हिरा: पृथ्वीको गहिराइदेखि गहनासम्म

Nayabimarsha (Weekly Newspaper from Nepal)

हिरा संसारकै सबैभन्दा आकर्षक र मूल्यवान् प्राकृतिक रत्नमध्ये एक हो । यसको चमक, कठोरता र दुर्लभताका कारण प्राचीन समयदेखि नै हिरालाई धन, शक्ति, प्रेम र प्रतिष्ठाको प्रतीकका रूपमा हेर्ने गरिएको छ । संस्कृतमा हिरालाई ‘वज्र’ सँग जोडेर हेर्ने परम्परा पनि पाइन्छ । भारतमा हजारौँ वर्षअघि नै हिरा भेटिएको र प्रयोग भएको इतिहास छ । पछि अफ्रिका, रुस, अस्ट्रेलिया तथा अमेरिकालगायतका विभिन्न भूभागमा ठूला हिरा खानी पत्ता लागेपछि यसको विश्वव्यापी व्यापार विस्तार भयो ।
हिरा वास्तवमा कार्बन तत्वबाट बनेको खनिज हो । पृथ्वीको सतहबाट करिब १५० देखि २०० किलोमिटरभन्दा बढी गहिराइमा अत्यधिक तापक्रम र चापको वातावरणमा कार्बनका परमाणुहरू विशेष संरचनामा व्यवस्थित हुँदा हिराको क्रिस्टल बन्न थाल्छ । यस्तो प्राकृतिक प्रक्रिया पूरा हुन लाखौँदेखि अर्बौँ वर्षसम्म लाग्न सक्छ । पछि ज्वालामुखीय गतिविधिका क्रममा म्यान्टलको गहिराइबाट आएको …किम्बरलाइटÚ जस्ता चट्टानसँगै हिरा पृथ्वीको सतहतिर आइपुग्छ । खानीबाट निकालिएको हिरा शुरुमा चम्किलो गहनाजस्तो हुँदैनÙ काट्ने, घोट्ने र पालिस गरेपछि मात्र यसको परिचित चमक देखिन्छ ।
हिराको विशेषता यसको असाधारण कठोरता हो । मोह्स स्केलमा यसको कठोरता १० मानिन्छ, जुन प्राकृतिक खनिजमध्ये सबैभन्दा उच्च हो । यही कारण हिरा गहनामा मात्र होइन, काट्ने तथा घर्षण गर्ने औद्योगिक उपकरणमा समेत प्रयोग हुन्छ ।
रङका आधारमा पनि हिराका विभिन्न प्रकार हुन्छन् । सबैभन्दा परिचित सेतो वा रंगहीन हिरा हो । प्राकृतिक हिरा पहेँलो, खैरो, नीलो, गुलाबी, हरियो, रातो र कालो रङमा समेत भेटिन्छ । यस्ता दुर्लभ रङका हिरालाई …फेन्सी कलर डायमन्डÚ भनिन्छ र केही अवस्थामा तिनीहरूको मूल्य रंगहीन हिराभन्दा धेरै हुन सक्छ ।
आज प्राकृतिक हिरासँगै प्रयोगशालामा उत्पादन गरिने ल्याब–ग्रोन हिरा पनि बजारमा उपलब्ध छन् । यी पनि कार्बनकै क्रिस्टल संरचनाबाट बनेका हुन्छन्, तर पृथ्वीको गहिराइमा प्राकृतिक रूपमा बन्नुको सट्टा नियन्त्रित प्रविधिबाट उत्पादन गरिन्छ ।
यसरी हेर्दा हिराको मूल्य केवल यसको चमकमा छैन । पृथ्वीको अत्यन्त गहिराइमा चरम ताप र दबाबबीच लामो समय लगाएर बनेको यो रत्न प्रकृतिको अद्भूत भौगर्भिक प्रक्रियाको परिणाम पनि हो । त्यसैले हिरा आजसम्म पनि सौन्दर्य, दुर्लभता र दीर्घस्थायित्वको प्रतीकका रूपमा संसारभर विशेष महत्व राख्दै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *