एक करोड छुट्टयाएकोमा सांसद गिरीको गुनासो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ सांसद दीपक गिरीले दाङ्ग जिल्लाको टरिगाउँस्थित विमानस्थल विस्तार गर्न सरकारले पर्याप्त बजेट नछुट्टयाएको भन्दै गुनासो गरेका छन् । ‘बजेटमाथि खुशीका साथ कुरा राखौंला भन्ने आशामा थिएँ । तर, केही मन्त्रालयको बजेट हेर्दा गम्भीर भएर बोल्नुपर्ने अवस्था आएको छ,’ नेपाली कांग्रेसका सांसद गिरीले भने ।
आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत शिर्षकमाथिको छलफलमा शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले ‘यो बजेटले जनतालाई देखेन, न यो विकासमैत्री भयो । न लगानीमैत्री भयो । न त सरकार पक्ष सांसदमैत्री भयो ।’ भनी गुनासो गरेका थिए ।
बजेट शीर्ष नेता र त्यसमा पनि सत्तारुढ दलका शीर्ष नेता केन्द्रित हुन पुगेको आरोप उनले लगाए । ‘जो जो मन्त्रीजी हुनुहुन्छ, प्रधानमन्त्रीजी हुनुहुन्छ । त्यहीमैत्री भयो जस्तो मलाई लाग्यो । बडो कठोरताका साथ भन्नुपर्छ,’ कांग्रेस केन्द्रीय सदस्य समेत रहेका गिरीले भने । पर्यटनसँग सम्बन्धित ११ वटा योजना झापाको एउटै निर्वाचन क्षेत्रमा परेको उनले बताए । ती योजनाहरूको नामै संसदमा उनले सुनाएका थिए । गिरीले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको निर्वाचन क्षेत्रप्रति लक्षित गर्दै आफ्नो धारणा राखेका थिए ।
सभामुख देवराज घिमिरेको निर्वाचन क्षेत्रमा समेत एउटा पर्यटनसम्बन्धी २१ लाखको योजना परेको भनेर उनले व्यङ्ग्य गरेका थिए । पूर्वमंत्री समेत रहेका सांसद गिरीले प्रधानमन्त्री ओलीले दाङ्ग तुलसीपुरको टरीगाउँ विमानस्थलको धावन मार्ग विस्तार गर्न पर्याप्त बजेट विनियोजन गरिने संसदमै वाचा गरेको तर बजेट बनाउने बेला अर्थमंत्रीले त्यस्तो वाचा बिर्सिएको आरोप लगाएका थिए ।
पोखरा विश्वविद्यालयका प्राध्यापक डा. गोविन्दप्रसाद लामिछाने र नेपाल नागरिक उड्डयन प्राधिकरणको एक टोलीले सर्भे गरी टरीगाउँ विमानस्थलको डीपीआर तयार गरेको उनले जानकारी गराएका थिए । उक्त प्रतिवेदन अनुसार भ्याटसहित तीन अर्ब ४२ करोड बजेट आवश्यक छ । जग्गा अधिग्रहण गर्नका लागि मात्रै करिब ९० करोड र पन्ध्र सय मिटर धावन मार्ग निर्माणका लागि रु.२ अर्ब ५२ करोड लाग्ने अनुमान गरिएको छ । सरकारले आगामी आथिक वर्ष २०८२÷०८३ को बजेटमा जग्गा अधिग्रहणका लागि रु.१ करोड मात्रै बजेट विनियोजन गरेको छ । रु.१ करोड मात्रै बजेट विनियोजन गरेर अर्थमन्त्रीले यो सरकारको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा गरेको र यदि सरकारले यसरी नै आफ्नो वाचा विर्सदै जाने हो भने दंगाली जनता अब चुप लगेर नबस्ने पनि उनले चेतावनी दिए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *