लोसपा दुई मन्त्रीसहित सरकारमा जाँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चुनावी सरकारमा सहभागी हुने भएको छ । नागरिकता विधेयक संसद्बाट पास भएपछि र थुनामा रहेका एक सय ३९ जना जेलमुक्त भएपछि लोसपाले आफ्ना माग, मुद्दा केही मात्रामा सम्बोधन भएको बताउँदै गठबन्धन सरकारमा जान खुट्टा उचालेको हो ।
संविधान संशोधन र थुनामा रहेको सांसद् रेशम चौधरीको रिहाइ पनि हुने बताउँदै अध्यक्ष ठाकुरले बालुवाटारमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवाद गर्दै आइरहेका छन् । कुल १३ सांसद रहेको लोसपाले सरकारमा सहभागी हुँदा दुईवटा मन्त्रालय पाउने बताइएको छ । दुइटा मन्त्रालयमा रक्षा र उद्योग मन्त्रालय दिएर प्रधानमन्त्री देउवाले चुनावी सरकारमा भित्र्याउन लागेका बताइएको छ । प्रधानमन्त्री देउवाले आफैँले सम्हालेको रक्षा मन्त्रालय र उद्योग मन्त्रालयमा नेताद्वय शरत्सिंह भण्डारी र अनिल झालाई मन्त्री बनाउन लागेको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।
अध्यक्ष ठाकुर पक्षका लोसपाका केही सांसद्हरु तत्कालीन खड्गप्रसाद ओली नेतृत्वको सरकारमा मन्त्री बनेर तेह्र दिनमै हटेका थिए । मधेश प्रदेशमा काँग्रेसको सिट बढाउन जसपा र लोसपासँग प्रधानमन्त्री देउवाले गठबन्धन गरेको हुन सक्ने जानकारहरुले बताएका छन् । लोसपालाई लोकतान्त्रिक प्रणाली र पद्धतिमा आस्था राख्ने पार्टीका रुपमा चिनिन्छ । लोसपाका अध्यक्ष ठाकुर काँग्रेसबाट चुनाव जिती सभामुख भइसकेका व्यक्ति हुन् । मधेश आन्दोलनले आफ्नो अस्तित्व जोगाउन ठाकुरलाई काँग्रेस छाड्न बाध्य बनाएको समाचार स्रोतले बताएको छ । त्यसैगरी, अर्का नेता भण्डारी पनि काँग्रेसबाट चुनाव जिती मन्त्री भइसकेका व्यक्ति हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *