कांग्रेसलाई फुटबाट जोगाउने प्रयास: कोइराला मोहरा रुख जता, कांग्रेस उता

Nayabimarsha (Weekly Newspaper from Nepal)
राजु अर्याल

भक्तपुर/ नेपाली कांग्रेसको आन्तरिक विवाद अब केवल नेतृत्व परिवर्तनको असन्तुष्टि वा दुई नेताबीचको मतभेदमा सीमित छैन । विशेष महाधिवेशनमार्फत गगनकुमार थापा नेतृत्वमा आएपछि त्यसलाई अस्वीकार गर्दै आएको समूहले निरन्तर अलग्गै राजनीतिक गतिविधि अघि बढाइरहेपछि कांग्रेसभित्रको विवाद नयाँ मोडमा पुगेको छ । यही क्रममा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला गर्ने तयारीले पार्टीभित्रको शक्ति संघर्षलाई थप सतहमा ल्याएको छ ।
इतर पक्षका नेताहरूको पहलमा बोलाइएको भनिएको उक्त भेलाको संयोजकमा पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई अघि सारिएको छ । बीपी कोइरालाका पुत्रसमेत रहेका शशांकलाई संयोजक बनाएर ५०१ सदस्यीय आयोजक समिति गठन गरिएको भनिए पनि समितिमा राखिएका केही व्यक्तिले आफ्नो सहमति नलिई नाम समावेश गरिएको भन्दै बाहिरिन थालेको चर्चा छ । यसले भेलाको तयारीमै प्रश्न उठाएको छ ।
भेलाका आयोजकहरूले यसको उद्देश्य पार्टी विभाजन नभई कांग्रेसभित्र एकताको वातावरण निर्माण गर्नु र विशेष महाधिवेशनबाट उत्पन्न विवादको राजनीतिक समाधान खोज्नु रहेको बताउँदै आएका छन् । कांग्रेसभित्रै अर्कोथरीको बुझाइ छ कि यदि असन्तुष्ट समूह र नयाँ नेतृत्वबीचको दूरी घटेन भने यही भेला क्रमशः समानान्तर संगठन निर्माण हुँदै अन्ततः पार्टी विभाजनको आधार बन्न सक्छ ।
यही कारण अहिले सबैभन्दा बढी चर्चा डा. शशांकको भूमिकालाई लिएर भइरहेको छ । उनी इतर समूहका प्रभावशाली नेताहरूको राजनीतिक …मोहराÚ बनेका हुन् कि कांग्रेसलाई विभाजनबाट रोक्न सक्ने सम्भावित मध्यस्थ ? कांग्रेसभित्रको आगामी घटनाक्रमले यसको जवाफ दिनेछ ।

शशांकलाई अघि सार्नुको अर्थ

कांग्रेसमा शशांक कोइरालाको परिचय अरू नेताभन्दा केही फरक छ । उनी बी.पी. कोइरालाका पुत्र हुन् । कांग्रेसको स्थापना, लोकतान्त्रिक संघर्ष र पार्टीको वैचारिक इतिहाससँग उनको पारिवारिक सम्बन्ध प्रत्यक्ष छ । उनका पिता बी.पी. कोइराला कांग्रेसका संस्थापक नेता मात्र होइनन्, नेपालको लोकतान्त्रिक आन्दोलनका प्रमुख वैचारिक व्यक्तित्व पनि हुन् । त्यसैगरी गिरिजाप्रसाद कोइरालाले कांग्रेसलाई लामो समय नेतृत्व गर्दै प्रजातन्त्र पुनःस्थापना तथा शान्ति प्रक्रियासम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
त्यसैले कोइराला परिवारको नाम कांग्रेसभित्र अझै भावनात्मक राजनीतिक शक्ति हो । यही कारण अहिलेको विवादमा शशांकलाई अगाडि सार्दा त्यसले भेलालाई केवल एउटा गुटको बैठकभन्दा फरक राजनीतिक सन्देश दिन सक्छ तर यही पक्ष अर्को जोखिम पनि हो । यदि भेलाबाट कांग्रेस विभाजनको दिशामा जाने अवस्था आयो भने बी.पी.का पुत्रको नेतृत्वमा कांग्रेस थप टुक्रिएको सन्देश जान सक्छ । यही द्विविधाका कारण शशांकको वर्तमान भूमिका निकै संवेदनशील बनेको छ ।
उनको राजनीतिक अभिव्यक्तिहरू हेर्दा भने उनी कांग्रेस विभाजनको पक्षमा खुलेर उभिएको देखिँदैन । बरु पार्टीभित्र उत्पन्न संकटलाई संवादबाट समाधान गर्नुपर्ने धारणा राख्दै आएका छन् । यही कारण कतिपय कांग्रेसजनले उनलाई इतर समूहको नेतृत्व गर्ने नेताभन्दा दुवै पक्षलाई संवादमा ल्याउन सक्ने व्यक्तिका रूपमा हेरेका छन् ।
एक कांग्रेस नेताको भनाइमा, æशशांकजीको सबैभन्दा ठूलो राजनीतिक पूँजी उहाँको पद होइन, उहाँसँग जोडिएको कोइराला परिवारको विरासत हो । त्यो विरासत पार्टी जोड्न प्रयोग भयो भने उहाँको भूमिका ऐतिहासिक हुन सक्छ, तर गुट विस्तारका लागि प्रयोग भयो भने त्यसको असर उल्टो पर्न सक्छ ।

मोहरा बनाइएको आरोप

इतर पक्षका गतिविधिमा पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, मोहनबहादुर बस्नेत, प्रकाशमान सिंहलगायतका नेताहरूको सक्रियता देखिँदै आएको छ । यी सबै नेताहरू आफ्नै राजनीतिक हैसियत र लामो संगठनात्मक अनुभव भएका नेता हुन् । त्यसैले उनीहरूले आफू अगाडि नबढी शशांकलाई भेलाको अगुवाइ गराउनुका पछाडि राजनीतिक हिसाब रहेको अनुमान पनि गर्न थालिएको छ ।
कतिपय कांग्रेस कार्यकर्ताको बुझाइमा, यदि यही समूहका कुनै एक प्रभावशाली नेताले राष्ट्रिय भेलाको नेतृत्व गरेका भए त्यसलाई तत्कालै …गुटको शक्ति प्रदर्शनÚ का रूपमा बुझिन्थ्यो । बीपीका पुत्र शशांकको नाम अगाडि आउँदा त्यसको स्वरूप केही फरक देखिन्छ ।
त्यसैले आलोचकहरू प्रश्न गर्छन् के शशांकलाई भावनात्मक राजनीतिक पूँजीका रूपमा प्रयोग गर्न खोजिएको हो ? यदि भेलाले पार्टी एकताको माग मात्र राख्यो भने शशांकको संयोजकत्व स्वाभाविक देखिन सक्छ । यदि त्यसले समानान्तर संगठन, छुट्टै नेतृत्व वा अलग्गै राजनीतिक संरचनाको बाटो खोल्यो भने …मोहराÚ भन्ने आरोप अझ बलियो बन्न सक्छ ।
शशांकलाई आफैंले आफ्नो राजनीतिक भूमिका तय गर्न नसक्ने व्यक्तिका रूपमा चित्रण गर्नु पनि उचित हुँदैन । उनी लामो समय कांग्रेसको केन्द्रीय राजनीतिमा रहेका नेता हुन् । त्यसैले उनीमाथि अरू नेताले प्रभाव पार्न सक्छन्, तर अन्तिम राजनीतिक निर्णय उनकै पनि हुनेछ ।

एकताको नाममा भेला, विभाजनको डर

राष्ट्रिय भेलाको घोषित उद्देश्य पार्टी एकताको पक्षमा दबाब सिर्जना गर्नु हो । यो उद्देश्य आफैंमा अस्वाभाविक होइन । विशेष महाधिवेशनलाई स्वीकार नगरेका नेताहरूले आफ्नो असन्तुष्टि राख्न पाउनु राजनीतिक दलभित्रको स्वाभाविक प्रक्रिया हो । समस्या त्यतिबेला शुरु हुन्छ, जब असन्तुष्टि समाधान खोज्ने बाटोबाट अघि बढेर छुट्टै संगठन निर्माण गर्ने दिशामा पुग्छ । कांग्रेसका लागि अहिले सबैभन्दा संवेदनशील प्रश्न यही हो ।
एकता खोज्ने भेला र विभाजनको पूर्वतयारी गर्ने भेला बाहिरबाट उस्तै देखिन सक्छन्, तर त्यसको राजनीतिक परिणाम बिल्कुल फरक हुन्छ । यदि भेलाले नेतृत्वसँग संवाद, संगठनात्मक पुनर्संरचना, कार्यकर्ताको सम्मान, महाधिवेशनबाट उत्पन्न विवादको समाधान र सबै पक्षको सहभागिताजस्ता विषय उठायो भने त्यसलाई कांग्रेसभित्र लोकतान्त्रिक बहसकै एउटा रूप मान्न सकिन्छ । यदि त्यसले समानान्तर निर्णय, अलग्गै संगठन र नयाँ राजनीतिक संरचनाको दिशातर्फ कदम चाल्यो भने कांग्रेस विभाजनको जोखिम वास्तविक बन्न सक्छ । यही कारण अहिले कांग्रेसका सामान्य कार्यकर्तादेखि पुराना नेतासम्मको ध्यान राष्ट्रिय भेलातर्फ केन्द्रित भएको छ ।

गगनमाथि ठूलो परीक्षा

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि कानूनी र संगठनात्मक रूपमा आफ्नो नेतृत्व स्थापित भएको उनको पक्षको दाबी छ । पार्टी नेतृत्व गर्नु र पार्टीका सबै धारलाई स्वीकार्य नेतृत्व दिनु एउटै कुरा होइन । थापासामु अहिलेको मुख्य चुनौती यही हो । विशेष महाधिवेशनबाट नेतृत्व प्राप्त गर्नु एउटा उपलब्धि भए पनि त्यसपछि असन्तुष्ट पक्षलाई कसरी समेटिन्छ भन्ने प्रश्न अझ महत्वपूर्ण छ । कांग्रेसको इतिहास हेर्दा पार्टीभित्र फरक विचार र गुट सधैं रहँदै आएका छन् । ती मतभेदलाई व्यवस्थापन गर्ने क्षमता नै नेतृत्वको वास्तविक परीक्षा बन्ने गरेको छ ।
थापाले आफूलाई केवल विशेष महाधिवेशनबाट आएको नेतृत्वका रूपमा सीमित राखे भने असन्तुष्ट पक्षसँग दूरी बढिरहन सक्छ । उनले सबै पक्षलाई संवादमा बोलाएर पार्टी पुनर्गठनको प्रक्रियामा सहभागी गराउन सके भने अहिलेको संकटलाई अवसरमा बदल्न सकिन्छ ।
कांग्रेसमा महामन्त्री गुरुराज घिमिरे भन्छन्, æअहिलेको आवश्यकता कसले कसलाई हरायो भन्ने होइन, कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने हो । नेतृत्व संवादबाट भाग्ने पक्षमा छैन ।Æ यदि यस्तो धारणा व्यवहारमा देखियो भने राष्ट्रिय भेलाले पनि आफ्नो राजनीतिक दिशा परिवर्तन गर्न सक्छ ।

खड्कादेखि शेखरसम्मको चुनौती

इतर पक्षमा रहेका वरिष्ठ नेताहरूका लागि पनि अहिलेको परिस्थिति सहज छैन । उनीहरू विशेष महाधिवेशनको वैधता र प्रक्रियाप्रति असन्तुष्ट छन् तर कांग्रेसबाट अलग्गिएर नयाँ पार्टी बनाउने निर्णय गर्नु त्यति सजिलो राजनीतिक विकल्प होइन ।
कांग्रेसको संगठन, इतिहास, चुनाव चिह्न र कार्यकर्ताको भावनासँग लामो समयदेखि जोडिएका नेताका लागि मूल पार्टी छाड्नु राजनीतिक जोखिमपूर्ण निर्णय हुन सक्छ । विगतमा कांग्रेसबाट छुट्टिएको राजनीतिक संरचना पुनः मूल पार्टीमै फर्किएको इतिहास पनि कांग्रेसजनका लागि एउटा महत्वपूर्ण शिक्षा हो ।
त्यसैले असन्तुष्ट नेताहरूले गगन नेतृत्वमाथि दबाब सिर्जना गर्न खोज्नु र अन्ततः कांग्रेस विभाजन गर्नु एउटै कुरा होइन । उनीहरूका अगाडि अहिले यही सीमारेखा छ । खड्काले समेत सार्वजनिक रूपमा पार्टी विभाजन सहज विषय नभएको संकेत गर्दै आएका छन् । उनको तर्कमा पार्टी फुटाउने निर्णय केही नेताको चाहनाले मात्र सम्भ हुँदैन । यही कुराले पनि राष्ट्रिय भेलाको वास्तविक उद्देश्यबारे थप प्रश्न उठाउँछ ।

कोइराला परिवारको अर्को अध्याय

शशांक कोइरालाको भूमिकालाई कोइराला परिवारको राजनीतिक अवस्थाबाट अलग गरेर हेर्न पनि सकिँदैन । शेखर कोइराला इतर समूहको सक्रिय राजनीतिमा छन् । शशांक अहिले राष्ट्रिय भेलाको संयोजक बनेका छन् । सुजाता कोइराला भने यो समीकरणमा स्पष्ट रूपमा सक्रिय भएको देखिँदैन । यसरी हेर्दा कांग्रेसको संकटमा फेरि एक पटक कोइराला परिवारको नाम केन्द्रमा आएको छ । यस पटक परिस्थिति फरक छ । विगतमा कोइराला परिवार कांग्रेसको नेतृत्वका लागि प्रत्यक्ष प्रतिस्पर्धामा देखिन्थ्यो । अहिले भने शशांकमाथि पार्टीभित्रको दुई धारबीच पुल बन्ने अपेक्षा पनि गरिएको छ ।
बी.पी. र गिरिजाप्रसादले कांग्रेसलाई संकटका विभिन्न चरणबाट पार लगाएको इतिहास स्मरण गर्दै कतिपय कांग्रेसजनले शशांकबाट पनि त्यस्तै भूमिका अपेक्षा गरेका छन् । कांग्रेसका मामलामा कलम चलाउँदै आएका दीपक दाहाल भन्छन्, बी.पी.को छोरा भएकै कारण शशांकमाथि भावनात्मक अपेक्षा धेरै छ । कांग्रेस फुट्यो भने उहाँले केवल एउटा गुटको नेता भएर इतिहासमा नाम लेखाउनुहुन्न, बी.पी.को विरासत बोकेको व्यक्तिका रूपमा मूल्यांकन हुनुहुन्छ । त्यसैले उहाँका लागि अहिलेको निर्णय व्यक्तिगतभन्दा धेरै ठूलो हो ।

शक्ति प्रदर्शन कि समझदारी ?

राष्ट्रिय भेला हुँदै गर्दा कांग्रेसको अर्को महत्वपूर्ण प्रश्न भनेको कार्यकर्ताको मनोविज्ञान हो । माथिल्ला तहका नेताहरू गुटगत समीकरणमा व्यस्त भए पनि तल्लो तहका कार्यकर्ता भने निरन्तरको विवादबाट आजित हुँदै गएका छन् । उनीहरूलाई पदको भागबन्डाभन्दा संगठन चाहिएको छ । नेताहरूबीचको आरोप–प्रत्यारोपभन्दा चुनाव जित्ने क्षमता चाहिएको छ । कांग्रेसको इतिहास सुनाएर मात्र वर्तमान संकट समाधान हुने अवस्था छैनÙ वर्तमान पुस्तालाई पार्टीले के दिन सक्छ भन्ने प्रश्नको जवाफ पनि आवश्यक छ ।
त्यसैले राष्ट्रिय भेलाले यदि केवल अर्को गुटको शक्ति प्रदर्शन ग¥यो भने त्यसले कांग्रेसको समस्या समाधान गर्ने छैन । त्यस्तै नयाँ नेतृत्वले पनि असन्तुष्ट पक्षलाई पूर्णतः बेवास्ता ग¥यो भने संकट अझ गहिरिन सक्छ । कांग्रेसको वर्तमान संकटमा दुवै पक्षसँग केही न केही जिम्मेवारी छ ।
गगन थापाले नयाँ नेतृत्वको उत्साहलाई समेट्दै पुरानो पुस्ताको अनुभवलाई सम्मान गर्नुपर्नेछ । इतर पक्षका नेताहरूले पनि आफ्नो असन्तुष्टिलाई पार्टी विभाजनको हतियार नबनाई संगठनभित्रै समाधान खोज्नुपर्नेछ । शशांक कोइरालाले भने यी दुई धारबीच संवादको वातावरण बनाउन सक्ने भूमिका निर्वाह गर्नुपर्नेछ ।

रुखलाई तान्दा जरा कमजोर

कांग्रेसको चुनाव चिह्न रुख हो । अहिलेको अवस्थामा यही रुखलाई दुई पक्षले आ–आफ्नो दिशातर्फ तानिरहेका छन् । दुवै पक्षले आफू नै वास्तविक कांग्रेस भएको दाबी गरे पनि अन्ततः कार्यकर्ता, मतदाता र जनताले कुन कांग्रेसलाई आफ्नो कांग्रेस मान्छन् भन्ने प्रश्न निर्णायक हुनेछ ।
कांग्रेसको इतिहासमा मतभेद भएका छन्, नेतृत्व परिवर्तन भएका छन्, विभाजन भएका छन् र पुनर्मिलन पनि भएका छन् । हरेक पटक पार्टीले आफूलाई पुनः संगठित गर्ने अवसर पाएको छ । अहिले पनि त्यस्तो अवसर बाँकी छ ।
राष्ट्रिय भेला कांग्रेस विभाजनको शुरुवात बन्ने हो कि पार्टीभित्र संवादको नयाँ ढोका खोल्ने मोड बन्ने हो भन्ने कुरा आयोजकहरूको निर्णयमा निर्भर हुनेछ । अझ महत्वपूर्ण कुरा, शशांक कोइरालाले आफ्नो संयोजकत्वलाई कुन दिशामा प्रयोग गर्छन् भन्ने हो । यदि उनी गुटको अनुहार बने भने मोहरा को आरोपबाट मुक्त हुन कठिन हुनेछ । यदि उनी सबै पक्षलाई एउटै टेबलमा ल्याउने प्रयास गर्छन् भने उनको भूमिका फरक ढंगले स्थापित हुनेछ । यदि गगन थापा नेतृत्वले पनि आफ्नो राजनीतिक शक्ति प्रदर्शनभन्दा माथि उठेर संवादको हात अघि बढायो भने अहिले देखिएको विभाजनको रेखा मेटिन सक्छ । कांग्रेसलाई अहिले नयाँ विभाजन होइन, नयाँ समझदारी आवश्यक छ ।
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन ग¥यो होला, तर त्यसले कांग्रेसभित्रको सबै मन जितिसकेको छैन । अब गगन थापाको नेतृत्वले त्यो मन जित्नुपर्नेछ । इतर पक्षले पनि असन्तुष्टिलाई पार्टीको अस्तित्वमाथि प्रहार हुने अवस्थासम्म पुर्याउनु हुँदैन । शशांक कोइरालाले भने बी.पी.को विरासतलाई गुटको छायाभन्दा माथि उठाएर प्रयोग गर्न सके भने उनी अहिलेको संकटका मोहरा होइन, मिलनबिन्दु बन्न सक्छन् ।
प्रश्न गगन जित्ने कि शेखर, पूर्णबहादुर, प्रकाशमान वा विमलेन्द्र जित्ने भन्ने होइन । प्रश्न त एउटै हो त्यो के भने कांग्रेस जित्ने कि गुट ? रुखलाई दुईतिर तान्ने हो भने जरा कमजोर हुन्छ । सबैले जरा बचाउने हो भने हाँगा–हाँगामा फेरि हरियाली आउन सक्छ । कांग्रेसको आगामी यात्रा अब यही निर्णयको मोडमा उभिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *