विराटनगर/ कोशी प्रदेश सरकारले प्रदान गर्दै आएको पुरस्कार दलीय भागबण्डामा वितरण नगर्न सरकारलाई सचेत गराइएको छ । समाजवादी प्रेस संगठन कोशीले निश्चित मापदण्ड र पारदर्शी प्रक्रिया अवलम्बन गरेर मात्र त्यस्तो पुरस्कार प्रदान गर्न सुझाव दिएको हो ।
संगठनले आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रामप्रसाद आचार्यलाई ज्ञापन–पत्र बुझाउँदै त्यस्तो सुझाव दिएको हो । पुरस्कार वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र मापदण्डयुक्त बनाउन आग्रह पनि ज्ञापन–पत्रमा गरिएको छ ।
संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेलको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले ‘पुरस्कार वितरण प्रक्रिया निष्पक्ष र स्पष्ट मापदण्डका आधारमा पारदर्शी हुनुपर्दछ भन्ने हाम्रो जोडदार माग छ ।’ भनी ज्ञापन–पत्रमा उल्लेख गरेको हो ।
संगठनले अहिले विभिन्न क्षेत्रमा विकृति र विसङ्गति मौलाइरहेको र यसबाट सञ्चार क्षेत्र पनि अछुतो नरहेको औंल्याएको छ । ‘आम नागरिकको विश्वास, आशा र भरोसाको केन्द्र बन्नुपर्ने पत्रकार तथा संस्थाहरू आफै लोभ, प्रलोभन र पहुँचको दबाबमा परी विश्वसनीयता गुमाउँदै जानु चिन्ताको विषय हो’ ज्ञापन–पत्रमा भनिएको छ ।
संगठनले आफूहरू कुनै पनि प्रकारको अपारदर्शी खर्च, मिलेमतो वा लुटतन्त्रको हिस्सेदार नबन्ने स्पष्ट नीति लिएको उल्लेख गर्दै यदि सरकार गम्भीर नभए संघर्षको बाटो समाउन पछि नपर्ने चेतावनी समेत दिएको छ । संगठनको ज्ञापन–पत्र बुझ्दै मन्त्रालयका सचिवले सरकारले प्रदान गर्ने पुरस्कार निश्चित मापदण्डका आधारमा हुनुपर्ने तथा विकृतिहरु रोक्नुपर्ने संगठनको मागलाई प्रदेश सरकारले गम्भीर रुपमा लिने बताए ।
भागबन्डामा पत्रकारिता पुरस्कारमा आपत्ति
Facebook Comments Box
