्तावको महत्व यहीँ छ । उनले अघि सारेको सन्देशको मूल भाव संवाद, सहकार्य र सम्मानजनक सहअस्तित्व हो । कुनै पनि ठूलो राजनीतिक दलमा मतभेद हुनु स्वाभाविक हो, तर मतभेदलाई मनभेदमा परिणत हुन दिनु घातक हुन्छ । कांग्रेसले विगतमा यही गल्ती बारम्बार दोहो¥याएको छ । अहिले फेरि त्यही गल्ती दोहोरिने हो भने त्यसको प्रत्यक्ष लाभ प्रतिद्वन्द्वी दलहरूलाई पुग्नेछ ।
नेपालको वर्तमान राजनीतिक अवस्था पनि कांग्रेस एकजुट हुनुपर्ने पक्षमा बलियो तर्क प्रस्तुत गर्छ । देशको राजनीति अस्थिरता, वैचारिक अन्योल र जनविश्वासको संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा लोकतान्त्रिक शक्तिको नेतृत्व गर्ने दाबी गर्ने कांग्रेस आफैं विभाजित देखियो भने जनतामा झन् निराशा बढ्नेछ । लोकतन्त्रको संस्थागत सुदृढीकरणका लागि पनि कांग्रेस बलियो र एकताबद्ध रहन आवश्यक छ ।
आज धेरै नागरिकले अझै पनि नेपालको लोकतान्त्रिक राजनीतिको मुख्य आधार कांग्रेसलाई नै मान्ने गर्छन् । उनीहरू कांग्रेसबाट केवल सत्ता राजनीति होइन, लोकतान्त्रिक मूल्य, सुशासन र राष्ट्रिय दृष्टिकोणको अपेक्षा गर्छन् । त्यसैले कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा पार्टी बलियो बनाउने माध्यम बन्नुपर्छ, पार्टी कमजोर बनाउने कारण होइन ।
अब कांग्रेसका सबै नेताहरूले बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि पद स्थायी हुँदैन, तर संस्था स्थायी हुन्छ । व्यक्तिभन्दा पार्टी ठूलो हो र पार्टीभन्दा देश ठूलो हो । यही भावनाले कांग्रेसलाई यहाँसम्म ल्याएको हो । यदि व्यक्तिगत महत्वाकांक्षा, गुटीय आग्रह र पुराना रिसइबीलाई केन्द्रमा राखेर राजनीति गरियो भने कांग्रेसले फेरि पनि ठूलो मूल्य चुकाउनुपर्नेछ ।
आगामी १५औँ महाधिवेशनलाई पनि यही दृष्टिले हेर्न आवश्यक छ । महाधिवेशन कुनै युद्धभूमि होइन, लोकतान्त्रिक प्रतिस्पर्धाको उत्सव हो । त्यहाँ नयाँ नेतृत्व चयन हुन सक्छ, पुरानो नेतृत्वको निरन्तरता हुन सक्छ, नयाँ समीकरण बन्न सक्छ । परिणाम जे आए पनि सबै पक्षले स्वीकार गर्ने संस्कार विकसित गर्नुपर्छ । कांग्रेसभित्र लोकतन्त्र बलियो भयो भने मात्र देशमा लोकतान्त्रिक मूल्य बलियो बन्न सक्छ ।
त्यसैले आजको आवश्यकता कसले जित्यो र कसले हा¥यो भन्ने बहस होइनÙ कांग्रेसलाई कसरी पुनः जनविश्वासको केन्द्र बनाउने भन्ने हो । त्यसका लागि गगन थापादेखि शेखर कोइराला, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र अन्य सबै नेताहरूले आ–आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ । इतिहासले दिएको शिक्षा, निर्वाचनले दिएको सन्देश र नयाँ पुस्ताले व्यक्त गरेको असन्तुष्टिलाई गम्भीर रूपमा आत्मसात् गर्दै कांग्रेसले एकताको बाटो रोज्नुपर्छ ।
यदि कांग्रेस फेरि एक पटक ढिक्का भएर अघि बढ्न सक्यो भने उसले केवल आफ्नो संगठनलाई मात्र होइन, नेपालको लोकतान्त्रिक राजनीतिलाई पनि नयाँ दिशा दिन सक्छ । यदि आन्तरिक विवादलाई नै प्राथमिकता दिइरह्यो भने अवसर गुम्नेछ र त्यसको मूल्य सिंगो लोकतान्त्रिक आन्दोलनले चुकाउनुपर्नेछ । आजको सन्देश स्पष्ट छ कि कांग्रेसलाई बलियो बनाउने बाटो विभाजन होइन, संवाद, सहकार्य र एकता हो । यही मार्गले मात्र कांग्रेसलाई पुनः जनताको भरोसाको केन्द्रमा स्थापित गर्न सक्छ । -लेखक लुइँटेल अधिवक्ता हुनुहुन्छ)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *