‘राजा’ ज्ञानेन्द्रबाट टीका लगाइएन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ दशैं आयो, टीकाको साइत पनि आयो र घर–घरमा मान्यजनका हातबाट निधार रातो बनाउने क्रम चल्यो । विगतका दशैंमा एउटा बेग्लै दृश्य देखिने निर्मल निवास यसपटक सर्वसाधारणका लागि टीका थाप्ने थलो बनेन । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो हातबाट सर्वसाधारणलाई टीका लगाएनन् । देशका विभिन्न भागले प्राकृतिक विपत्तिको चोट बेहोरिरहेका बेला उनले दशैंको सार्वजनिक टीकालाई उत्सवभन्दा दुःखसँग जोडेर हेरे र त्यसबाट अलग रहने बाटो रोजेको पाइयो ।
राजतन्त्र इतिहास भइसके पनि दशैंका बेला ज्ञानेन्द्रको हातबाट टीका थाप्ने क्रम भने रोकिएको थिएन । राजकीय समारोहको स्वरूप नरहे पनि विजयादशमीका दिन उनीकहाँ पुग्ने मानिसहरुको हुल हुन्थ्यो । कोही पुरानो संस्थाप्रतिको आस्थाले पुग्थे, कोही शुभेच्छाले र कतिपय दशैंको एउटा परम्पराका रूपमा त्यहाँ पुग्थे । त्यसैले निर्मल निवासको दशैं राजनीतिक व्यवस्था फेरिएपछिका वर्षमा पनि सार्वजनिक चासोबाट बाहिर गएको थिएन । यसपालि त्यो ढोका टीकाका लागि नखुल्नुमा विभिन्न कारणहरु रहन पुगेका छन् ।
यसको कारण राजनीतिक थिएन, न कुनै सार्वजनिक असन्तुष्टिलाई आधार बनाइएको थियो । देशले बेहोरेको प्राकृतिक विपत्ति र त्यसबाट सिर्जित मानवीय पीडालाई कारण बनाइयो । भदौमा आएको बाढी र त्यसपछि असोजको अविरल वर्षाले विभिन्न क्षेत्रमा जनधनको क्षति पु¥याएको पृष्ठभूमिमा ज्ञानेन्द्रले आफ्नो दशैंलाई सार्वजनिक उत्सवको रूप नदिने निर्णय गरेका हुन् । उनको सचिवालयले पनि यस वर्ष सर्वसाधारणलाई टीका–जमरा प्रदान गर्ने कार्यक्रम नरहेको जानकारी गराएको थियो ।
वास्तवमा दशैंको रौनक सबै नेपालीका घरमा समान थिएन । कतै नयाँ लुगा, मीठो खाना र आफन्तसँगको भेटघाट थियो भने कतै विपत्तिले घर उजाडेको थियो । कसैले परिवारका सदस्य गुमाएका थिए, कसैले घरखेत र सम्पत्ति । यस्तो अवस्थामा निर्मल निवासले आफ्नो परम्परागत सार्वजनिक कार्यक्रमलाई निरन्तरता दिनुभन्दा त्यसलाई रोक्नु उपयुक्त ठानेको देखिन्छ ।
त्यसैले यस वर्ष ज्ञानेन्द्रको दशैंलाई टीका लगाएको’ भन्दा ‘टीका नलगाएको’ घटनाले बढी चिनायो । सामान्य अवस्थामा कार्यक्रम आयोजना गर्नु स्वाभाविक हुन्थ्यो, तर असामान्य परिस्थितिमा कार्यक्रम नगर्नु नै उनको तर्फबाट सार्वजनिक रूपमा देखिएको फरक व्यवहार बन्यो । यसलाई राजसंस्थासम्बन्धी बहससँग जोडेर पक्ष वा विपक्षमा अर्थ लगाउन सकिएला । घटनाको सीधा पक्ष भने सामान्य छ, त्यो के भने देशका नागरिक विपत्तिको घाउमा रहेका बेला उनले विगतमा जस्तै सर्वसाधारणको लाम लगाएर टीका लगाई दिने काम गरेनन् । दशैं आफ्नै धार्मिक र पारिवारिक मान्यताअनुसार मनाए पनि त्यसलाई सार्वजनिक जमघटको अवसर बनाएनन् ।
यसपटक त्यसैले निर्मल निवासबाहिर निधारमा टीका र कानमा जमरा सिउरेर फर्कने सर्वसाधारणको लस्कर देखिएन । ज्ञानेन्द्रको हात खाली थिएन, तर त्यो हात सर्वसाधारणको निधारसम्म पुगेन । विपत्तिले धेरै नेपालीको दशैंको स्वरूप फेरिदिएको वर्षमा निर्मल निवासको दशैं पनि विगतकै ढाँचामा दोहोरिएन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *