सम्पादकीय
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले बडादशैंको पूर्वसन्ध्यामा पद तथा गोपनीयताको शपथ लिँदा गरिएको स्वस्तिवाचनले एउटा रोचक सांस्कृतिक सन्देश दिएको छ । राजनीति आधुनिक विचार र जनउत्तरदायित्वको विषय भए पनि हाम्रो सामाजिक जीवनमा परम्पराको आफ्नै स्थान छ । अब दशैं र तिहारको बीचमा कांग्रेसका अन्य पदाधिकारीले पनि जिम्मेवारीको शपथ लिने तयारी भइरहेको छ । यसलाई सामान्य राजनीतिक औपचारिकताका रूपमा मात्र लिनु हुँदैन । शपथ भनेको पद पाएको प्रमाणपत्र मात्र होइन, जिम्मेवारी स्वीकार गरेको सार्वजनिक प्रतिबद्धता हो । त्यसैले नयाँ नेतृत्वले शपथका शब्द उच्चारण गर्दा विगतका कमजोरी, गुटगत आग्रह र व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर पार्टीलाई कता लैजाने भन्ने प्रश्नसँग आफूलाई जोड्नुपर्ने समय हो । परम्परा पालना गर्नु राम्रो कुरा हो, तर परम्पराले नयाँ यात्राको ढोका खोल्न सकेन भने त्यो केवल कर्मकाण्डमा सीमित हुन्छ । कांग्रेसका लागि अहिलेको चुनौती पनि यही हो—नयाँ नेतृत्व आएको घोषणा गर्नु मात्र पर्याप्त छैन, त्यसले नयाँ राजनीतिक संस्कार सुरु भएको अनुभूति आम नागरिकलाई गराउन सक्नुपर्छ ।
कांग्रेसको नयाँ नेतृत्वले अब सबैभन्दा पहिले आफ्नै घरभित्रको राजनीतिलाई पुनर्विचार गर्नुपर्ने देखिन्छ । लामो समयदेखि नेपाली कांग्रेसमा विचारभन्दा समूह, नीतिभन्दा समीकरण र संगठनभन्दा व्यक्तिको प्रभाव बलियो हुँदै आएको गुनासो सुनिँदै आएको छ । नेतृत्व परिवर्तनपछि पनि त्यही पुरानो शैली दोहोरियो भने नयाँ अनुहारले मात्र पार्टी नयाँ बन्न सक्दैन । अब पदाधिकारीको मूल्यांकन उनीहरूले कसको पक्ष लिए भन्ने आधारमा होइन, पार्टीलाई कति गतिशील बनाए, संगठनलाई कति अनुशासित र जनमुखी बनाए तथा नागरिकका समस्यालाई संसद् र सडक दुवैमा कति प्रभावकारी ढंगले उठाए भन्ने आधारमा हुनुपर्छ । कार्यकर्ताले पनि नेताको वरिपरि घुम्ने राजनीतिको सट्टा नीति र कार्यक्रमका आधारमा नेतृत्वसँग प्रश्न गर्ने संस्कार विकास गर्न आवश्यक छ । सभापति र पदाधिकारीले आलोचनालाई विरोध नठान्ने, कार्यकर्ताले प्रश्न गर्न डर नमान्ने र नेतृत्वले जवाफ दिन तयार हुने वातावरण बन्यो भने मात्र कांग्रेसभित्र नयाँ राजनीतिक संस्कृति विकास हुन सक्छ । शपथको दिन हात उठाएर प्रतिबद्धता जनाउनु सजिलो छÙ त्यस प्रतिबद्धतालाई पाँच वर्षको व्यवहारमा देखाउनु असली परीक्षा हो ।
त्यसैले दशैं–तिहारको यो संक्रमणकाललाई कांग्रेसले नयाँ राजनीतिक संकल्पको अवसर बनाउन सक्नुपर्छ । चाडपर्वले हामीलाई पुरानो रिसराग बिर्सेर सम्बन्ध नवीकरण गर्न सिकाउँछÙ कांग्रेसले पनि यही भावनालाई संगठनभित्र उतार्न सक्नुपर्छ । गुटको दूरी घटाउने, योग्यतालाई प्राथमिकता दिने, युवालाई जिम्मेवारी दिने, महिलाको सहभागिता अर्थपूर्ण बनाउने, भ्रष्टाचार र अनियमितताप्रति शून्य सहनशीलता देखाउने तथा जनतासँग चुनावका बेला मात्र होइन, निरन्तर जोडिइरहने कार्यशैली अबको प्राथमिकता बन्नुपर्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले …हामी फेरियौंÚ भनेर भाषण गर्नेभन्दा नागरिकले …कांग्रेस फेरिएको रहेछÚ भन्ने अवस्था सिर्जना गर्नुपर्छ । नयाँ सभापति र पदाधिकारीका लागि सबैभन्दा ठूलो शपथ त्यही हुनेछ । स्वस्तिवाचनले शुभारम्भ गरिदिएको नयाँ यात्राको सार अन्ततः मन्त्रमा होइन, काममा देखिनुपर्छ । अब कांग्रेसले परम्परागत शपथ दोहो¥याउने होइन, शपथलाई व्यवहारमा उतारेर आफ्नो राजनीतिक पुनर्जन्मको प्रमाण दिनुपर्ने बेला आएको छ ।
