ललितपुर/ नेकपा -एमाले) अहिले बाहिरबाट हेर्दा एउटै संरचनामा देखिए पनि पार्टीभित्र भने आगामी राजनीतिक बाटोबारे अनेक प्रश्न उठिरहेका छन् । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वलाई निरन्तरता दिने कि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने बहससँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमनको चर्चा पनि जोडिएको छ । त्यसमा माधवकुमार नेपाल र पुष्पकमल दाहाल नेतृत्वको नेकपासँगको सम्भावित एकताको विषय थपिँदा एमालेको आगामी दिशा अझ अनिश्चित देखिन थालेको छ ।
एमालेमा ओलीको विकल्प खोज्ने आवाज नयाँ होइन तर पछिल्लो समय यसको प्रकृति केही फरक देखिन्छ । यसलाई केवल ओलीविरोधी अभियानका रूपमा भन्दा लामो समय एउटै नेतृत्वको वरिपरि घुमेको पार्टीलाई अब कसरी अगाडि बढाउने भन्ने बहसका रूपमा लिन थालिएको छ । पार्टीको प्रभाव विगतको तुलनामा कमजोर हुँदै गएको अवस्थामा नेतृत्व, संगठन र राजनीतिक सन्देश सबैको पुनरावलोकन गर्नुपर्ने आवाजभित्रैबाट उठिरहेको छ ।
यही बहसमा विद्यादेवी भण्डारीको नाम जोडिएको हो । राष्ट्रपतिको जिम्मेवारी पूरा गरेपछि सक्रिय दलगत राजनीतिबाट बाहिर रहेकी भण्डारीलाई पुनः एमालेको राजनीतिक केन्द्रमा ल्याउनुपर्ने धारणा केही नेताहरूले अघि सारेका छन् । उनका पक्षधरहरूले भण्डारीलाई ओलीको विकल्पका रूपमा मात्र होइन, एमालेभित्र पुस्तान्तरण र नेतृत्व पुनर्संरचनाको एउटा सम्भावित माध्यमका रूपमा हेरेका छन् । भण्डारीलाई अघि सार्दैमा एमालेभित्रको समस्या समाधान हुन्छ भन्ने अवस्था छैन । त्यसका लागि संगठनभित्र उनको स्वीकार्यता र नयाँ पुस्तासँगको सम्बन्ध महत्वपूर्ण हुनेछ ।
वास्तवमा एमालेको अहिलेको चुनौती नेतृत्व परिवर्तनको प्रश्नभन्दा केही गहिरो छ । पछिल्लो पुस्ताका नेता तथा कार्यकर्ताले निर्णय प्रक्रियामा आफ्नो भूमिका बढाउन चाहेका छन् । पुरानो पुस्ताको योगदान अस्वीकार नगरी नेतृत्वमा नयाँ ऊर्जा र नयाँ सोच प्रवेश गराउनुपर्ने उनीहरूको अपेक्षा छ । नयाँ पुस्तालाई केवल चुनावका बेला परिचालन गर्ने तर निर्णायक ठाउँमा पुरानै अनुहार दोहो¥याउने शैलीप्रति असन्तुष्टि बढेमा एमालेका लागि त्यो दीर्घकालीन चुनौती बन्न सक्छ ।
अर्कोतर्फ, एमाले र माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल नेतृत्वको नेकपाबीच सहकार्य वा एकताको चर्चा पनि सेलाएको छैन । विगतका विभाजन र तिक्ततापछि वाम शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता महसुस गरिएको भए पनि त्यसलाई ठोस राजनीतिक प्रक्रियामा रूपान्तरण गर्ने तहमा खासै प्रगति देखिएको छैन । यसको कारण विचारभन्दा बढी नेतृत्व, विगतको राजनीतिक हिसाब र एकतापछि शक्ति बाँडफाँट कसरी हुने भन्ने प्रश्नमा रहेको देखिन्छ ।
वाम एकताको चर्चा चलिरहँदा एमालेले आफ्नै संगठन बलियो बनाउन नसके बाहिरी एकताले मात्र अपेक्षित परिणाम नदिने विश्लेषकहरूको बुझाइ छ । नयाँ मतदाता र नयाँ राजनीतिक शक्तितर्फ आकर्षित भइरहेको जनमतलाई आफ्नो पक्षमा फर्काउन एमालेले पुरानै राजनीतिक भाषाभन्दा फरक ढंगले आफूलाई प्रस्तुत गर्नुपर्ने अवस्था छ ।
पछिल्लो समय विपद्का घटनामा एमालेको भूमिकालाई लिएर उठेको बहस पनि यही सन्दर्भमा महत्वपूर्ण छ । बाढीपीडितका लागि पार्टीले आफ्नै तर्फबाट राहत परिचालन गरेको भए पनि सरकारको संयन्त्रसँग समन्वय गरेर अघि बढ्नुभन्दा अलग्गै ढंगले राहत वितरण गरेको भन्दै आलोचना भएको छ । विपद् व्यवस्थापनमा राजनीतिक दलको भूमिका आवश्यक भए पनि राज्य संयन्त्रलाई बलियो बनाउने कि दलगत संयन्त्रमार्फत समानान्तर काम गर्ने भन्ने प्रश्न उठेको छ । यसले एमाले र सरकारबीचको सम्बन्ध तथा प्रमुख प्रतिपक्षको भूमिकाबारे समेत बहस जन्माएको छ ।
एमालेका लागि अहिलेको अवस्था आत्मसमीक्षाको समय हो । कुनै समय राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बनेको पार्टीले आफ्नो संगठनको आकार मात्र हेरेर भविष्य सुरक्षित गर्न सक्दैन । मतदाताको सोच बदलिएको छ, नयाँ पुस्ता पुराना राजनीतिक शैलीप्रति प्रश्न गर्न थालेको छ र नयाँ दलहरूले परम्परागत दलहरूको ठाउँ खोजिरहेका छन् ।
त्यसैले आगामी दिनमा एमालेको बहस …ओली कि भण्डारीÚ मा मात्र सीमित रहनु हुँदैन । असली प्रश्न एमालेले कस्तो नेतृत्व, कस्तो संगठन र कस्तो राजनीतिक कार्यक्रममार्फत आफूलाई पुनःस्थापित गर्ने भन्ने हो । ओलीको अनुभव, भण्डारीको सम्भावित भूमिका र नयाँ पुस्ताको ऊर्जा एउटै राजनीतिक उद्देश्यमा जोड्न सकियो भने एमालेले अहिलेको कमजोरीलाई अवसरमा बदल्न सक्छ ।
नेतृत्वको विवाद लामो समय तन्किरहने, वाम एकताको कुरा चर्चामै सीमित रहने र जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक एजेन्डा कमजोर हुने हो भने एमालेका लागि चुनौती अझ बढ्नेछ । अब एमालेले व्यक्ति होइन, आफ्नो भविष्यको राजनीतिक बाटो रोज्नुपर्ने समय आएको छ ।
एमालेमा नेतृत्वको बहस कायमै
Facebook Comments Box
