एकीकृत समाजवादीमा तीब्र प्रतिस्पर्धा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सो दलको नेतृत्व हत्याउनका लागि नेताहरुले आफ्नो सक्रियता बढाएका छन् । अध्यक्षमा माधवकुमार नेपाल आफैं दोहोरिन चाहिरहेका छन् भने उनलाई रोक्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल र हालका महासचिव घनश्याम भूसाल लागि परेका छन् । यसै कारण अध्यक्ष नेपालले आफूलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाइनुपर्ने भन्ने मानसिकताका साथ दौडधुप बढाएको समाचार स्रोतको जानकारी दिएको छ ।
उता, खनालले भने भूसालको साथ समेत आपूmलाई रहने भन्ने कुरालाई अघि बढाउन चाहिरहेका छन् । उनले भूसाललाई आफूलाई समर्थन गर्न लगाउने नीति लिई अध्यक्षमा तीनजनाको दाबी गरेकोमा भूसालले आफूलाई समर्थन गरेकाले आफू नै सर्वसम्मत रुपमा अध्यक्ष हुनुपर्ने धारणा राख्न चाहेको स्रोतको दाबी छ । उता, भूसाल भने दुवै पूर्वप्रधानमन्त्रीहरुले दलको सल्लाहकारको भूमिकामा रही आफूजस्तो सक्रिय तथा अन्य दलका नेताहरुसँग युवाजोशका साथ प्रतिस्पर्धा गर्न सक्नेलाई अध्यक्ष बनाइनुपर्ने धारणा राखी आफ्नो पक्षमा माहौल बनाउन चाहिरहेका छन् ।
यही असार ५ गते प्रतिनिधि छनोट गरिसकेको सो दलभित्र अन्य पदमा पनि तीब्र प्रतिस्पर्धा हुने अवस्था देखिएको छ । केन्द्रीय नेतृत्वमा आफू पुग्नकालागि नेताहरु साम, दाम, दण्ड र भेद नीतिका साथ लागि परेका छन् । यसमध्ये सबैभन्दा बढी महासचिव पदमा बढी आकांक्षी देखिएका छन् । उता, प्रदेशअनुसार चयन हुने उपाध्यक्ष र सचिव पदमा भने धेरै चासो नदेखिए पनि महासचिवमा भने बढीजनाको चासो र चाहना देखिएको बताइएको छ ।
महासचिव बन्न अहिलेका चारै जना उपमहासचिव आकांक्षी रहेका बताइएको छ । २०७८ भदौमा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीमा डा.विजय पौडेल, डा.गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा उपमहासचिव छन् । उनीहरु सबैको चाहना भने महासचिव बन्ने रहेको बताइएको छ । निर्वाचन नै हुने अवस्था आएमा आफू माधव कुमार नेपालले बनाउने समूहबाट महासचिवको उम्मेदवार बन्ने पक्षमा खतिवडाको सक्रियता रहेको बताइएको छ । उता, रामकुमारी झाँक्रीलाई पनि महासचिव पदको बलियो दाबेदारका रुपमा हेरिएको बताइन्छ । हाल सचिवको भूमिकामा भए पनि झाँक्रीको प्रभाव राम्रै रहेकाले उनले चारजनाका बीचमा विमती रहेको स्थितिमा आफूलाई विकल्पको रुपमा उभ्याउने संभावना पनि रहेको बताइएको छ ।
झाँक्रीसँगै अर्का सचिव राजेन्द्र राईलाई पनि महासचिवको दाबेदारका रुपमा हेरिएको छ । विद्यार्थी राजनीतिबाट खारिएर आएका राई अहिले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा हालका प्रदेश सांसद पनि हुन् ।
एकीकृत समाजवादीको महाधिवेशनमा एक हजार आठ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *