नेपाली चलचित्रको रौनक दशैंमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ दशैं भन्नासाथ घर फर्किने हतार, आफन्तसँगको भेटघाट, टीका–जमरा र मीठोमसिनोको सम्झना आउँछ । पछिल्ला वर्षमा यही सूचीमा अर्को एउटा कुरा पनि थपिँदै गएको छ कि परिवार वा साथीभाइसँग चलचित्र हेर्न हल पुग्ने चलन । यस वर्षको दशैंले पनि त्यो क्रमलाई निरन्तरता दिएको छ । चाडको बिदा समातेर प्रदर्शनमा आएका नेपाली चलचित्रले राजधानीदेखि मोफसलसम्मका हलमा दर्शक बोलाए । कसैले शुरुदेखि उत्साह पाए, कसैले बिस्तारै दर्शक जोड्यो । समग्रमा भने दशैं नेपाली चलचित्रका लागि उत्साह बोकेर आएको देखियो ।
यसपालि चलचित्र बजारको विशेषता एउटै चलचित्रको एकल दबदबाभन्दा पनि दर्शकका अगाडि धेरै विकल्प हुनु रह्यो । ‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ दशैंको माहोलसँगै दर्शकमाझ पुगे । चाडको रमझम सेलाउन नपाउँदै ‘कबड्डी ५: आफ्टर द फाइनल ‘म्याच’ पनि थपियो । फरक कथाभूमि र प्रस्तुति बोकेका चलचित्र एउटै समयमा हलमा हुँदा नेपाली चलचित्रको बजार आफैंभित्र प्रतिस्पर्धी बन्न पुग्यो ।
रोचक संयोग के रह्यो भने यसपटक चर्चाको अगाडि रहेका अधिकांश चलचित्र दर्शकका लागि बिल्कुलै अपरिचित नाम थिएनन् । यसअघिका चलचित्रबाट चिनिएका नाम फेरि पर्दामा फर्किएका थिए । निर्माताले पुरानो परिचयमाथि नयाँ कथा पस्कने बाटो रोज्दा दर्शकले पनि त्यसलाई कति स्वीकार गर्छन् भन्ने परीक्षा यही दशैंमा भयो ।
चलचित्रको नाम परिचित हुँदैमा दर्शकको मन स्वतः जितिँदैन । दशैंको प्रारम्भिक चहलपहलपछि यही कुरा अझ प्रस्ट देखिएको छ । चलचित्र हेरेर फर्किएका दर्शकको प्रतिक्रिया अर्को दिनको व्यापारसँग जोडिन थालेको छ । ‘कुन चलचित्र हे¥यौ ?’ भन्दा अहिले ‘कस्तो रहेछ ?’ भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ । एउटा दर्शकले दिएको सकारात्मक प्रतिक्रिया अर्को दर्शकलाई हलसम्म पु¥याउने मौखिक प्रचार बन्न थालेको छ ।
यस अर्थमा यसपालिको दशैं निर्माताभन्दा बढी दर्शकको हातमा देखियो । कसैलाई पारिवारिक कथा मन परेको छ, कसैलाई हाँसो खोजिएको छ । युवा दर्शकको एउटा हिस्सा एक्सनतर्फ आकर्षित हुँदा अर्को समूह पात्र र कथासँग आफूलाई जोड्न खोजिरहेको छ । एउटै परिवारभित्र समेत सबैको रोजाइ एउटै नहुन सक्छ । त्यसैले नेपाली चलचित्र हेर्ने दर्शकलाई अब एउटै स्वादको समूह ठान्न नमिल्ने अवस्था देखिएको छ ।
यही विविधताले हल सञ्चालकलाई पनि चलचित्रअनुसार दर्शकको चाप हेरेर शो व्यवस्थापन गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ । बिहान सामान्य देखिएको चलचित्रमा साँझ भीड बढ्न सक्छ भने शुरुका दिन उत्साह पाएको चलचित्रमा केही दिनपछि दर्शकको गति बदलिन सक्छ । दशैंको बिदाले प्रारम्भिक भीड जुटाउन मद्दत गरे पनि त्यसलाई निरन्तरता दिने शक्ति भने चलचित्रकै विषयबस्तुमा निर्भर रहने देखिन्छ ।
यसपालि अर्को सुखद पक्ष पनि देखियो । नेपाली चलचित्र हेर्न जाने क्रम केवल युवा पुस्तामा सीमित रहेन । चाडका कारण एकै ठाउँमा जम्मा भएका परिवारका सदस्य सामूहिक रूपमा हल पुग्ने वातावरण बनेको छ । अभिभावक, छोराछोरीदेखि साथीभाइका समूहसम्म हलमा देखिनुले चलचित्रलाई व्यक्तिगत मनोरञ्जनबाट पारिवारिक घुमघामको एउटा हिस्सा बनाइदिएको छ ।
यससँगै एउटा चुनौती पनि सँगसँगै उभिएको छ । दशैंलाई राम्रो व्यापार हुने समय मानेर धेरै चलचित्र एकैचोटि ल्याउँदा नेपाली चलचित्रले विदेशी चलचित्रसँग मात्र होइन, नेपाली चलचित्रसँगै दर्शक बाँड्नुपर्छ । दर्शकसँग समय सीमित हुन्छ, मनोरञ्जनका लागि छुट्याइएको खर्च पनि सीमित हुन्छ । चार चलचित्र प्रदर्शनमा छन् भन्दैमा एउटै दर्शकले चारैवटाको टिकट काट्छ भन्ने हुँदैन । त्यसैले चाडमा चलचित्र ल्याउने होडसँगै प्रदर्शन मिति व्यवस्थापनको बहस पनि अब आवश्यक देखिन्छ ।
अझ महत्त्वपूर्ण पक्ष भनेको चाड सकिएपछि के हुन्छ भन्ने हो । दशैंले दिएको भीडलाई नेपाली चलचित्रको स्थायी दर्शकमा बदल्न सकियो भने मात्र अहिलेको उत्साहको वास्तविक अर्थ रहनेछ । वर्षमा दुई–चारवटा चाड कुरेर बस्ने उद्योगभन्दा सामान्य शुक्रबार पनि दर्शकलाई हलसम्म तान्न सक्ने चलचित्र उद्योग बलियो हुन्छ ।
यस वर्षको दशैंले कम्तीमा एउटा भ्रम भने तोडेको छ, त्यो के भने नेपाली चलचित्रबाट दर्शक टाढिएका छैनन् । दर्शक छन्, उनीहरूसँग उत्सुकता पनि छ र मन परेको चलचित्रका लागि समय निकालेर हल पुग्ने इच्छा पनि छ तर उनीहरू अब केवल कलाकारको अनुहार वा प्रचारको हल्लामा भर परेर टिकट काट्ने अवस्थामा छैनन् । उनीहरूले आफ्नो पैसा र समय दुवैको मूल्य खोजिरहेका छन् ।
त्यसैले दशैंमा देखिएको भीडलाई सफलताको अन्तिम प्रमाण मान्नुभन्दा एउटा अवसरका रूपमा लिनु उपयुक्त हुन्छ । दर्शकले ढोका बन्द ‘गरेका छैनन्’ बरु ढोका खोलेर बसेका छन् । अब त्यो ढोकाबाट राम्रो कथा लिएर प्रवेश गर्ने जिम्मा नेपाली चलचित्रकर्मीको हो ।
दशैंले यसपटक हल भरिदियो । अब वर्षभरि दर्शकको मन भर्ने पालो नेपाली चलचित्रको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *