मुख्य समाचार
कृष्ण लम्साल
भक्तपुर/ नेपाली कांग्रेसको १५औँ महाधिवेशन सकिँदै गर्दा पार्टी कार्यालयका कुर्सीमा बस्ने पात्र मात्र फेरिएका छैनन्, कांग्रेसभित्र वर्षौंदेखि जमेर बसेको शक्ति–सन्तुलनसमेत हल्लिएको छ । गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि लामो समय पुरानो पुस्ताको निर्णय पर्खेर बसेको कांग्रेसको ठूलो पंक्तिले अब पार्टीले फरक बाटो समात्न सक्ने अपेक्षा गर्न थालेको छ । महाधिवेशनले नयाँ नेतृत्व दिएको छ, तर त्योभन्दा महत्वपूर्ण कुरा उसले कांग्रेसलाई फेरि आशा र संशयको दोसाँधमा ल्याइदिएको छ ।
नयाँ अनुहार देखिँदैमा पार्टी नयाँ हुँदैन । कांग्रेसका कार्यकर्ताले पनि यो कुरा राम्ररी बुझेका छन् । त्यसैले अहिलेको उत्साह थापा सभापति बनेको खुशीमा मात्र सीमित छैन । अब निर्णय गर्ने तरिका बदलिन्छ कि बदलिँदैन, गुटको फेरो समातेर अवसर पाउने पुरानो चलन रोकिन्छ कि रोकिँदैन र वर्षौंदेखि किनारामा बसेका सक्षम कार्यकर्ताले जिम्मेवारी पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासा पनि उत्तिकै छ । महाधिवेशनपछि कांग्रेसभित्र देखिएको आशाको वास्तविक परीक्षा यिनै प्रश्नबाट हुनेछ ।
लामो समय कांग्रेसको समस्या नेतृत्वको उमेर मात्र थिएन । समस्या नेतृत्व वरिपरि बनेको घेरा, अवसरको असमान वितरण र परिवर्तनलाई पछाडि सारिरहने प्रवृत्ति पनि थियो । पार्टीभित्र नयाँ पुस्ता बढ्दै गयो, तर निर्णय गर्ने ठाउँमा पुरानै अनुहारको वर्चस्व कायम रह्यो । तल्लो तहमा काम गर्ने कार्यकर्ताले परिवर्तनको कुरा गरे पनि माथिल्लो तहको शक्ति समीकरण सहजै फेरिएन । यही दूरीले कांग्रेसका कतिपय समर्थकलाई निराश बनायो भने केही मतदाता नयाँ राजनीतिक शक्तितर्फ आकर्षित भए ।
१५औँ महाधिवेशनले यही क्रमलाई एक ठाउँमा आएर रोकेको छ । अब कांग्रेसमा पुस्तान्तरणको बहस गर्नुपर्ने अवस्था होइन, पुस्तान्तरणको परिणाम देखाउनुपर्ने अवस्था आएको छ । थापाका लागि यो उपलब्धिभन्दा बढी जिम्मेवारी हो । हिजोसम्म उनले पार्टी र राज्य सञ्चालनका कमजोरीमाथि प्रश्न उठाउन सक्थे । अब प्रश्न सोध्ने ठाउँबाट उत्तर दिने ठाउँमा पुगेका छन् । कांग्रेस किन कमजोर भयो, युवाले किन पुराना दलमाथि विश्वास घटाए, संगठन हुँदाहुँदै किन जनमत चिप्लियो र राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टी किन आफैं परिवर्तन हुन सकेन भन्ने प्रश्नको जवाफ अब उनले व्यवहारबाट दिनुपर्नेछ । यही कारण गगन नेतृत्वको कांग्रेसप्रति उत्साहसँगै ठूलो अपेक्षा जोडिएको छ ।
मतदातासँग जोडिने चुनौती
कांग्रेसको आगामी राजनीति बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिलाई अलग राखेर हेर्न सकिँदैन । पछिल्ला राजनीतिक घटनाक्रमले परम्परागत दल र नयाँ राजनीतिक शक्तिबीचको दूरी घटाएको छ । कुनै बेला कांग्रेसको स्वाभाविक मतदाता मानिने शिक्षित मध्यमवर्ग, युवा र शहर केन्द्रित मतदाताको एउटा हिस्सा नयाँ विकल्पतर्फ गएको छ । कांग्रेसका लागि यही वर्ग पुनः जोड्नु सबैभन्दा कठिन काम बन्न सक्छ ।
रास्वपासँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्को रास्वपा बन्न आवश्यक छैन । बरु आफ्नो पुरानो संगठनात्मक शक्ति जोगाउँदै नयाँ समयअनुकूल चरित्र निर्माण गर्नु आवश्यक छ । कांग्रेससँग गाउँदेखि शहरसम्म फैलिएको संगठन छ । वडा तहसम्म राजनीतिक संरचना छ । पुरानो पुस्ताको अनुभव छ र नयाँ पुस्ताको ठूलो पंक्ति पनि छ । यी सबैलाई एउटै गतिमा चलाउन सकियो भने नयाँ राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्ने आधार कांग्रेससँग अझै बाँकी छ । त्यसका लागि मतदातालाई केवल इतिहास सुनाएर पुग्दैन ।
आजको युवाले प्रजातन्त्र स्थापनामा कुन नेताले कति जेल बस्यो भन्ने इतिहासको सम्मान गर्छ, तर आफ्नो रोजगारीको उत्तर पनि खोज्छ । लोकतन्त्रका लागि कांग्रेसले गरेको संघर्ष स्वीकार गर्छ, तर सरकारी कार्यालयमा घुस किन दिनुपर्छ भन्ने प्रश्न पनि गर्छ । पार्टीको विरासत बुझ्छ, तर चुनाव जितेपछि नेता जनताबाट किन टाढिन्छ भन्ने उत्तरसमेत माग्छ ।
नयाँ कांग्रेसले यी प्रश्न सुन्न सक्यो भने उसलाई नयाँ राजनीतिक ठाउँ खुल्न सक्छ । यहीँ थापाका लागि अवसर छ । उनको राजनीतिक छवि लामो समयदेखि नयाँ पुस्तासँग संवाद गर्न सक्ने नेताका रूपमा बनेको छ । एउटा व्यक्तिको लोकप्रियता र एउटा पार्टीको लोकप्रियता एउटै कुरा होइन । थापाले आफ्नो व्यक्तिगत आकर्षणलाई कांग्रेसको संस्थागत शक्तिमा बदल्न सके मात्र नेतृत्व परिवर्तनको राजनीतिक अर्थ रहनेछ ।
त्यसैले आगामी दिनमा कांग्रेसभित्र कसले कुन पद पायो भन्दा पनि जिम्मेवारी कसरी पायो भन्ने महत्वपूर्ण हुनेछ । योग्यताभन्दा निकटता हाबी भयो भने नयाँ नेतृत्व पुरानै अभ्यासको निरन्तरता हुनेछ । क्षमता, योगदान र जनसम्पर्कलाई आधार बनाइयो भने भने पार्टीभित्र परिवर्तनको अनुभूति तलसम्म पुग्न सक्छ ।
देउवा साँघुरिएको बाटोमा
कांग्रेसको एउटा हिस्सा नयाँ नेतृत्व लिएर अगाडि बढिरहँदा पूर्वसभापति शेरबहादुर देउवा भने फरक राजनीतिक अवस्थामा पुगेका छन् । उनको पक्षले शशांक कोइरालालाई संयोजक बनाएर छुट्टै ढंगबाट १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको अवस्थाले कांग्रेसभित्रको पुरानो द्वन्द्व अझै बाँकी रहेको देखाउँछ । यो द्वन्द्वलाई केवल दुई समूहको शक्ति संघर्षका रूपमा हेर्दा अहिलेको कांग्रेसको तस्वीर पूरा हुँदैन ।
देउवाले कांग्रेसमा लामो समय नेतृत्व गरे । पार्टी कठिन अवस्थामा हुँदा सम्हाले, सत्ताको राजनीतिमा पटक–पटक निर्णायक बने र कांग्रेसभित्र आफ्नो छुट्टै शक्ति केन्द्र निर्माण गरे । त्यसैले उनको राजनीतिक प्रभावलाई एउटा महाधिवेशनको परिणामले तत्काल मेटाइदिने अवस्था छैन । राजनीतिमा प्रभाव केवल विगतको पद र सम्बन्धले टिक्दैन । त्यसलाई वर्तमानको समर्थनले निरन्तरता दिनुपर्छ । यही ठाउँमा देउवा संकटमा देखिन्छन् ।
गगन नेतृत्वको कार्यसमिति बनेपछि कांग्रेसका सामान्य कार्यकर्ताका अगाडि प्रश्न फरक भएको छ । उनीहरूले अब …देउवा कि गगन ?Ú मात्र रोज्नुपर्ने छैन । उनीहरूले …कांग्रेसलाई भविष्यतिर लैजाने बाटो कुन हो ?Ú भन्ने निर्णय गर्नुपर्नेछ ।
यदि कार्यकर्ताको ठूलो पंक्तिले भविष्य नयाँ नेतृत्वसँग देख्न थाल्यो भने समानान्तर गतिविधिको राजनीतिक ठाउँ आफैं साँघुरिँदै जान्छ । अर्कोतर्फ नयाँ नेतृत्वले असन्तुष्ट पक्षलाई अपमानित ग¥यो वा पार्टीभित्र सबैलाई समेट्न सकेन भने देउवा पक्षले असन्तुष्टिको आधारमा आफ्नो प्रभाव कायम राख्न सक्छ । त्यसैले अहिलेको शक्ति संघर्षको साँचो नयाँ नेतृत्वकै हातमा पनि छ ।
शशांकको नाम, देउवाको दाऊ
शशांक कोइरालालाई संयोजक बनाएर अघि बढाइएको समानान्तर महाधिवेशनले देउवा पक्षले अझै संघर्ष छाडेको छैन भन्ने देखाउँछ । कांग्रेसको राजनीतिमा कोइराला परिवारको नामको आफ्नै ऐतिहासिक अर्थ भएकाले शशांकलाई अगाडि सार्नु सामान्य छनोट होइन । यसबाट पुरानो कांग्रेसको एउटा धारलाई भावनात्मक र ऐतिहासिक आधारमा जोडेर राख्ने प्रयास देखिन्छ तर समय पहिलेको जस्तो छैन ।
आज कांग्रेसको तल्लो तहको कार्यकर्ताले नेताको थरभन्दा आफ्नो राजनीतिक भविष्य हेर्न थालेको छ । पार्टीमा कसको परिवारको योगदान कति थियो भन्ने प्रश्नभन्दा आफूले काम गर्दा अवसर पाउँछु कि पाउँदिनँ भन्ने प्रश्न उसका लागि प्रत्यक्ष छ । त्यसैले शशांकको संयोजकत्वले समानान्तर गतिविधिलाई नाम र अनुहार दिन सक्छ, तर त्यसलाई राजनीतिक शक्ति बनाउन कार्यकर्ताको ठूलो हिस्सा आफूतिर तान्नैपर्छ । यही परीक्षा देउवा पक्षका लागि कठिन छ ।
एउटै गाउँमा दुईवटा कांग्रेस लामो समय टिक्न सक्दैनन् । एउटै चुनाव चिह्नप्रति विश्वास गर्ने कार्यकर्ता दुईवटा वडा समितिमा विभाजित भएर सधैं बस्न पनि सक्दैनन् । केन्द्रको विवादले तल्लो तहमा व्यक्तिगत सम्बन्ध बिगार्न थालेपछि कार्यकर्ताले नै समाधानको दबाब दिन थाल्छन् ।
त्यसैले अहिले देखिएको समानान्तर यात्रा अन्तिम गन्तव्यभन्दा बढी दबाबको राजनीति बन्न सक्ने सम्भावना पनि उत्तिकै छ । अन्ततः कांग्रेसको ठूलो हिस्साले एउटा साझा संरचना खोज्नैपर्ने हुन्छ ।
देउवालाई जोड्नुपर्ने
थापा नेतृत्वका लागि सबैभन्दा सजिलो बाटो देउवा समूहलाई पराजित पक्ष मानेर अगाडि बढ्नु हुन सक्छ । त्यो बाटो कांग्रेसका लागि सबैभन्दा जोखिमपूर्ण पनि हुन सक्छ । कांग्रेसमा नेतृत्व परिवर्तन भएको हो, इतिहास परिवर्तन भएको होइन । देउवाको लामो राजनीतिक योगदान, उनीसँग जोडिएका नेता–कार्यकर्ता र पार्टी निर्माणमा पुरानो पुस्ताले खेलेको भूमिकालाई निषेध गरेर नयाँ कांग्रेस बलियो हुँदैन । नयाँ पुस्ताको नेतृत्व स्थापित हुनुको अर्थ पुरानो पुस्तालाई बाहिर निकाल्नु होइन, उसलाई उचित स्थानमा राखेर अगाडिको जिम्मेवारी नयाँ पुस्ताले लिनु हो । थापाले यही सन्तुलन मिलाउन सके उनको नेतृत्वको पहिलो ठूलो सफलता हुनेछ ।
देउवा पक्षका नेता–कार्यकर्तालाई नयाँ नेतृत्वमा सुरक्षित स्थान छ भन्ने विश्वास दिन सकियो भने समानान्तर गतिविधिको आधार स्वाभाविक रूपमा कमजोर हुन्छ । त्यसका लागि सम्झौता मात्र पर्याप्त हुँदैन, सम्मान चाहिन्छ । पार्टीभित्र फरक मत राख्न पाइन्छ भन्ने वातावरण बनाउनुपर्छ ।
यदि गगनले आफूलाई समर्थन गर्नेहरूकै कांग्रेस बनाए भने उनले नेतृत्व जितेर पनि पार्टी हार्न सक्छन् । आफूलाई समर्थन नगर्नेहरूलाई समेत आफ्नो नेतृत्व स्वीकार गर्न सक्ने वातावरण बनाए भने मात्रै उनी कांग्रेसका वास्तविक सभापति बन्नेछन् ।
आशा जोगाउने समय
१५औँ महाधिवेशनपछि कांग्रेसमा आएको सबैभन्दा ठूलो परिवर्तन शायद नेतृत्वको नाम होइन कि कार्यकर्तामा फेरि केही हुन सक्छ भन्ने भावना फर्कनु हो । राजनीतिमा यस्तो भावना सधैं आउँदैन । एकपटक निराश भएको कार्यकर्तालाई पुनः सक्रिय बनाउन कठिन हुन्छ । अहिले नयाँ नेतृत्वले पाएको यही मनोवैज्ञानिक ऊर्जा कांग्रेसको सबैभन्दा ठूलो पूँजी बन्न सक्छ । आशाको आयु छोटो हुन्छ ।
केही महिनाभित्रै कार्यकर्ताले निर्णय प्रक्रियामा परिवर्तन खोज्नेछन् । जनताले सार्वजनिक मुद्दामा कांग्रेसको फरक धारणा खोज्नेछन् । युवाले आफूलाई नेतृत्वमा देख्न चाहनेछन् । पुराना नेताले सम्मान खोज्नेछन् । गुटभन्दा बाहिर बसेका कार्यकर्ताले अवसर खोज्नेछन् । यी सबै अपेक्षा एउटै नेतृत्वमाथि एकै पटक आएका छन् ।
त्यसैले गगन थापाका लागि सभापतिको कुर्ची गन्तव्य होइन, शुरुवात मात्र हो । उनले कांग्रेसलाई नयाँ पुस्तासँग जोड्न सके पुरानो संगठन र नयाँ राजनीतिक आकांक्षाको मेलबाट पार्टी फेरि शक्तिशाली बन्न सक्छ । त्यस्तो कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नयाँ शक्तिका सामु बलियो लोकतान्त्रिक प्रतिस्पर्धी बन्न सक्छ । कांग्रेसको नाम नयाँ र अभ्यास पुरानै रह्यो भने मतदाताले नेतृत्व परिवर्तनलाई पनि आन्तरिक पद हेरफेरभन्दा बढी अर्थ दिने छैनन् ।
देउवाका लागि पनि यही समय निर्णायक छ । उनले आफ्नो लामो राजनीतिक यात्राको उत्तराद्र्धलाई पार्टीभित्र अर्को शक्ति केन्द्र निर्माण गर्न खर्च गर्ने कि पुस्तान्तरणलाई सहज बनाएर कांग्रेसको साझा अभिभावक बन्ने भन्ने प्रश्न अब टारेर धेरै टाढा जान सकिँदैन ।
१५औँ महाधिवेशनपछि कांग्रेस एउटा अनौठो मोडमा उभिएको छ । एकातिर नयाँ नेतृत्वसँग भविष्यको आशा छ, अर्कोतिर पुरानो नेतृत्वसँग इतिहास र अनुभव छ । यी दुईलाई भिडाएर होइन, जोडेर अगाडि लैजान सकियो भने महाधिवेशन कांग्रेसको आन्तरिक चुनाव मात्र रहने छैन, त्यो पार्टी पुनर्निर्माणको शुरुवात बन्न सक्छ । त्यसका लागि गगन थापाले आफू नयाँ सभापति भएको मात्र होइन, कांग्रेस पनि साँच्चै नयाँ हुँदैछ भन्ने अनुभूति गराउनुपर्नेछ । त्यही परीक्षाको परिणामले देउवाको संकट कति गहिरिन्छ र कांग्रेसको नयाँ आशा कति टिक्छ भन्ने तय गर्नेछ ।
