मुख्य समाचार
भक्तपुर/ नेपाली कांग्रेस अहिले एउटा निर्णायक मोडमा उभिएको छ । पार्टीभित्रको विवाद अब केवल नेतृत्वमा को रहने भन्ने प्रश्नमा सीमित छैन, यसले कांग्रेसको आगामी राजनीतिक दिशा नै कस्तो हुने भन्ने प्रश्न जन्माएको छ । सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका बेला असन्तुष्ट समूहका नेताहरू पनि आफ्नो राजनीतिक आधार जोगाउने प्रयासमा छन् । पछिल्ला गतिविधिले दुवै पक्षबीच टकरावलाई अन्तिम बिन्दुसम्म पु¥याउनेभन्दा कुनै न कुनै रूपमा मिलनको बाटो खोज्नुपर्ने दबाब बढ्दै गएको संकेत गरेका छन् ।
कांग्रेसभित्रको अहिलेको अवस्थालाई नजिकबाट हेर्दा दुईवटा समानान्तर मनोविज्ञान देखिन्छ । एउटा पक्ष नेतृत्व परिवर्तनपछि पार्टीलाई नयाँ संरचना र नयाँ राजनीतिक शैलीमा अघि बढाउन चाहन्छ । अर्को पक्ष नयाँ नेतृत्वले पार्टीभित्रका पुराना सम्बन्ध, योगदान र शक्ति सन्तुलनलाई पर्याप्त ठाउँ नदिएको गुनासो गरिरहेको छ । यही असन्तुष्टिको बीचमा पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किएपछि कांग्रेसको आन्तरिक समीकरण फेरि चर्चामा आएको हो ।
लामो समयपछि स्वदेश फर्किएका देउवा असन्तुष्ट नेताहरूले आयोजना गरेको भेलामा सहभागी हुनुले कांग्रेसभित्रको विभाजनको रेखा थप प्रस्ट भएको भन्दा पनि अर्को प्रश्न जन्माएको छ कि देउवा अब कुन बाटो रोज्छन् ? आफ्नै राजनीतिक समूहलाई संगठित गरेर नयाँ नेतृत्वसँग प्रतिस्पर्धा गर्ने कि पार्टीभित्रै सहमतिको वातावरण बनाउन भूमिका खेल्ने ? देउवाको आगामी कदमले कांग्रेसको राजनीतिक दिशामा ठूलो अर्थ राख्ने देखिन्छ ।
असन्तुष्ट धारभित्र पनि भने एउटै धारणा छैन । बी.पी. कोइरालाका पुत्र डा. शशांक कोइरालालाई इतर पक्षको संयोजकका रूपमा अघि सार्ने प्रयासले यो समूहभित्रकै केही पुराना नेताहरूलाई असहज बनाएको चर्चा छ । पूर्णबहादुर खड्का र शेखर कोइरालालगायत नेताहरूको राजनीतिक हैसियत तथा लामो समयदेखि पार्टीभित्र बनाउँदै आएको प्रभावका बीच शशांकलाई केन्द्रमा ल्याउने निर्णयले नयाँ समीकरणको संकेत गरेको छ । यसलाई केवल व्यक्तिको असन्तुष्टिका रूपमा बुझ्नु पनि पर्याप्त हुँदैन । यसभित्र कांग्रेसको नेतृत्व कसरी पुनर्संरचना गर्ने र आगामी महाधिवेशनमा शक्ति कसरी बाँडफाँट गर्ने भन्ने ठूलो राजनीतिक हिसाब जोडिएको छ ।
शशांकको नाम अघि सारिनुको आफ्नै राजनीतिक अर्थ छ । बी.पी. कोइरालासँग जोडिएको पारिवारिक विरासतका कारण उनको उपस्थितिले कांग्रेसको पुरानो भावनात्मक आधारलाई छुने क्षमता राख्छ तर आजको कांग्रेस केवल विगतको विरासतले चल्ने अवस्थामा छैन । नयाँ पुस्ताको अपेक्षा, बदलिएको मतदाता मनोविज्ञान र नयाँ राजनीतिक शक्तिको चुनौतीबीच कांग्रेसले आफूलाई पुनःपरिभाषित गर्नुपर्ने अवस्था छ । त्यसैले शशांकलाई अगाडि सारेर मात्रै कांग्रेसको पुरानो शक्ति फर्कने अवस्था नरहेको विश्लेषकहरूको बुझाइ छ ।
शेखर कोइरालाको पछिल्लो सक्रियता पनि यसै कारण अर्थपूर्ण बनेको छ । लामो समयदेखि पार्टीभित्र फरक धारको नेतृत्व गर्दै आएका कोइराला एकातिर असन्तुष्ट समूहसँग संवादमा छन् भने अर्कोतिर पार्टीलाई औपचारिक रूपमा विभाजित गराउने बाटोबाट जोगाउनुपर्ने पक्षमा देखिन्छन् । सभापति थापासँगको संवादले पनि दुई पक्षबीच पूर्ण अविश्वासको अवस्था नरहेको संकेत गरेको छ । यदि थापा र शेखरबीच समझदारीको आधार तयार भयो भने कांग्रेसको वर्तमान संकटले नयाँ मोड लिन सक्छ भन्नेहरु पनि छन् ।
यही ठाउँमा पूर्णबहादुर खड्काको भूमिका पनि महत्वपूर्ण देखिन्छ । पार्टी विभाजनतर्फ जानेभन्दा संस्थागत कांग्रेसभित्रै समाधान खोज्नुपर्ने धारणा राख्ने नेताहरूको संख्या कम छैन । असन्तुष्ट पक्षका नेताहरू नै फरक–फरक प्राथमिकतामा देखिन थालेपछि नयाँ नेतृत्वविरुद्ध एउटै मोर्चा बनाउने प्रयास त्यति सहज नहुने देखिन्छ । यसले अन्ततः दुवै पक्षलाई संवादको टेबलमा फर्किनुपर्ने अवस्था बनाउन सक्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसको संकटलाई केवल …गगन पक्ष विरुद्ध देउवा पक्षÚ भनेर हेर्नु अहिले पर्याप्त छैन । यो कांग्रेसभित्र पुस्तान्तरण, नेतृत्व शैली, संगठन सञ्चालन, पुरानो राजनीतिक संस्कार र नयाँ मतदातासँगको सम्बन्धको विषयसमेत हो । एउटा पक्षले परिवर्तनको गति बढाउन खोज्दा अर्को पक्षले संगठनभित्रको अनुभव र सन्तुलनलाई बेवास्ता गर्न नहुने तर्क गरिरहेको छ । यी दुईबीच सन्तुलन मिलाउन नसकिए विवाद फेरि चर्किन सक्छ ।
अझ महत्वपूर्ण कुरा, कांग्रेसले आफ्नो आन्तरिक विवाद समाधान गर्ने समय राष्ट्रिय राजनीतिले उसलाई दिएको छ कि छैन भन्ने हो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा करिब दुई तिहाइको सरकार सञ्चालनमा रहेको अवस्थामा कांग्रेसको भूमिका झन् महत्वपूर्ण हुन्छ । सरकारको विकल्प बन्ने राजनीतिक दलले पहिले आफूभित्रै विश्वासको वातावरण निर्माण गर्न नसके जनताले उसलाई वैकल्पिक शक्तिका रूपमा स्वीकार्न कठिन हुन्छ ।
यही कारण कांग्रेसको सम्भावित विभाजनलाई सामान्य संगठनात्मक घटनाका रूपमा लिन नहुने राजनीतिक विश्लेषकहरूको धारणा छ । नेपालमा लोकतान्त्रिक राजनीतिमा लामो योगदान गरेको कांग्रेस कमजोर हुँदा त्यसको असर पार्टीको संगठनमा मात्र सीमित रहँदैन । संसद्मा बलियो लोकतान्त्रिक प्रतिपक्ष, सरकारको निगरानी र भविष्यमा सत्ताको वैकल्पिक संरचना निर्माण गर्ने क्षमतामै असर पर्न सक्छ ।
कांग्रेसका लागि अर्को चुनौती नयाँ राजनीतिक पुस्ताको विश्वास फर्काउनु हो । रास्वपाजस्ता नयाँ शक्तिको उदयले कांग्रेसको परम्परागत मताधारमा परिवर्तन आएको संकेत गरिसकेको छ । त्यसैले कांग्रेसले अब विगतको इतिहास सम्झाएर मात्र जनतालाई आकर्षित गर्न सक्दैन । उसले आफूभित्रको विवाद व्यवस्थापन गर्दै विश्वसनीय, उत्तरदायी र समयअनुकूल लोकतान्त्रिक शक्तिका रूपमा पुनःस्थापित हुनुपर्नेछ ।
१५औँ महाधिवेशन यस अर्थमा कांग्रेसका लागि नियमित सांगठनिक प्रक्रिया मात्र होइन, ठूलो राजनीतिक परीक्षा पनि हो । महाधिवेशन दुई समूहको शक्ति परीक्षणमा परिणत भयो भने विवाद झन् गहिरिन सक्छ । सबै धारलाई सहभागी गराएर नेतृत्व, नीति र संगठनबारे खुला बहस गर्ने वातावरण बनाइयो भने यही महाधिवेशन कांग्रेस पुनर्गठनको आधार बन्न सक्छ ।
अब सभापति थापाको अगाडि पनि चुनौती स्पष्ट छ । नेतृत्वमा पुगेपछि आफ्नो पक्षलाई मात्र बलियो बनाउनेभन्दा असन्तुष्ट पक्षलाई समेत विश्वासमा लिएर अघि बढ्न सक्नु उनको राजनीतिक परिपक्वताको परीक्षा हुनेछ । त्यस्तै, देउवाका लागि पनि यो आफ्नो समूहको शक्ति प्रदर्शन गर्ने समयभन्दा आफूले दशकौँ लगानी गरेको पार्टीलाई विभाजनबाट जोगाउने भूमिका खेल्ने अवसर हुन सक्छ ।
शेखर, शशांक, पूर्णबहादुरलगायत नेताहरूले पनि आ–आफ्नो राजनीतिक हैसियत जोगाउने प्रतिस्पर्धाभन्दा कांग्रेसको भविष्यबारे साझा दृष्टिकोण बनाउन सके विवादको निकास निस्कन सक्छ । बी.पी.को नाम, देउवाको अनुभव र गगनको नयाँ पुस्ताको प्रतिनिधित्वलाई एकअर्काको विकल्प बनाउने होइन, कांग्रेसकै फरक–फरक सम्पत्तिका रूपमा प्रयोग गर्न सक्ने हो भने अहिलेको संकट अवसरमा बदलिन सक्छ भन्ने कांग्रेसमा शुभचिन्तकहरुको धारणा छ ।
कांग्रेस अहिले फुटको किनारामा छ कि मिलनको शुरुवाती बिन्दुमा भन्ने प्रश्न पनि राजनीतिक वृत्तमा देखिएको छ । यसको उत्तर आगामी केही साताको राजनीतिक व्यवहारले दिनेछ । एउटा कुरा भने प्रस्ट छ, कांग्रेस विभाजित भयो भने त्यसको घाटा कांग्रेसले मात्र व्यहोर्ने छैन । लोकतान्त्रिक राजनीतिको एउटा महत्वपूर्ण शक्ति कमजोर हुँदा देशको राजनीतिक सन्तुलनमै असर पर्न सक्छ । रास्वपाको विकल्प खोज्ने वर्तमान परिस्थितिमा कांग्रेससँग त्यो सम्भावना अझै छ । त्यसका लागि भने कांग्रेसले पहिले अरूको विकल्प बन्नुअघि आफ्नै विभाजनको विकल्प खोज्नुपर्नेछ ।
अहिले देउवा दोधारमा छन्, असन्तुष्ट पक्ष पनि सोचमग्न छ र नयाँ नेतृत्वसमक्ष पनि सबैलाई समेट्ने चुनौती छ । यही दबाबले अन्ततः कांग्रेसलाई टकरावभन्दा मिलनको खोजीतर्फ धकेल्ने सम्भावना बढाएको छ ।
