विराटनगरका कोइरालाको कत्रो सम्पत्ति !

Nayabimarsha (Weekly Newspaper from Nepal)

विराटनगर । पोखरा महानगरपालिकाका प्रमुखको सम्पत्ति विवरण सार्वजनिक हुँदा ‘आबुइ’ भनी आश्यर्च मान्नेहरु विराटनगरका प्रमुखको सम्पत्ति विवरण सार्वजनिक भएसँगै झनै चकित हुनुपर्ने अवस्था आएको छ । नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाको प्रमुखमा निर्वाचित नागेश कोइरालाको सम्पत्ति विवरणले पोखराका प्रमुखको चर्चा सेलाउन पुगेको छ ।
प्रमुख कोइरालाले बजार क्षेत्रमा साढे चार बिघा जग्गा, तीन करोड ३० लाखको प्राडो गाडी, ८० तोला सुन र १० लाख नगद रहेको विवरण सार्वजनिक गरेका छन् । कोइरालाले बुझाएको सम्पत्ति विवरणमा घर र व्यवसायबारे उल्लेख छैन । उनले सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन् । २०५४ देखि नेपाल तरुण दल मोरङबाट राजनीति शुरु गरेका कोइरालाको हाल सार्वजनिक सम्पत्तिलाई लिएर विभिन्न आशंका गर्न थालिएको छ ।
विराटनगर अस्पताल चोकमा कोइरालाको घरमा ग्रीन क्रस अस्पताल रहेको तथा त्यसैसँग रहेको अर्को घरमा उनी बस्ने गरेको जानकारहरुले बताएका छन् । त्यस घरका विषयमा कोइरालाले जानकारी नगराएका कारण उनी शंकाको घेरामा परेका हुन् । उनले विराटनगर–१५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७१९.७८ वर्गमिटर (८५ कठ्ठा) र विराटनगर ११ मा ११ कठ्ठा जग्गा रहेको विवरण पेश गरेका छन् ।
२०७८ चैतमा टोयोटा कम्पनीको प्राडो गाडी तीन करोड ३० लाख रुपियाँमा खरिद गरेको पनि उनले उल्लेख गरेका छन् । २० तोला सुन तथा बैंकमा १० लाख रुपियाँ नगद मौज्दात रहेको पनि उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *