गुर्जो : लहरामा लुकेको औषधीय सम्पदा

Nayabimarsha (Weekly Newspaper from Nepal)

पिएमणि भट्टराई

घरको छेउमा कुनै रूखलाई अँगाल्दै माथि चढेको हरियो लहरा देख्दा सामान्य झारजस्तै लाग्न सक्छ । त्यही लहरा गुर्जो हो भने नेपाली समाजले पुस्तौँदेखि त्यसलाई सामान्य वनस्पतिभन्दा फरक दृष्टिले हेर्दै आएको छ । गाउँघरमा ज्वरो आउँदा, शरीर गल्दा वा बिरामीपछिको कमजोरी हटाउन घरेलु रूपमा गुर्जोको झोल खाने पुरानो अभ्यास पाइन्छ । आयुर्वेदमा …गुडुचीÚ र …अमृताÚ नामले समेत चिनिने गुर्जोलाई हिन्दी भाषी क्षेत्रमा …गिलोयÚ भनिन्छ । कुनै समय वनपाखा र गाउँघरमा सीमित यसको चर्चा पछिल्ला वर्षमा शहरसम्म फैलिएको छ । यसको औषधीय सम्भावनाबारे वैज्ञानिक अध्ययन पनि भइरहेका छन् यद्यपि परम्पराले उपयोगी मानेको जडीबुटी भन्दैमा यसलाई हरेक रोगको अचुक औषधि ठान्नु भने उचित हुँदैन ।
गुर्जोको आफ्नै स्वरूप छ । यो रूखजस्तो ठाडो भएर बढ्दैन, वरिपरि भेटिएको रूख, बाँस, बार वा अन्य कुनै सहारालाई समात्दै माथितिर फैलन्छ । केही पुरानो भएपछि यसको डाँठ मोटो र खस्रो हुँदै जान्छ । बाहिरी भाग खरानी मिसिएको हरियो वा खैरो देखिन्छ भने ठाउँ–ठाउँमा गाँठाजस्तो बनोट देख्न सकिन्छ । कहिलेकाहीँ लहराबाटै मसिना जरा हावामा झुन्डिएको भेटिन्छ । यसका पात फराकिला र धेरै हदसम्म मुटुको आकृतिसँग मिल्ने हुन्छन् । फूल साना हुने भएकाले टाढाबाट खासै देखिँदैनन्, फल भने पाकेपछि रातो देखिन्छ । न्यानो र केही ओसिलो वातावरणमा यसको वृद्धि राम्रो हुन्छ । नेपालको तराईदेखि मध्यपहाडी क्षेत्रका उपयुक्त भूभागसम्म गुर्जो भेटिन्छ । जंगलको किनार, झाडी, खोल्सानजिकको क्षेत्र र घरआँगनमा समेत यसलाई हुर्काउन सकिन्छ । यसको डाँठ काटेर रोपी सहारा दिने हो भने घरेलु स्तरमै पनि विस्तार गर्न सकिन्छ ।
गुर्जोको सबैभन्दा बढी प्रयोग हुने भाग डाँठ हो । परम्परागत रूपमा ताजा डाँठका साना टुक्रा पानीमा उमालेर त्यसको झोल प्रयोग गर्ने चलन छ । डाँठ सुकाएर धुलो बनाई राख्ने र आवश्यकताअनुसार सेवन गर्ने अभ्यास पनि पाइन्छ । आयुर्वेदिक औषधि निर्माणमा यसका विभिन्न प्रशोधित स्वरूप प्रयोग हुन्छन् । आज बजारमा गुर्जोको चूर्ण, रस, ट्याब्लेट तथा अन्य उत्पादनसमेत पाइन्छन् । यसको डाँठमा विभिन्न जैविक सक्रिय तत्व रहने भएकाले गुर्जोमाथि आधुनिक औषधि विज्ञानको चासो पनि बढेको हो । यसमा पाइने विभिन्न अल्कालोइड, ग्लाइकोसाइडलगायतका रासायनिक तत्वका सम्भावित प्रभावबारे अनुसन्धान हुँदै आएको छ ।
नेपाली घरेलु उपचार परम्परामा गुर्जोलाई विशेषगरी ज्वरो र शारीरिक कमजोरीसँग जोडेर हेरिएको पाइन्छ । लामो समय बिरामी भएर शरीर शिथिल भएको अवस्थामा तागत फर्काउन यसको प्रयोग गर्ने चलन कतिपय ठाउँमा अझै छ । आयुर्वेदिक अभ्यासमा पाचनसँग सम्बन्धित केही समस्या, शरीरमा हुने सूजन तथा जोर्नीका असहजतामा समेत विभिन्न औषधीय संयोजनभित्र गुर्जो प्रयोग हुँदै आएको छ । यसको एन्टिअक्सिडेन्ट र सूजन नियन्त्रणसँग सम्बन्धित सम्भावित गुणबारे वैज्ञानिक अनुसन्धानले पनि चासो देखाएको छ । शरीरको प्रतिरक्षा प्रणालीको प्रतिक्रियालाई प्रभाव पार्न सक्ने सम्भावनाका कारण …इम्युनोमोडुलेटरीÚ गुणका विषयमा समेत गुर्जो अध्ययनको विषय बनेको छ । प्रयोगशालामा देखिएको सम्भावना र मानिसको कुनै रोग निको पार्ने प्रमाणित उपचार एउटै कुरा होइन । यही भिन्नता बुझेर यसको उपयोग गर्न आवश्यक छ ।
कोरोना महामारीको समयमा गुर्जोको चर्चा असाधारण रूपमा बढेको थियो । रोगप्रतिरोधात्मक क्षमता बढाउने विश्वासमा धेरैले यसको सेवन गर्न थाले । घरआँगनमा रोप्ने, डाँठ बाँड्ने र बिहान–बेलुका उमालेर खाने अभ्याससमेत व्यापक भयो । यही समयले गुर्जोलाई गाउँको परम्परागत जडीबुटीबाट सहरका घरघरमा परिचित वनस्पति बनाइदियो । यससँगै एउटा समस्या पनि देखियो कि कुनै बस्तु प्राकृतिक छ भने त्यसले हानी गर्दैन भन्ने धारणा । प्राकृतिक हुनु र सबै अवस्थामा सुरक्षित हुनु एउटै कुरा होइन । जडीबुटीमा औषधीय प्रभाव पार्ने तत्व हुन्छन् भने तिनको अनावश्यक वा अत्यधिक सेवनबाट प्रतिकूल प्रभाव पनि पर्न सक्छ ।
गुर्जोको सवालमा पनि मात्रा र प्रयोगको अवधि महत्वपूर्ण हुन्छ । पछिल्ला वर्षमा गिलोय वा त्ष्लयकउयचब समूहका वनस्पतिको अत्यधिक अथवा अनियन्त्रित सेवनपछि केही व्यक्तिमा कलेजोसँग सम्बन्धित समस्या देखिएका चिकित्सकीय विवरण प्रकाशित भएका छन् । अर्को चुनौती सही वनस्पति पहिचानको हो । बाहिरबाट हेर्दा उस्तै देखिने लहरालाई गुर्जो ठानेर प्रयोग गर्दा समस्या हुन सक्छ । त्यसैले जंगलबाट जुनसुकै लहरा टिपेर औषधि बनाउनेभन्दा वनस्पतिको सही पहिचान हुनु पहिलो आवश्यकता हो । त्यसैगरी नियमित औषधि खाइरहेका, कलेजोलगायत दीर्घ स्वास्थ्य समस्या भएका, गर्भवती वा स्तनपान गराइरहेका व्यक्तिले आफूखुशी लामो समय सेवन गर्नुको सट्टा चिकित्सक वा जडीबुटीसम्बन्धी दक्ष स्वास्थ्यकर्मीको सल्लाह लिनु उपयुक्त हुन्छ ।
गुर्जोको महत्व स्वास्थ्यमा मात्र सीमित छैन । नेपाल जडीबुटीको विविधतामा सम्पन्न मुलुक भएकाले यस्ता वनस्पतिको वैज्ञानिक खेती, प्रशोधन र बजारीकरणबाट स्थानीय आयआर्जनको सम्भावना पनि खोज्न सकिन्छ । जंगली रूपमा उम्रिएका बिरुवा अनियन्त्रित ढंगले संकलन गर्नेभन्दा खेती प्रविधि विकास गरी गुणस्तरीय उत्पादन गर्न सके यसको संरक्षणसँगै आर्थिक उपयोग पनि हुन सक्छ । नेपाली जडीबुटीलाई कच्चा पदार्थका रूपमा मात्र बेच्ने होइन, वैज्ञानिक परीक्षण, गुणस्तर निर्धारण र प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्न सके त्यसको लाभ किसानदेखि मुलुकको अर्थतन्त्रसम्म पुग्न सक्छ ।
हाम्रा पुर्खाले प्रकृतिलाई केवल जंगलका रूपमा हेरेनन्Ù त्यसैभित्र भोजन, औषधि र जीवनोपयोगी ज्ञान खोजे । गुर्जो त्यही अनुभवबाट पुस्तौँ हुँदै हामीसम्म आइपुगेको एउटा वनस्पति हो । आधुनिक विज्ञानले परम्पराका हरेक विश्वासलाई जस्ताको तस्तै स्वीकार गर्न आवश्यक छैन, तर उपयोगी ज्ञानलाई परीक्षण र अनुसन्धानबाट प्रमाणित गर्दै अघि बढाउन सक्छ । त्यसैले गुर्जोलाई न त चमत्कारी औषधि मानेर अन्धाधुन्ध प्रयोग गर्नु उचित हुन्छ, न परम्परागत ज्ञान भन्दै उपेक्षा गर्नु नै । सही पहिचान, सन्तुलित प्रयोग, वैज्ञानिक अनुसन्धान र व्यवस्थित खेतीसँग जोड्न सकियो भने घरको बारमा बेरिएर हुर्कने सामान्य देखिने गुर्जो नेपालको बहुमूल्य जडीबुटी सम्पदाको महत्वपूर्ण हिस्सा बन्न सक्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *