भक्तपुर/ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को आगामी महाधिवेशनमा युवा पर्यटन व्यवसायीले पनि उम्मेदवारी दिने भएका छन् । समाजसेवी समेत रहेका सुदामा कार्की क्षत्रीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
चितवनमा असार ७, ८ र ९ गते आयोजना हुने पार्टीको महाधिवेशनलाई लक्षित गर्दै कार्कीले आफूलाई केन्द्रीय सदस्य पदका आकांक्षीका रूपमा अघि सारेका हुन् । पार्टी संगठनलाई थप प्रभावकारी, जनउत्तरदायी र सशक्त बनाउने उद्देश्यसहित उम्मेदवारी दिन लागेको उनले बताएका छन् । रास्वपाको काठमाडौं महानगर अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित कार्की लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय रहँदै आएका छन् । पर्यटन क्षेत्रको अनुभव, व्यवस्थापकीय दक्षता तथा निजी क्षेत्रसँगको सहकार्यलाई राजनीतिक नेतृत्वमार्फत राष्ट्रिय विकासमा उपयोग गर्न सकिने विश्वास उनको छ ।
कार्की हाल लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच नेपालका फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नरका रूपमा समेत कार्यरत छन् । सामाजिक सेवा, नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका विविध क्षेत्रमा उनले सक्रिय योगदान पु¥याउँदै आएका छन् । विशेषगरी असहाय तथा विपन्न बालबालिकाको शिक्षा र संरक्षणका क्षेत्रमा उनको संलग्नता उल्लेखनीय मानिन्छ । उनी लामो समयसम्म विश्वभाषा क्याम्पसमा जर्मन भाषा अध्यापनसँग समेत आवद्ध रहेका थिए ।
राजनीतिक रूपमा सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्कीले युवा, व्यावसायिक तथा सामाजिक क्षेत्रका सक्षम व्यक्तिहरूको राजनीतिमा सहभागिताले सकारात्मक परिवर्तन सम्भव हुने धारणा राखेका छन् । उनले पार्टीभित्र नेतृत्व चयन गर्दा अनुभव, कार्यक्षमता र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई प्रमुख आधार बनाइनुपर्ने बताएका छन् । संगठन विस्तार र जनविश्वास अभिवृद्धिका लागि आफू निरन्तर सक्रिय रहने उनको भनाइ छ ।
विश्वका दर्जनौं मुलुकको भ्रमण गरिसकेका कार्कीले अन्तर्राष्ट्रिय अनुभवलाई पनि राजनीतिक र सामाजिक नेतृत्वमा उपयोग गर्ने लक्ष्य लिएको बताएका छन् । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका क्रममा रास्वपाका उम्मेदवारहरूको पक्षमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले पार्टीलाई थप मजबुत बनाउने अभियानमा आफू निरन्तर लागिपर्ने बताएका छन् ।
पर्यटन, सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा हासिल अनुभवका आधारमा पार्टीको केन्द्रीय तहमा जिम्मेवारी प्राप्त गर्ने विश्वास व्यक्त गरेका कार्कीलाई उनका समर्थकहरूले पनि सक्षम, अनुभवी र सक्रिय नेतृत्वका रूपमा प्रस्तुत गर्दै आएका छन् ।
रास्वपामा सुदामाको उम्मेदवारी
Facebook Comments Box
